चिनीको मूल्य बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । ३ मंसिरसम्म ७० रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको डिलर मूल्य ७७. दशमलव २० रुपैयाँ रहेको छ ।

कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनीको मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । उक्त मूल्य डिलरका लागि हो । वीरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४ दशलमव ५० रुपैयाँ पर्ने कर्पोरेसनले जानकारी दिएको छ । आमउपभोक्ताले चिनी खरिद गर्नका लागि १ सय ५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेसनले बिक्री गर्ने चिनीको प्याकेटमा दुई केजी रहेको छ ।

आमउपभोक्ता मूल्य प्रतिकेजी ७७ दशमलव ५० रुपैयाँ रहेको कर्पोरेसनका केन्द्रीय विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले बताएका छन् । कर्पोरेसनले पछि आयात गरिएको चिनीको नयाँ मूल्य सोमबार निर्धारण गरेको हो । हालै भारतबाट आयात गरिएको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरिएको छ । साल्ट ट्रेडिङले सरकारी स्वीकृतिमा भारतको कलकत्ताबाट पटकपटक गरी करिव २० हजार मेट्रिकटन चिनी आयात गरेको थियो ।

चिनीको नयाँ मूल्य निर्धारणसँगै आमउपभोक्ताले अब साल्ट ट्रेडिङबाट ७० रुपैयाँ प्राप्त गर्दै आएको चिनीमा ७७ दशलमव ५० रुपैयाँ तिर्नुपर्नेछ । यो भन्दाअघि सरकारले सञ्चालन गरेको सुपथमूल्य पसल र साल्ट ट्रेडिङ कम्पनीबाट मात्रै ७० रुपैयाँमा चिनी खरिद गर्दै आएका थिए ।

अब साल्ट टे«डिङ कर्पोरेसनबाटै चिनी खरिद गर्दा पनि आमउपभोक्ताले साढे सात रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको कर्पोरेसनले उपभोक्तालाई ७० रुपैयाँ प्रतिकेजी मूल्यमा नै चिनी उपलब्ध गराएको थियो ।

सरकारी स्वीकृतिअनुसार पछिल्लो समय भारतबाट आयात गरिएको चिनीको मूल्य, भाडा र व्यवस्थापन खर्चसमेत जोडर नयाँ मूल्य निर्धारण गरिएको कर्पोरेसनसले जनाएको छ । उस्ले मूल्य बढाइएको नभई नयाँ मूल्य निर्धारण गरिएको जिकिरसमेत गरेको छ ।

अहिले बजारमा ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म प्रतिकेजी चिनीको कारोबार भइरहेको भन्दै कर्पोरेसनले ७७ रुपैयाँ २० पैसामा नै चिनी उपलब्ध गराउने भएको छ । हाल नेपालमा वार्षिक २ लाख ४० हजारदेखि २ लाख ५० हजार मेट्रिक टनसम्म चिनी खपत हुने गरेको छ । तर, नेपालमा भने वार्षिक १ लाख ६९ मेट्रिक टन मात्र चिनी उत्पादन हुने गरेकोले चिनी आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिक्रिया