कोरोनाले गाँजेको चलचित्र क्षेत्र

नरेन्द्रमान श्रेष्ठ

लक डाउनले नेपालमा खासै काम गरेन । लक डाउनको बेला पनि संक्रमितहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । लक डाउनले भने देश नै लक भयो । देशका सम्पूर्ण आर्थिक गतिविधिहरू लक भए तर कोरोना लक भएन । देशका सबै क्षेत्रहरूमा लक डाउनले नकारात्मक असर पा¥यो । । त्यसो त कोरोनाले नेपालको अर्थतन्त्र मात्र होइन विश्वको अर्थतन्त्रमा नै असर पारेको देखिन्छ । कोरोना र लक डाउनले देशको सबै क्षेत्रमा असर पारेको भए पनि यातायात पर्यटन र चलचित्र क्षेत्रमा बढी असर पारेको देखिन्छ । लक डाउन खुकुलो भएसँगै अरू क्षेत्र बिस्तारै खुल्दै गए पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । चलचित्र क्षेत्र अहिले पनि लक छ । कोरोना र लक डाउनले नेपालमा मात्र नभई विश्वको चलचित्र क्षेत्रमा नै असर परेको देखिन्छ तर अहिले भने केही देशहरूले सिनेमाहलहरू खोल्ने पहल गरिरहेका छन् । नेपालमा पनि सिनेमाहलहरू सञ्चालन गर्न पहल भइरहेको बताउँछन् सरोकारवालाहरू ।

देशमा ११ चैतदेखि लक डाउन भए पनि सिनेमाहलहरू भने ५ चैतदेखी नै बन्द भएका थिए । नेपालमा वर्षको सय वटा जति चलचित्रहरू बन्ने गर्दथ्यो । चलचित्र क्षेत्रमा बर्सेनि अर्बौंको लगानि हुन्थ्यो । कोरोनाको कहर तथा लक डाउनले गर्दा चलचित्र क्षेत्रका सबै गतिबिधिहरू लक भएका कारण चलचित्र क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्नेहरू धेरै मर्कामा छन् । चलचित्र क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबै बेरोजगार भएका छन् । चलचित्र क्षेत्रले ठूलै घाटा बेहोर्नु परेको छ । लक डाउनले गर्दा राम्रा चलिरहेका चलचित्रहरू पनि बन्द गर्नुपरेको छ । प्रदर्शनमा तयार रहका चलचित्रहरूको दुर्दशा त आफ्नो ठाउँमा छ । त्यसो त पछिल्लो समयमा चलचित्रहरूले राम्रो व्यापार व्यवसाय गर्न नसकिरहेको अवस्था थियो । निर्माणकर्ताहरूले चलचित्रबाट घाटा बेहोर्न परिरहेको अवस्थामा लक डाउनले राम्रो व्यापार गरिरहेका केही चलचित्रहरूको प्रदर्शन पनि रोक्न परेको थियो । एकातिर चलचित्रहरूले राम्रो व्यापार गर्न नसकिरहेको अवस्था थियो भने अर्कोतिर कारोना कहर र लक डाउनले चलचित्र क्षेत्रलाइ इन्तु न चिन्तु पारेको देखिन्छ । अहिले लक डाउन खुकुलो भएसँगै सिनेमाहलहरू पनि सञ्चालन गर्न पाउनुपर्छ भनेर सम्बन्धित सरोकारवालाहरूले भन्ने गरिरहेका छन् ।

