अर्को महिना मैत्रीपूर्ण खेल गर्ने एन्फाको योजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोभेम्बरमा मैत्रीपूर्ण खेल गराउने योजना बनाएको छ । विभिन्न राष्ट्रबाट आएको प्रस्ताव स्वीकार्दै एन्फाले नोभेम्बरमा मैत्रीपूर्ण खेल गराउने योजना बनाएको हो । यसैको अनुमतिका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा असोजको पहिलो साता निवेदन पेस गरेको थियो । एन्फाले राखेप सदस्य(सचिव रमेशकुमार सिलवालसमक्ष प्रशिक्षण सुरु गर्न र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि निवेदन पेस गरेको थियो । तर, एक करिब एक महिना बित्नै लाग्दा उक्त निवेदनले सार्थकता पाउन भने सकेको छैन् । राखेपमा पेस गरेको निवेदन मन्त्रालय हुँदै उच्च स्तरीय कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन समिति (सीसीएमसी) मा पुगे पनि त्यसको निर्णय भने हुन सकेको छैन ।

‘हामीलाई विभिन्न राष्ट्रबाट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आइरहेका छन् । पहिले पनि आइरहेका थिए, अहिले पनि आउने क्रम जारी नै छ । उनीहरुले नोभेम्बरमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेका छन्,’ नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले भने, ‘त्यसैका लागि हामीले राखेपमा निवेदन दिएका हौं । हामीले नोभेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गर्ने र त्यस पूर्वप्रशिक्षण गर्न पाउँ भन्दै राखेपसमक्ष अनुमति मागेका थियौं । तर, एक महिना बित्नै लाग्दासमेत कुनै निष्कर्ष आएको छैन ।’

उनले प्रशिक्षणका लागि गरेको प्रस्ताव सीसीएमसीमा पुगे पनि बैठकले स्थान नदिएको बताए । लामो समयदेखि मन्त्रालय र राखेपले उक्त फाइल सीसीएमसीमा पुगेको भन्दै आएका पनि खेलकुदको विषयले स्थान नपाएको उनले गुनासो गरे ।  ‘हामी प्रशिक्षण सुरु गर्न आधिकारिक अनुमति चाहन्छौं । मौखिक अनुमतिका भरमा फुटबलको प्रशिक्षण सुरु गर्न सकिँदैन । हामीले फिफा र एएफसीको गाइडलाइन पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब सीसीएमसीको निर्णय के आउँछ । प्रशिक्षणको अनुमति पायौं भने नोभेम्बरका लागि योजना छ । मिति भने त्यसपछि तय हुनेछ । किनभने मैत्रीपूर्ण खेल खेल्नुअघि केही साता प्रशिक्षण गर्नुप¥यो । खेलाडी छनोट गर्नुप¥यो । त्यसका लागि समय लाग्छ ।’  यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गर्ने टोलीले नेपालमै खेल्न तयार रहेको बताइएको थियो ।

प्रतिक्रिया