रियलबाटै सन्न्यास लिने मोड्रिचको चाहना

मड्रिड । लुका मोड्रिच पछिल्लो ८ वर्षमा रियल म्याड्रिडका मुख्य खेलाडी मध्येका एक हुन् । अर्को वर्ष जुन सम्म सम्झौता रहेका मोड्रिचले नविकरणको आशा राखेका छन् । सम्भव भएसम्म ३५ वर्षे मोड्रिच रियलमै आफ्नो खेल जीवनको अन्त्य गर्न चाहन्छन् । ‘पक्कै पनि म रियलमै रहन चाहन्छु । तर, यो ममा मात्र निर्भर हुँदैन । क्लब र प्रशिक्षकले के चाहन्छन् त्यो बढी महत्वपूर्ण हुन्छ, ‘ उनले भने, ‘म यहाँ सहज महसुस गर्छु । सम्भव भयो भने म आफ्नो खेल जीवन यहि टुंगाउन चहान्छु । तर, म क्लब र प्रशिक्षकका लागि समस्या बन्न चाहन्न ।’

मोड्रिचले क्लबसँग हार्दिक सम्बन्ध रहेको उल्लेख गर्दै भविष्यमा सोही क्लबमा रहेपनि वा अन्य क्लबमा गएपनि त्यो सम्बन्ध भने यथावत रहने विश्वास व्यक्त गरेका छन् । ‘रियल मेरो घर हो । यो मेरो नवौं सिजन हो र म खुसी छु ,’ उनले थपे, ‘हेर्दौ जाउ के हुन्छ । म परिस्थितिको अनुमान गर्न चाहन्न । मैले यो विषयमा अध्यक्षसँग छलफल गरेको छैन ।’

क्रोएसियाली अन्तर्राष्ट्रियले रियलका प्रशिक्षकहरुका बारेमा पनि चर्चा गरेका छन् । उनले जोसे माउरिन्हो, कार्लो एन्सेलोटी, राफा बेनिटेज र जिनेदिन जिदानका बारेमा चर्चा गरेका छन् । ‘मेरो सरुवाका लागि माउरिन्होको हात मुख्य छ । तर त्यस्ता उत्कृष्ट प्रशिक्षकसँग मैले एक वर्ष मात्र प्रशिक्षण लिने अवसर पाएँ, म जहिले पनि उनीप्रति आभारी रहनेछु । उनी खुला मान्छे हु । इमान्दार मान्छे मलाई मन पर्छ,’ उनले भने ।
एन्सेलोटीका बारेमा पनि उनको धारणा सकारात्मक पाइयो । उनले थपे ,’उनको नेतृत्वमा दुई सिजन सफल रह्यो । त्यति बेला हामीले च्याम्पियन्स लिग र कोपा डे रे जितेका थियौं, मेरो उनीसँग राम्रो सम्बन्ध छ । अहिले पनि हाम्रो समय समयमा कुराकानी हुन्छ ।’

मोड्रिचको नजरमा बेनिटेज पनि निकै उत्कृष्ट प्रशिक्षक हुन् । तर, उनले चाहे जस्तो रियलमा भने गर्न सकेनन् । मोड्रिचले भने ‘फुटबल भनेको त्यहि हो । सबै प्रशिक्षकले त्यहि सफलता प्राप्त गर्छ भन्ने हुदैन । मलाई उनीसँग केहि समस्या रहेन । बाहिरबाट हेर्दा अभ्यासमा केहि समस्या देखिएको थयो । तर त्यस्तो केहि थिएन ।’

जिदान उच्च स्तरको प्रशिक्षक रहेको उल्लेख गर्दै मोड्रिचले उनले प्राप्त गरेको सफलता अरुले दोहोराउन असम्भव रहेको बताएका छन् ।
‘मान्छेहरु अहिले पनि जिदानलाई प्रशिक्षकका रुपमा स्वीकार्न सकिरहेका छैनन् । तर उनी विश्वकै उत्कृष्ट प्रशिक्षक मध्येका एक हुन । टिभी, रेडियोमा उनको आलोचना भइरहेको पाइन्छ । तर त्यसको केहि अर्थ छैन,’ उनले भने, ‘उनी स्तरीय प्रशिक्षक हुन् । जसले खेलाडीलाई उपाय दिन्छन् । रियलमा उनी अझै धेरै बर्ष रहेनछन् । जसरी इग्ल्यान्डमा एलेक्स फर्गुसन र आर्सन वेङ्गर रहे ।’

प्रतिक्रिया