आजदेखि महिला हिंसाविरुद्धको अभियान

रमादेवी पौडेल

अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरूमा महिलामाथीको हिंसाका खबरहरू तारन्तार आउने गर्दछ । फलाना ठाउँमा दाइजो नल्याएको झोकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरूले मुटु चिर्दछ । नेपाल मात्र नभई संसारका धेरै विकसित देशहरूमा पनि महिला हिंसा र असमानताका ध्वनीहरू सुनिन्छ ।

आज २१औँ महिला हिंसा विरुद्धको दिवस हो । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९९९ देखि हरेक नोभेम्वर २५ मा यो दिवस मनाउने निर्णय गरेको हो । त्यो बेलादेखि हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म लैंगिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरू आयोजना गरिन्छ ।

विभिन्न अध्यनहरू अनुसार संसारभरिका प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा उनीहरूका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरूले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको सिकार भएका हुन्छन् भन्ने देखाउँछ । अर्कोतर्फ पुरुषहरूबाट कहिलेकाहीँ जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरू भइरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरू फराकिलो दायराअन्तर्गत महिलाहरूको स्वीकृती बेगैर उनीहरूलाई असहज र अश्लील कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । केटी जिस्क्याउनुलाई पुरूषार्थसँग जोडेर कम्मर कसेर जिस्क्याउने अल्लारे उस्तादहरूदेखि बाटोमा साइकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपार्इं–हामी धेरैमा हुनसक्छ ।

विपरित लिंगिप्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर–बल होइन माया, तर्क होइन भावना अनि शरीर होइन मन जित्नसक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैंगिक समानताका धारणाहरूको वीजारोपण गर्न जरुरी छ । शरीर होइन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुषसँगै हिँड्ने समान समाज आजको आवश्यकता हो ।

महिलाको भूमिका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोखबाट सुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी–वहिनीको माया, पत्नीको साथ, समाजको सह–अस्तित्व हुँदै अगाडि बढ्दछ । सुरुमा मुखमा परेको दुधको धर्सोदेखि लिटोको रूपमा परेको प्रथम गाँस, ‘कोखाई कोखाई’ गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरू आज पनि संसारभरी नै हिंसाका सिकार भइरहेका छन् । आज यही प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ति नारी अर्थात् महिलाहरूप्रति हुने कुनै पनि हिंसाविरुद्धको दिवस हो ।

महिला विरुद्धको हिंसा नितान्त रूपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैंगिक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरूले संबोधन पनि नगरेका होइनन् तथापि यो विकसित संसारमा अझै पनि कुनै न कुनै अवयवका रूपमा महिला हिंसा र लैंगिक असमानता कायमै छ । आजको दिनले महिला विरुद्धको हिंसाकाविरुद्ध समग्र विश्व समुदाय भेला भएर ऐक्यवद्धता जनाउने गर्दछ । इतिहास साक्षी छ कि जुन समुदायमा महिला र पुरुषकाबीचमा समान व्यवहार छ र मिलेर घरव्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समुदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाई नै शिक्षा दिनु हो भनेर महिला शिक्षा, प्रौढ शिक्षा अनि विभिन्न अनौपचारिक शिक्षामार्फत् महिलाहरूलाई साक्षर र जागरुक बनाइने कार्यक्रमहरू जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र संभावनाका लागि लैंगिक समानता अपरिहार्य छ ।

वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारिक नियममा हाम्रो समाज, अझ भनौँ सिन्धु नदीको तटमा भएको यो शालिन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको इतिहासका पानाहरू साक्षी छन् । पूजिने देवीहरू, लक्ष्मीको पर्यायका रूपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरूमा आवश्यक पर्ने पञ्चकन्याहरू अनि कुमारी अर्थात जीवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरू हुन् ।
हाम्रो समाजमा पनि छोरा र छोरीका बीचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराइको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरू नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ ।

छोरी होस् या छोरा समाज–परिवार अनि राष्ट्रले समान व्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरू अनि व्यथाहरू धेरैजसो गुपचुप अनि अभिव्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुनतः समान र सक्षम छन्, तपाईंमाथि कुनै पनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । हिंसालाई सहनु अथवा भोगेर केही नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापि हुन सक्दैन । महिला हिंसा भन्ने बित्तिकै हामी हिंश्रक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरूकै भूमिका पनि उत्तिकै रहन्छ, बुहारी तहलाउने सासूदेखि भाउजू तहलाउने नन्दसम्म, छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाइन्छन् । महिलाहरू स्वयं पनि महिला हिंसाविरुद्ध सजग रहन जरुरी छ ।

जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, माता मरियम विनाका जिसस क्राइस्टको पौरखपूर्ण छैन, त्यसै गरी नारीको प्रेम र आत्मियताविना पुरुष र पुरुषको साथ र सम्मानविना महिला पूर्ण हँुदैनन् ।

प्रतिक्रिया