दुई साताभित्र मल आउँछ : कृषि मन्त्रालय

काठमाडौं । कृषि मन्त्रालयले दुई साताभित्र बंगलादेशबाट रासायनिक मल खरिद गरेर ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेसँगै मल खरिदको प्रक्रिया सुरु भएको हो ।

सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बंगलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी सरकारको निर्णयअनुसार समझदारीपत्र बंगलादेश सरकारलाई पठाएपछि उताबाट स्वीकृति आएलगत्तै खरिद प्रक्रिया सुरु हुने बताए । ‘हाम्रो सरकारले जस्तै बंगलादेश सरकारबाट नेपाललाई मल दिने विषयमा निर्णय हुनुपर्छ । उताबाट निर्णय भएर सहमतिपत्रमा हस्ताक्षरसँगै मल आउँछ’, उनले भने, ‘दुई देशका सरकारबीचको खरिद प्रक्रिया भएका कारण मलको पैसा सिधै सरकारको खातामा जान्छ । मल ढुवानीको सबै प्रक्रिया यसअघि नै टुंगिसकेको छ ।’

सबै प्रक्रिया पूरा गरेर अबको दुई सातामा पहिलो किस्ताको मल नेपाल आइपुग्ने अनुमान गरिएको प्रवक्ता केसीले बताए । ‘हामीले अनुमान गरेजस्तै सबै काम सरासर भयो भने छिट्टै मल आइपुग्छ, ढुवानीका लागि कम्पनी छनोट भइसकेको छ, उताबाट हुन्छ भन्नासाथ खरिदको काम सुरु हुन्छ’, उनले भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृतिअनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । कृषि मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ ।

ढुवानीका लागि पाँच वटा कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । मन्त्रालय र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भएता पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुनसक्ने अनुमान गरिएको कम्पनीका अधिकारीहरू बताउँछन् ।

गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन वार्तामा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बंगलादेश सरकारले सुरुआती चरणमा सापटीमा दिने तयारी गरेता पनि पछिल्लो समय खरिद गरेर लैजानु पर्ने प्रस्ताव राखेको थियो । सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खर्चसँगै झन्झटिलो भएको र बंगलादेश सरकारले समेत खरिद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो । बंगलादेशको प्रस्तावअनुसार कृषि मन्त्रालयले पुनः मन्त्रिपरिषद्को बैठकमा खरिदको प्रस्ताव लगेको थियो ।

प्रतिक्रिया