जंगलमा फालिएको शिशुको जीवितै उद्धार

सल्यान । जंगलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका–३ घोरलोटेको जंगलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान जीवितै उद्धार गरिएको हो । आइतबार बेलुका ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा नगरपालिका–३ की ३५ वर्षिया शान्ता परियारले अबैध सम्बन्धबाट जन्मेको २८ दिनको शिशुलाई घर नपुग्दै जंगलमा छोडेर घर गएको प्रहरीले जनाएको छ । सोमबार श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयहरूले जंगलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पताल सल्यानमा लिएर उपचार सुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शिशु अस्पताल पु¥याएर उपचार सुरु गरे लगत्तै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जंगलमा फाल्ने महिला र अवैध सम्बन्ध रहेको भनिएका शारदा नगरपालिका–२ पानी खोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । करिब एक वर्षअगाडि कामको सिलसिलामा महिला भारतमा गएको बेला अवैध सम्बन्ध रहेको र बच्चा जन्मिपछि घर फर्किने क्रममा अरूले थाहा पाउने डरले शिशुलाई जंगलमा फालेर घर गएको भन्ने वयान शान्ताले दिएको प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर रहेकी शान्ताको पहिलो विवाहबाट तीन सन्तान रहेको र पतिसँगको सम्बन्धविच्छेद भएपछि छोराछोरीको पालनपोषणका लागि भारत गएको महिलाले प्रहरीसामु बताएकी छन् । भारतमा सँगै काम गर्ने क्रममा भण्डारीसँग अवैध सम्बन्ध रहेको र दसँै मनाउन घर आउनेक्रममा शिशुसहित फर्किएका थिए । गड्डाचौकी नाका हुँदै महेन्द्रनगरमा तीन दिन क्वारेन्टिनमा सँगै बसेका परियार र भण्डारी सल्यान आउने क्रममा छुट्टाछुट्टै फर्किएको स्वीकार गरेको सूचना अधिकारी वलीले जानकारी दिए ।

पतिसँगको सम्बन्ध विच्छेदपछि माइतीमा बस्दै आएकी ती महिलाले घर पुग्दै गर्दा शिशु घरमा नलैजाने दुवैको सहमतिपछि आइतबार बेलुका नै शिशुलाई जंगलमा छाडेर घर फर्किएको महिलाले बताइन् । हाल दानबहादुर जिल्लामा क्वारेन्टिनमा रहेको र घटनाबारे थप अनुसन्धान अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला अस्पतालमा उपचार गराइरहेको शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर भीमकान्त जैसीले जानकारी दिए । ‘बिहान ल्याउँदा बच्चाको तापक्रम निकै कम थियो पछि ल्याक्टोजिन खुवाएर उपचार गरेपछि शिशुको अवस्था सामान्य छ’, डा. जैसीले भने ।

प्रतिक्रिया