सञ्चार माध्यमविरुद्ध बलिउडकर्मी अदालतमा

मुम्बई । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि बलिउडका चर्चित कलाकारविरुद्ध अभियान नै सुरु भयो । सामाजिक सञ्जाल तथा मेनस्ट्रिमका मिडियामा योजनाबद्ध रुपमा प्रचार सुरु भयो । योलगत्तै लागूऔषधका विषयमा समेत अनुसन्धान सुरु भयो । यो जाँचमा धेरै चर्चित कालाकारमाथि सञ्चार माध्यमबाट आक्रमण सुरु भयो । यसरी एकतर्फी रुपमा खेदाइ सुरु भएपछि बलिउडकर्मी अदालतको साहारा लिन पुगेका छन् । चौतिस चलचित्रकर्मीले केही सञ्चार माध्यमविरुद्ध दिल्ली उच्च अदालतमा सार्वजनिक निवेदन दिएका छन् ।

उनीहरुले १२ अक्टोबरमा उच्च अदालतमा सिभिल केस दर्ता गराएका हुन् । चार बलिउड उद्योग र चौतिस चिनिएका बलिउड कलाकारले आफूरुविरुद्ध योजनाबद्ध आक्रमण भएको भन्दै अदालतको ढोका ढकढक्याएका हुन् । उनीहरुले रिपब्लिक टिभीसहित टाइम्स नाउसम्मले प्रसारण गरेका सामग्रीहरु अपमानजनक र समाजमा घृणा पैदा गर्ने भएको जिकिर गरेका छन् ।

यसरी अदालत गुहार्ने कलाकारमा अभिनेता शाहरुख खानको रेड चिल्लिज, सलमान खान फिल्म्स, आमिर खान प्रोडक्सन, अजय देवगन फिल्म्स, करण जोहरको धर्मा प्रोडक्सन र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट लगायत छन् । उनीहरुको सामूहिक याचिकामा बलिउडकर्मीविरुद्ध षड्यन्त्र गरिएको र गलत प्रचार गर्दै लागुऔषधदेखि नराम्रा कामसम्मको आपत्तिजनक टिप्पणी भएको उल्लेख गरिएको छ । निवेदनमा सञ्चार माध्यमले आफ्ना यी टिप्पणी फिर्ता लिनुका साथै माफी पनि माग्नुपर्ने र आइन्दा प्रकाशन र प्रसारण नगर्नू भनी आदेश जारी हुनुपर्ने जिकिर गरिएको छ ।

आफूहरुमाथि मिडिया ट्रायल भइरहेकाले यो रोक्नुपर्ने जनाउँदै केही सञ्चार माध्यमले बलिउडबाट यस्ता हर्कत अन्त्य गर्नुपर्ने भन्दै चर्चित अभिनेताको नामसमेत जोडेर गलत प्रचार गरेको उनीहरुको निवेदनमा लेखिएको छ । निवेदनको प्रारम्भिक सुनुवाई हुन बाँकी नै छ । अधिकांश बलिउडकर्मीले मिडिया ट्रायल भइरहेको भनी आलोचना गरिरहेको बेला एकजुट भएर फिल्म उद्योगका चर्चित हस्तीले एकै पटक अदालत गुहारेका छन् ।

प्रतिक्रिया