एघारौँ शताब्दीमा बनेको हल्जी गुम्बा

लिमीमा ११औँ शताब्दीमा निर्माण भएको हल्जी गुम्बा छ । तत्कालीन लोचाओ (कवी) रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १ सय ८ गुम्बामध्येको १०८औँ गुम्बाका रूपमा निर्माण भएको अन्तिम गुम्बा पनि लिमीमै अवलोकन गर्न सकिन्छ । यो ऐतिहासिक र पुरातात्विक रूपमा पनि निकै महत्वपूर्ण छ । अन्य गुम्बा भारतको लद्दाक र चीनको ल्हासामा निर्माण भएका छन् । यति मात्रै होइन, तत्कालीन जुम्लाको सिञ्जा क्षेत्रका एक राजाले बुद्ध धर्म मान्ने भएका कारण यही गुम्बामा गएर श्रमदान गरेको लिपि पनि यही गुम्बामा रहेकाले कर्णाली क्षेत्रको इतिहासका बारेमा समेत यो गुम्बा निकै महत्वपूर्ण मानिन्छ । ती राजाले हल्जी गुम्बामा माटो बोकेर श्रमदान गरेको कुरा खुलेको लिपि अहिले पनि यही गुम्बामा सुरक्षित छ । नेपालका कैयौँ दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने क्षेत्रहरू छन् र तीमध्येको लिमी भ्याली पनि एक हो । वनचौँरी, वनघोडा, वनबिरालो, बाघ, हिउँ चितुवा, ध्वाँसे चितुवा, मृग, भालु लगायतका सयौँको संख्याका प्रजातिका वन्यजन्तुको आवास क्षेत्र हो लिमी उपत्यका । लिमी उपत्यकाको हल्जी गाउँबाट मानसरोवर जाने बाटोमा थुप्रै सुख्खा घाँसे मैदान देखिन्छन् जुन भारी बोक्ने चौँरी, च्याग्र्राको चरन पनि हो ।

सन् २०१३ मा लिमी उपत्यकामा राखिएका केही स्वचालित क्यामेराले कैद गरेका तस्बिरले पनि लिमी उपत्यकामा अनौठा र दुर्लभ जनावर तथा वन्यजन्तु भएको प्रमाणित गरेको छ । जसमध्ये एउटामा अनौठो बिरालो पनि यस क्षेत्रमा पाइने उल्लेख गरिएको छ । करिब चार हजार मिटरको उचाइ र गाउँबाट निकै पर यो अनौठो बिरालो यसअघि नेपालबाट अभिलेख नगरिएको ‘युरेसिएन वाइल्ड क्याट’ (युरेसिएन वन बिरालो) हो भन्ने जनाइएको छ । यो क्षेत्र लोपोन्मुख वन्यजन्तुको अवलोकन गर्ने क्षेत्रका रुपमा पनि निकै महत्वपूर्ण रहेको बताइन्छ ।

नेपालको लिमी उपत्यका यस्तो क्षेत्र हो जहाँ अहिले पनि आफ्नै आन्तरिक शासन कायमै छ । लिमीमा भएका तीन गाउँ तिल, जाङ र हल्जीको आन्तरिक तथा बाह्य (जनप्रतिनिधिले गर्ने प्रशासनिक काम बाहेकका) सबै काम गर्न आन्तरिक नेताका रूपमा छुट्टै प्रतिनिधि चुन्ने व्यवस्था अहिले पनि जीवितै छ । उक्त प्रतिनिधिलाई तीनै गाउँमा अध्यक्ष भनेर सम्बोधन गरिन्छ । सुरुमा हरेक तीन वर्षमा निर्वाचित हुने लिमीका अध्यक्ष नयाँ संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्ष भएपछि उनीहरूको पदावधिसमेत पाँच वर्ष पु¥याउने सल्लाह भएको नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले बताए । तामाङले भने, ‘०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित आफूसहितका वडासदस्य र गाउँपालिकाका पदाधिकारीहरूलाई सरकारी प्रतिनिधिका रूपमा मान्ने गरे पनि गाउँको अधिकांश कामको छिनोफानो गर्ने जिम्मा परम्परागत पद्धतिबाट चुनिएका अध्यक्षहरूले नै गर्ने गर्छन् ।’

तत्कालीन लिमी गाविस भए पनि राज्य पुनर्संरचनामा एक वडामा सीमित गरिएको थियो । तर, अहिले जाङ गाउँमा छिरिङ तामाङ, तिल गाउँमा लाक्पा तामाङ र हल्जी गाउँमा छिङतुरुप तामाङ परम्परागत रूपमा हुने निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन् । ‘कुनै योजना छनोट गर्ने होस् वा उपभोक्ता समिति निर्माण गर्नेदेखि हरेक काममा पहिलो निर्णायक अधिकारी गाउँका नेताहरूको हुन्छ र गाउँको सत्ताले गरेको निर्णयानुसार वडा र गाउँपालिकाका जनप्रतिनिधिले कार्यान्वयन गर्ने प्रचलन लिमीमा अहिले पनि कायमै छ ।  कोही नयाँ व्यक्ति गाउँमा आएमा कता बस्ने, के कुरा बोल्ने भन्नेदेखि लिएर गाउँको विकासका साथै अन्य विषयमा सामूहिक नियम बनाउने पहिलो अधिकारी पनि त्यही संयन्त्रलाई हुने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।

प्रतिक्रिया