आयआर्जनको माध्यम बन्दै चतराको सप्तकोसी पुल

पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको चतरास्थित सप्तकोसीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरूको गन्तव्य पनि बन्न थालेको छ ।  सप्तकोसी नदीमा पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकहरू बढेका हुन् । कोसी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरू आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोसी पुलको पारी बेलका नगरपालिका–७ मा स्तरीय होटलसमेत सञ्चालनमा आएका छन् । स्थानीय शरद कोइरालाका अनुसार हाल यहाँ आधा दर्जन होटलले सेवा दिइरहेका छन् । दैनिक करिब ५०÷६० जना पर्यटक पुलसम्म आएर फर्किन्छन् र यो क्रम प्रतिदिन बढ्दै गएको उनले बताए ।

आफ्नो काममा पूर्व–पश्चिम हिँड्नेहरू पनि पुल वारिपारि सवारी रोकेर तस्बिर खिच्ने र एकैछिन् मनोरञ्जन लिने गर्छन् भने केहीले पुललाई गन्तव्यका रूपमा सवारी रोकेर खाना, खाजा खाने गरेका उनले बताए । कोरोना महामारीका कारण सुनसान रहेको कोसी पुल यसपालीको दसैँमा भने भरिभराउ भएको छ । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोसी पुलमा दसैँको नवमीदेखि फोटो खिच्ने र घुम्ने मानिसको भिड लागेको स्थानीयवासी कालुराम राईले बताए ।

पूर्व–पश्चिम यात्रा गर्नेदेखि लिएर कोसी पुल घुम्नैका लागि आउने मान्छेको जमात बढेको उनले बताए । टीकाको दिन पुलमा साथीभाइ, परिवारसँग घुम्न जानेहरू थुप्रै थिए । कोसी पुलमा सेल्फी खिच्नेहरू, पुलमा उभिएर गफिनेहरू र कोसी नदीलाई नियाल्नेहरूको संख्या उल्लेख्य रहेको थियो । ‘टीकाको दिनदेखि पूर्णिमासम्म नै यहाँ पुलभरि मान्छेको भिड लागेको थियो । यहाँ आएर मानिसले भौतिक दुरी नै बिर्सिएका छन् ।’ बेलका नगरपालिका–४ का शरद कोइरालाले भने, ‘प्राकृतिक दृश्यावलोकन गर्न र कोसी नदीमा सञ्चालित जेटबोट चलेको हेर्नेको निकै ठूलो भिड लाग्यो ।’ उक्त पुल पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गरेका थिए ।

एसियाली विकास बैंकको सहयोगमा यो पुल बनेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१५ अगस्त ३ मा यसको उद्घाटन गरेका हुन् । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजै रूपमा जोडिएका छन् । यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । हाल यो सडक मदन भण्डारी पूर्व–पश्चिम राजमार्गको रूपमा स्थापित भएको छ । पूर्वबाट राजधानी लगायतका पश्चिम नेपालको यात्रा प्रायः यही बाटो हुँदै मानिसहरू तय गर्दै आएका छन् ।

पुल नबन्दा उदयपुर सुनसरी वारिपारि गर्न बाँसको नाउ बनाएर यहाँका स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । रामपुरबाट धरानको दुरी २२ किमी छ । तर उक्त दुरीको सहरमा किनमेल तथा स्वास्थ्य उपचारका लागि आउन रामपुर, फत्तेपुर, कञ्चनपुर, इटहरी हुँदै करिब १ सय ४० किमी दुरी पार गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो । हाल पुल बनेपछि त्यो बाध्यता हटेको छ । पुल बनेपछि स्थानीयवासीहरू एकै छिनमा धरान, विराटनगर पुगेर फर्कने गर्छन् ।

करिब ७६ करोड ११ लाख रुपैयाँको लागतमा यो पुल निर्माण सम्मन्न भएको थियो । यो रकममध्ये एसियाली विकास बैंकको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । कालिका कन्स्ट्रक्सन् प्रालिले यो पुलको निर्माण गरेको हो । २ सय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीन वटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनीले दाबी गरेको छ । यस्तो प्रविधि कर्लाणी पुल र कोसी पुलमा मात्र प्रयोग भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।

सन् २००८ मा सप्तकोसी नदीमा आएको बाढीले सप्तकोसी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पको रूपमा एडिबीको सहयोगमा सरकारले यो पुल निर्माण थालेको थियो । सन् २०११ नोभेम्बर १४ बाट सुरु भएको पुलको निर्माण पाँच वर्षमा सम्पन्न भएको थियो । कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकै स्तरीय प्रविधि ल्याएर पुल निर्माण गरिएको बताए । पुलको सम्भाव्यता अध्ययन झण्डै १३ वर्ष अगाडि गरिएको थियो ।

