अधिकमासमा चाडपर्व किन पछि सर्छन् ?

रमादेवी पौडेल

भविष्य पुराणका अनुसार भगवान् श्री कृष्ण स्वयंले अधिकमासमा व्रत लिने, दानपूण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनी उल्लेख गरेको छ । पद्म पुराणले पनि अधिकमास अनि श्री कृष्णलाई जोडेर उहाँकै शव्दमा हरेक मानवले अधिकमासमा दानपूण्य गर्न जरुरी रहेको वताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ती या दियोको दान र प्रज्ज्वलनलाई विशेष मानेको पाइन्छ ।

यस वर्षको अधिकमास या मलमासको आज समापन हुँदैछ, आजवाट अबको तीन वर्षका लागि मलमास आउने छैन । ०७७ असोजमा मलमास परेकाले दसैँ र तिहारलगायत चाडपर्वहरू पछि सरेका हुन् । मलमासमा पानी बार्न माइत गएका नवदुलहीहरू आजबाट पुनः घर फर्कने क्रम सुरु हुनेछ भने सामान्य मासहरू अब सुरु भएका छन् । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौर्यमास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चान्द्रमास भनिन्छ । सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिनसम्मको महिना हुन्छ भने चान्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चान्द्रमास हुन्छ । सामान्य रूपमा तिथिहरू चान्द्रमास अनि गतेहरू सौर्यमास भनेर बुझ्न सकिन्छ ।

सौर्यमासको गणनामा ३ सय ६५ दिनको एक वर्ष हुन्छ भने चान्द्रमासको गणनामा ३ सय ५४ दिनको एक वर्ष हुन्छ । यसरी प्रत्येक साल चान्द्रमास सौर्यमासभन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ वर्षमा ३३ दिनले चान्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ । यसैलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । मत्स्यनारायणलाई मच्छेनारायण पनि भनिने चलन छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ । विष्णुले १० अवतार लिँदा सबैभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ ।

आज दिव्य पुरुषोत्तम मासको व्रतको उद्यापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा विभिन्न तीर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सांगे गरिन्छ । यसका साथै नेपाल अनि भारतका विभिन्न ठाउँमा अधिकमासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधिवत अन्त्य आजैबाट हुनेछ ।

मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान् विष्णु स्वयंले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयंले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास विशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दानपूण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।

भविष्य पुराणका अनुसार भगवान् श्री कृष्ण स्वयंले अधिकमासमा व्रत लिने, दानपूण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनी उल्लेख गरेको छ । पद्म पुराणले पनि अधिकमास अनि श्री कृष्णलाई जोडेर उहाँकै शव्दमा हरेक मानवले अधिकमासमा दानपूण्य गर्न जरुरी रहेको बताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत् गीताको पाठ अनि बत्ती या दियोको दान र प्रज्ज्वलनलाई विशेष मानेको पाइन्छ ।

शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यी चार करणलाई रवि अर्थात सूर्यको मल भनिने गरिन्छ तसर्थ यी कुराहरू सक्रन्तिसँग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हा । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । यसवर्ष भने कोरोना त्रास अनि संक्रमण जोखिमले मेला आयोजना हुन सकेन, आगामी वर्षहरूमा हरिको कृपाले जीवन र किर्तन पुनः सामान्य होस् भन्ने अपेक्षा र प्रार्थना छ । वैदिक सनातन धर्मका अनुसार भगवान् हरिको १० अवतार भएको मान्यता रहेको छ । १० अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रूपमा लिएको छ । पृथ्वीको सुरुआतसँगै भगवान् नारायणले सोही स्थानमा रहेको कुण्डमा मत्स्यको रूपपछि दिव्यस्वरूपको दर्शन दिनुभएको मत्स्यपुराण लगायतका धार्मिक ग्रन्थमा उल्लेख छ । मलमासको समापनसँगै अब यसवर्षको चाडपर्वको लर्को सुरु हुनेछ ।

यो वर्ष अधिक मास २ देखि ३० असोजसम्म रहन गएको र त्यसको अन्तिम दिन पौराणिक सिद्धातअनुसार अधिकमासमा सनातनी श्रद्धालुहरूले व्रत, उपवास, विष्णु भगवान्को जप, पूजा, पाठ, ध्यान, भजन, कीर्तन, भगवतभक्ति, श्रीमद्भागवत महापुराण, श्रीविष्णुपुराणलगायत पुरुषोत्तम महात्म्य आदिको श्रवण, पठन, गर्नुका साथै अधिक मासको अन्तिम दिन विष्णु भगवान्को ३३ नामले पूजा गरी काँसको थालीमा ३३ वटा मालपुवा राखेर पहेँलो कपडाले ढाकेर मालपूआ दान गर्नाले अनन्त पूण्य मिल्ने शास्त्रोक्त वचन रहेको छ । विष्णु भगवान्को ३३ नाम यसप्रकार रहेको छ ।

विष्णवे नमः, जिष्णवे नमः, महाविष्णवे नमः, हरये नमः, कृष्णाय नमः, अधोक्षजाय नमः, केशवाय नमः, माधवाय नमः, रामाय नमः, मधुसुदनाय नमः, अच्युताय नमः, पुरुषोत्तमाय नमः, गोविन्दाय नमः, वामनाय नमः, त्रिविक्रमाय नमः, संकर्षणाय नमः, श्रीकण्ठाय नमः, बैकुण्ठा यनमः, नारायणाय नमः, अनिरुद्धाय नमः, प्रद्युम्नाय नमः, जनार्दनाय नमः, दामोदराय नमः, श्रीपतये नमः, वासुदेवाय नमः, नृसिंहाय नमः, शेषशायिने नमः, पृश्निगर्भाय नमः, उरुक्रमाय नमः, श्रीधराय नमः, गोपीजनवल्लभाय नमः, गोपालाय नमः र गोलोकाधिपतये नमः । अस्तु ।।

प्रतिक्रिया