दसैँ त हरेक वर्ष आउँछ, तर जिन्दगी …

नेपालीको महान चाड बडादसैँ हिजो शनिबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना (जमरा राखेर) गरी दसैँ पर्व आरम्भ गरिन्छ भने आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर जमरा सेलाउँदै दसैँ पर्व विसर्जन गरिन्छ । १५ दिनसम्म लगातार संक्रीयताका साथ मनाइने दसैँ नेपालीको सबैभन्दा ठूलो चाड हो । दसैँका १५ दिन हरेकको आआफ्नो महत्व हुन्छ । तर प्रतिपदादेखि विजयादशमीसम्मको १० दिनलाई नेपालमा विशेष महत्व दिइन्छ । दसैँ मूलतः हिन्दू धर्माबलम्बीको चाड हो, तर नेपालीको विशेष चाड हो । गैरनेपाली हिन्दूहरूले विजयादशमीबाहेक अरू दिनलाई खासै महत्व दिँदैनन् । छिमेकी मुलुक भारतका हिन्दूहरूले दसैँलाई विजयादशमी वा दशहरा पर्वका नामले मनाउँछन् । नेपालमा पनि माडवारी समुदायले बडादसैँलाई विजयादशमी भन्ने गर्दछन् । जे नामले सम्बोधन गरिए पनि बडादसैँ समस्त नेपालीको चाड हो । काठमाडौं उपत्यकाका बौद्धमार्गीसमेत बडादसैँसँग प्रत्यक्ष जोडिएका छन् । पूजा आराधनाबाहेक दसैँ पर्वका अरू क्रियाकलापमा नेपालका पहाडी समुदायका मुसलमान पनि सक्रियताका साथ सहभागी हुन्छन् । इसाई धर्म ग्रहण गरेकाहरूले भने बडादसैँको सक्रिय बहिष्कार गर्ने अभियान सुरु गरेका छन् ।

चाड पर्व मनाउने हामी नेपालीको आफ्नै मौलिक शैली छ । तर, यो मौलिक शैलीमाथि विस्तारै भारतीय संस्कृतिको अतिक्रमण सुरु भएको छ । भारतमा हिन्दूहरूको संख्या धेरै ठूलो छ, त्यो तुलनामा नेपालमा सानो छ, भारतमा रहेका हिन्दू तीर्थस्थल तथा शिक्षाकेन्द्रहरूको प्रभाव नेपालमा परेको छ । यही प्रभावका कारण चाडपर्व मनाउने क्रममा भारतीय संस्कृती तथा शैलीको नक्कल गर्ने प्रवृत्ति बढेको छ । सकरात्मक पाटोको नक्कल गर्नु अन्यथा होइन, तर यसो भन्दैमा आफ्नो मौलिकता बिर्सनु हुन्न । उदाहरणका लागि बडादसैँमा दिइने बलिप्रथाकै कुरा गरौँ । बलिप्रथा नेपालको मौलिक प्रचलन हो । पशुको बध गरेर माछा–मासु सेवन गर्ने प्रचलन जहिलेसम्म रहन्छ तहिलेसम्म पशुवलीलाई अन्यथा मान्नु हुँदैन । तर, बडादसैँ सुरु हुनासाथ भारतीय संस्कृतिको नक्कल गर्दैै पशुवलिको विरोध सुरु हुन्छ । कस्ता मान्छेबाट सुरु हुन्छ भने जो मासुविना भात खान सक्दैनन् । हाम्रो मौलिक संस्कृतिमाथि इसाइहरूबाट भएको हमलाभन्दा पनि हिन्दूको नाममा भएको हमला खतरनाक छ । सावधानी जरुरी छ ।

कोरोना कहरका कारण यस वर्षको बडादसैँ करिबकरिब निलम्बनमा परेको छ भन्दा केही फरक नपर्ला । अहिलेको सन्दर्भमा परम्परागत शैलीमा दसैँ मनाउनु भनेको आफ्नो घरमा आँपैmँले आगो झोस्नुजस्तै हो । आफ्नै घर परिवारमा दसैँ पर्व सीमित गर्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ । जबरजस्ती तथा हेलचेक्र्याइँले परिणाम भयावह बनाउने अवस्था छ । जुठो– सुतकमा पनि दसैँ नमनाउने चलन छँदै छ, यसपटक जुठो–सुतक नै परेछ भन्ने ठान्दा आकाश खस्नेवाला छैन । त्यसमा पनि दसैँ भनेको देवकार्य हो । अप्ठेरो परेको अवस्थामा देवकार्य नगर्दा पनि हुन्छ । हाम्रो धर्मशास्त्रले यस्ता अप्ठ्यारामा गाँठो फुकाएकै छ ।

कोभिड–१९ रोग प्राणघातक हो, सजिलै एक व्यक्तिबाट अर्कामा सर्छ भन्ने कुरा वैज्ञानिक पुष्टि भइसकेको छ । जसको औषधि उपचार समेत हुँदैन । यस्तो रोगसँग ठट्टा गर्नु हुँदैन । जंगलमा आगलागी हुँदा जुन जीवजन्तुहरू माटोमुनि लुक्छन्, उनीहरू सुरक्षित हुन्छन्, जुन जीवजन्तुहरू सुरक्षा खोज्न जान्दैनन् उनीहरू मासिन्छन् । लगभग त्यस्तै संकट यतिबेला मानिसमाथि आइपरेको छ । मानिस त वुद्धीजीवी प्राणी हो । त्यसैले आआफ्नो घरभित्रै बसेर मज्जाले दसैँ मनाउँदा हुन्छ । यसपटक अरूको घरमा जाने गल्ती नगरौँ । ज्यान बचेछ भने अर्को वर्ष छँदै छ । दसैँ त हरेक वर्ष आउँछ, तर जिन्दगी एकपटक मात्रै प्राप्त हुन्छ । जिन्दगीका लागि चाडपर्व हो, चाडपर्वका लागि जिन्दगी होइन ।

प्रतिक्रिया