म्यानचेस्टरले वेस्ट ब्रुमलाई हरायो

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–० को झिनो जित निकालेको छ । दोस्रो हाफमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको शुरुवातदेखि नै वेस्ट ब्रुमलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको दोस्रो मिनेटमा नै हुवान माटाको पासमा एन्थोनी मार्सियलको हेडरलाई वेस्ट ब्रुमका गोलरक्षक साम जोन्सटोनले बचाउदै युनाइटेडको अग्रता टारे ।

१६औं मिनेटमा मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस र मार्सियलको समन्वयमा बनेको मुभमा मार्सियलको प्रहारमा गोलरक्षक जोन्सटोननै बाधक बने । २०औं मिनेटमा रोमेन स्वयर्सको पासमा कर्लन ग्रान्टको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाउदै वेस्ट ब्रुमको अग्रता टारे ।

३४औं मिनेटमा मार्सियलको अर्काे प्रहारमा गोलरक्षक जोन्सटोन नै बाधक बन्दा युनाइटेड अग्रता लिनबाट चुक्यो । ४६औं मिनेटमा रेफ्री डेभिड कोटेले वेस्ट ब्रुमलाई पेनाल्टी प्रदान गरेपनि भिएआरको सहायता लिदै आफ्नो पुरानो निर्णय फिर्ता लिए । लगत्तै रासफोर्डले अर्काे सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेन ।

५२औं मिनेटमा ग्राडी डिएङआनाको क्रसमा अनमार्क रहेको क्रोनोर टाउनसेन्डको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभि हे गेयाले बचाए । ५६औं मिनेटमा रि पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए । काउन्टर एट्याकमा माटाको क्रसलाई पेनाल्टी बक्समा डार्नेल फरलङले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । तर, फर्नान्डेसले पेनाल्टीलाई जोन्सटोनले बचाएपनि भिएआरको सहायता लिदा फर्नान्डेसले पेनाल्टी प्रहार गर्नुअघि नै गोलरक्षक जोन्सटोन अघि बढेका कारण युनाएटेडले रि पेनाल्टीको अवसर पायो ।

यसपटक फर्नान्डेस चुकेनन् । ६५औं मिनेटमा हाल रुब्सन कानुको प्रहार क्रसबारमा लागेर बाहिरिदा वेस्ट ब्रुमम बराबरीबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो । जितसँगै युनाइटेड ८ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ब्रुम ३ अंकसहित १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया