डब्बुले ल्याए दसैं गीत

काठमाडौं । नजिकिँदै गरेको दसैंलाई लक्षित गरेर गायक हेम श्रेष्ठ र गायिका सरिता भारतीले नयाँ दसैँ गीत ल्याएका छन् । काठेभाकामा तयार पारिएको ‘यसपालीको दसैं’ बोलको गीतमा भाका, लय संकलन तथा संगीत गायक हेमकै रहेको छ भने रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।  गीतकार डब्बु क्षत्रीले लेखेको गीतमा विदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदार र उनीहरुका परिवारको पीडालाई समेटिएको छ ।

अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतको भिडियोलाई गीतकार क्षत्रीले नै निर्देशन गरेका हुन् । काठेभाकामा फरक परिचय बनाएका हेम र गायिका सरिताको यो गीतको भिडियोलाई हाम्रो आफ्नै युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यसअघि थुप्रै लोक गीत गाएकी सरिताले काठेभाका पहिलो पटक गाएको सुनाइन् । उनले भनिन्, ‘लोक गीतमा पनि काठोभाका आफूलाई निकै मनपर्ने भएकाले यसपटक गायक हेम श्रेष्ठसँगको सहकार्यमा यो दसैं गीत दर्शकमाझ ल्याएका हौँ ।’

गीतको भिडियोलाई रामशरण उप्रेतीले खिचेका हुन् भने ललितसिंह साउदले सम्पादन गरेका छन् । भिडियोमा अभिनेता श्रीदेव भट्टराई, गायिका तथा मोडल सरिता भारती, अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठको अभिनय छ । अभिनेता श्रीदेवले काठेभाकामा पहिलो पटक अभिनय गरेको बताउँदै गीत निकै वियोगान्त र मार्मिक भएकाले आफूलाई मनपरेको जिकिर गरे ।

प्रतिक्रिया