सुरक्षाका उपायहरू अपनाएर सिनेमाहलहरू सञ्चालन गर्न दिनुप¥यो भन्ने माग उठिरहेको छ । दिनरात एउटै बसमा सँगै बसेर यात्रा गर्नुपर्ने लामो दुरिका बसहरू सञ्चालन गर्न हुने तर दुई घण्टा सँगै बस्ने हलहरू किन सञ्चालन गर्न नपाउने ? भनेर पनि प्रश्न उठेका छन् । भौतिक दुरी कायम गरेर सुरक्षाका उपाय अपनाएर सिनेमाहलहरू किन सञ्चालन गर्न नपाउने भन्ने पनि सरोकार वालाहरूको भनाइ छ । सुरक्षाका सबै उपायहरू अबलम्बन गरेर ४० प्रतिशत मात्र टिकट बिक्री गरेर सिनेमाहलहरू सञ्चालन गर्न दिए खासै फरक पर्दैन होला कि ? तर यसमा भने सरकारले केही सहुलियत दिनै पर्ने देखिन्छ । भौतिक दुरी कायम गरेर सुरक्षाका उपाय अपनाएर कर्पोरेट कम्पनीहरूका सभा गर्न दिन पर्ने कतिपय सरोकारवालाहरूको भनाइ छ ।

लक डाउनको समयमा चलचित्रका गतिविधिहरू नभएकोले सबैजसो चलचित्रकर्मीहरू फुर्सदमा नै छन् । तर उनीहरू चर्चामा रहे । कतिपय चलचित्रकर्मीहरू आरोप–प्रत्यारोप, लाञ्छना–आलोचनामा उत्रे । एक अर्काविरुद्ध उजुरी हाल्ने, गालिगलोज गर्ने कर्ममा समेत संलग्न भए । त्यसैगरी लक डाउनको समयमा नै केही नायिका र पत्रकारबीच विवादहरू भए, आरोप–प्रत्यारोप भए । कालाकार–कलाकार बीचमा पनि आरोप–प्रत्यारोपहरू भए विवादहरू भए । चलचित्र क्षेत्रमा थुपै्र विकृति–विसंगति, नातावाद–कृपावाद गुटबन्दीहरू अझै मौलाएका छन् । लक डाउनकै समयमा चलचित्र क्षेत्रमा यौन दुव्र्यवहारका कुराहरू पनि बाहिरिए । एक जना नवप्रवेसी नायिकाले बिगतका चर्चित नायक निर्माता निर्देशकलाई यौन दुव्र्यवहारको आरोप लगाइन् । चलचित्र क्षेत्रमा यौन दुव्र्यवहारको विषय अहिलेको मात्र होइन विगतदेखि कै रोग हो । कतिपयको भनाइमा त यौन दुव्र्यवहार पचाउन नसकनेहरूले चलचित्रमा प्रवेश नगरेकै जाति हुन्छ । चलचित्रक्षेत्रमा हुने गरेका कतिपय गोप्य–गोप्य रहस्यहरूलाई चलचित्रकर्मीहरूले नै बाहिर ल्याउने गरेका छन् ।

लक डाउनको समयमा सिनेमाहलहरू बन्द भएका कारण दर्शकहरू सिनेमाहलसम्म गएर सिनेमाहरू हेर्न नपाए पनि विभिन्न टेलिभिजन च्यानलहरूमा भने टेलिलचित्रहरू भने हेर्न पाइरहेका छन् । विभिन्न टेलिभिजन च्यानलहरूमा नयाँ कथाहरूका टेलिचलचित्रहरू प्रसारण भइरहेका छन् । लक डाउनको समयमा पनि कतिपय टेलिचलचित्रहरूमा नयाँ–नयाँ कथालाई अगाडि बढाइएको पनि देखिन्छ । कतिपय टेलिचलचित्रहरूले त कोरोनाको बारेमा जानकारी दिने सन्देश पनि प्रसारण गर्ने गरेका छन् । टेलिचलचित्र छायांकन गर्न सीमित कलाकार प्राविधिकहरू भए पनि पुग्ने र भौतिक दुरी कायम गरेर पनि काम गर्न सकिने, ठूलो पर्दाको चलचित्रहरूमा जस्तै विभिन्न लोकेसनहरूमा गएर चलचित्रको छायांकन गर्न नपर्ने भएकोले पनि सजिलो छ । त्यसैले टेलिचलचित्रहरूलाई लक डाउनले त्यति असर नगरेको होला भन्दा फरक नपर्ला । कोरोनाको कहरले सिर्जित लक डाउनले सबैभन्दा बढी चलचित्र क्षेत्रमा काम गर्ने मजदुर र प्राविधिकहरूलाई असर पारेको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया