चरम लापर्बाही

बुधबार एकै दिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिए । जनसंख्याको अनुपातमा विश्लेषण गर्ने हो भने नेपालले कोरोना संक्रमणको वृद्धि दरमा विश्वका सबै मुलुकहरूलाई उछिनेको छ । केही दिनसम्म संक्रमण वृद्धिदरमा छिमेकी भारतले विश्वका सबै मुलुकलाई उछिनेको थियो । एक साताअघि दैनिक ९५ हजारसम्म संक्रमित थपिएको रेकर्ड भारतमा छ । त्यो घटेर यतिबेला दैनिक ७०÷७५ हजारको हाराहारीमा आएको छ । नेपालमा लगातार बढ्दै छ । एकैदिनको अधिकतम तथ्यांकका सन्दर्भमा नेपाल र भारतको तुलना गर्ने हो भने नेपालको अवस्था ज्यादै भयावह हो । करिब पौने तीन करोड जनसंख्या रहेको नेपालमा दैनिक तीन हजार संक्रमित थपिनु भनेको भारतको भन्दा दोब्बर थपिनु हो । नेपालकै जस्तो अवस्था हुने हो भने भारतमा दैनिक १ लाख ५० हजार थपिनुपर्ने थियो, तर त्यसको आधा अर्थात् दैनिक ७५ हजारको हाराहारीमा मात्रै संक्रमित थपिएका छन् । मृत्युदरको वृद्धिमा पनि नेपालले विश्वका सबै मुलुकलाई उछिनेको छ ।

विश्वका धेरैजसो मुलुकमा मृत्युदर स्थिर छ, छिमेकी मुलुक भारतमा पनि करिबकरिब स्थिर छ, तर नेपालमा भने मृत्युदर पनि दैनिक २५÷३० प्रतिशतले बढेको छ । यसैगरी विश्वका प्रायः सबै मुलुकमा कोरोनाका बिरामीहरूले अस्पतालको सुविधा पाएका छन् । संक्रमितलाई सुविधासम्पन्न आइसोलेसनमा राख्ने व्यवस्था छ, तर नेपाल मात्रै यस्तो मुलुक हो जहाँ सरकारले लक्षण नभएका बिरामीलाई अस्पताल नजान आह्वान गरिसकेको छ । गम्भीर रूपमा बिरामी नभई अस्पताल नजान सरकारद्वारा नै आह्वान गरिनु भनेको चानचुने परिस्थिति होइन । अस्पतालको त परै जाओस् आइसुलेसनको समेत व्यवस्था सरकारले गर्न नसक्नु भनेको झन् डरलाग्दो अवस्था हो ।

अब सरकारको, राज्य संयन्त्रको आश गरेर बस्नु बेकार भइसकेको छ । सकेसम्म उच्च सतर्कता अपनाउनु र कति पनि लापर्बाही नगर्नु हामी सबैको कर्तव्य हो । विश्वका धनी मुलुकहरू जहाँ नेपालको भन्दा संक्रमण दर कम छ, जनसंख्याको अनुपातमा संक्रमितको संख्या नेपालको भन्दा कम छ, ती मुलुकहरूले समेत उपचारको समुचित व्यवस्था गर्न नसकिरहेको अवस्था छ । विज्ञहरूले केही दिनअघि सरकारलाई सुझाव दिइसकेका थिए कि, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने हाम्रो स्वास्थ्य व्यवस्थाको कुनै पनि संयन्त्रले थेग्न सक्दैन ।’ गत बुधबारदेखि सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसकेको छ । अब केही दिनभित्रै दोब्बर हुने संभावना विज्ञहरूले औंल्याएका छन् । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दुई महिना पहिले नेपालका सन्दर्भमा जे प्रक्षेपण गरेको थियो त्यो अक्टोबर महिना सुरु हुनासाथ पुष्टि हुँदै गएको छ । लापर्बाहीको यही हालतले निरन्तरता पाउने हो भने नेपालमा कुल जनसंख्याको ८० प्रतिशत संक्रमित हुने प्रक्षेपण उक्त संस्थाले गरेको थियो ।

तमाम व्यवस्थापकीय कमजोरी भए पनि सुरुको चरणमा सरकारले प्रयास गरेकै हो । सरकारले गरेको लक डाउनको आह्वानलाई बढीमा एक महिनासम्म जनताले अनुशासनका साथ पालना गरिदिएको भए, यस्तो भयावह अवस्था यति छिटो आउने थिएन । अब त सरकारले नै गम्भीर प्रकृतिका बिरामीबाहेक अरूका लागि उपचार गर्ने ठाउँ छैन भनेर हात उठाइसकेको छ । यो अवस्थामा जनता झन् अनुशासित हुनुपर्छ । भोको पेट भर्नै पर्यो, घरमा चुलो बाल्नै पर्यो । यसका लागि घरबाहिर निस्केर काम नगर्नुको विकल्प पनि छैन । तर, बिहान जुरुक्क उठेर चिया पसलमा भिड लाग्न जानेहरूको संख्या उल्लेख्य छ । साँझ हुन नपाउँदै रक्सी बेच्ने भट्टीहरूमा खचाखच भिड देखिन्छ । माइक्रोबसमा कोचिएर यात्रा गर्न तँछाडमछाड गर्नेहरूको भिड त्यति नै देखिन्छ । कम्तिमा पनि यो महामारीको अवस्थामा घरमै चिया पकाएर खाए हुँदैन र ? रक्सी खानै मन लाग्यो भने घरमै ल्याएर खाए हुँदैन र ? अत्यावश्यक अवस्थामा बाहेक घरबाट लखरलखर बाहिर ननिस्के हुँदैन र ?

प्रतिक्रिया