कालिका कन्स्ट्रक्सन प्रालिका निर्देशक पदम गुरुङका अनुसार कोसी पुल निर्माण भौगोलिक हिसाबले कठिन थियो । पानीमाथि तीनओटा पिलर निर्माणका लागि पायल फाउन्डेसन भएको आठ मिटर चौडाइ र २ सय ६२ मिटर लम्बाइको पुल निर्माणका लागि पिलर नै पानीमुनि २० मिटर खनिएको छ । पानीमुनि खन्न क्यानडाबाट डब्बल रोटरी मेसिन डिआर–४० कम्पनीले ल्याएको थियो । उक्त मेसिनले आपैmँ खन्ने र खनेका स्थानमा पाइप पनि आफैँ लगाउँछ । जसका कारण खनेका स्थानमा पानी पर्न पाउँदैन । २० करोड रुपैयाँमा कम्पनीले सो मेसिन ल्याएको र कोसी नदीको उक्त पुल बनाउन प्रयोग भएपछि अन्य कुनै काममा पनि सो मेसिन प्रयोगमा नआएको पनि निर्देशक गुरुङले बताए ।
भारतले सप्तकोसीमा ब्यारेज बनाएको छ । उक्त ब्यारेजको अवधि ५० वर्षको थियो । आयु सकिएको पाँच वर्ष बितिसकेको छ । उक्त पुल कुनै पनि बेला भत्कन सक्ने सम्भावना भएकाले नेपालको पूर्व र पश्चिम जोड्न यही पुल विकल्प हो ।

हाल सुनसरीको पकलीस्थित कान्छीचोक, नहडा, चतरा, कोसी पुल, उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर निस्किने ५१ किमी अर्को सडक निर्माण भइसकेको छ । यस सडकलाई गाईघाट जोड्ने काम पनि सम्पन्न भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत चार लेनको सडक उदयपुरको बेलटार, भिमा हँुदै गाईघाटसम्म सडक निर्माण भइसकेको छ । केही स्थानका खोलामा पुल निर्माण हुन मात्र बाँकी रहेको छ ।
पुल निर्माण अघि सुक्खा रहेका उक्त क्षेत्रमा आर्थिक चहलपहल समेत बढेको छ । प्रति बिघाको एक लाख रुपैयाँ पर्ने जग्गा हाल रोपनीको पाँच लाखसम्ममा बिक्री भइरहेको स्थानीयवासी रमेश राईले बताए । उनले यहाँ ब्यापार व्यवसाय पनि फष्टाएको तर यति बेला भने कोरोना महामारीका कारण आर्थिक मन्दि रहेको बताए ।

पूर्वी पहाडी जिल्लाका कृषि उपजको प्रमुख बजार धरान हो । त्यहीँबाट व्यापारीले ती उत्पादन इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न सहरमा बेच्ने गरेका छन् । नगन्य मात्रामा ताजा सागसब्जी भारत निर्यात हुने गरेको छ । उदयपुर, खोटाङ, भोजपुरका उत्पादन धरान लान हाल सजिलो भएको चतराका व्यापारी बताउँछन् । पुल सञ्चालन भएपछि उदयपुरका बेल्टार बसाहलगायत स्थानबाट मात्र आफ्ना उत्पादन सहज रूपमा बेच्न पाएका छन् । ‘पुल निर्माणले उदयपुरको पूर्वी भेगको चौदण्डी र बेलका नगरपालिकाका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ’ स्थानीय दीपेन्द्र राईले भने ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको संगम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले सुरु गरेको चतरामा हाल चार ओटा कम्पनीले सात ओटा सानो ठूलो बोट सञ्चालन गर्दै आएका छन् ।
वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सात ओटा जेट बोटबाट कोसी पुलदेखि बराहक्षेत्र हँुदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन् । १८ जनादेखि ६० जनासम्म अट्ने बोट सप्तकोसीमा सञ्चालन हुँदै आएका छन् । उक्त बोट चढ्न पनि कोसीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरी नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधैँ दुई घण्टामा यात्रा गर्न सकिन्छ ।

सप्तकोसी नदी हुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नयाँ वर्ष ०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको हो । यसले उदयपुर, भोजपुर र खोटाङको सिमाना रानीटारसम्म बोट सञ्चालनका लागि सरकारबाट अनुमति पाएको छ । रानीटारसम्म पुग्न चतरा, रामपुर, बसाहा, चौदण्डीगढी हुँदै रानीटार पुग्न सडक यातायातबाट ६ घण्टा लाग्छ । भोजपुर सदरमुकामबाट रानीटारसम्म झर्न नौ घण्टा समय लाग्छ । चतराबाट बोटबाट ३० मिनेटमै पुग्न सकिने बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिका सञ्चालक विमलमान श्रेष्ठले बताए ।

प्रतिक्रिया