रंग‍-विविध

लोकसाहित्य ग्रन्थ

सौर्य अनलाइन २०७७ असोज १५ गते २१:२६ मा प्रकाशित

काठमाडौं । नेपालमा प्रचलित लोकसाहित्यको संरक्षण, प्रवद्र्धन तथा संवद्र्धन गर्ने लक्ष्यका साथ ग्रन्थ प्रकाशन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको हो । प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका प्रा.डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्यअन्तर्गत तयार पारिएको हो ।

लोकवार्ता, लोकसाहित्य, लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोककथा, लोकनाटक, गाउँखाने कथा, उखान, टुक्का, लोकबाजा र नेपाली लोकसाहित्यको संकलन तथा अध्ययनको परम्पराजस्ता मूल शीर्षकका तेह्रओटा परिच्छेदअन्तर्गत विभिन्न उपशीर्षकहरूमा विभाजित प्रस्तुत कृतिमा सम्बन्धित विधाको सैद्धान्तिक जानकारीका साथै प्रकार र उदाहरणहरूसमेत प्रस्तुत गरिएको हुनाले यो कृति लोकसाहित्यका अध्येताहरूका लागि निकै उपयोगी सामग्री बनेको छ ।

गहन अध्ययन, अनुसन्धान र विश्लेषणका आधारमा तयार पारिएको प्रस्तुत कृतिमा नेपालका विभिन्न विश्वविद्यालयका विभिन्न तहमा अध्ययन र अध्यापन गराइने लोकवार्ता तथा लोकसाहित्यसम्बन्धी पाठ्यक्रममा समेटिएका सबै विषयक्षेत्रहरू एकै ठाउँमा पाइने हुनाले यो कृति सम्बन्धित क्षेत्रका प्राध्यापक तथा विद्यार्थीका लागि निकै उपयोगी र पूर्ण सामग्री बनेको छ ।

लोकसाहित्यको कुनै पनि क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहने अनुसन्धाता र जिज्ञासु पाठकका लागि पनि यो कृति उपयोगी रहेको नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले जानकारी दिए । उनले भने, ‘नेपाल लोकसाहित्यमा निकै समृद्ध छ । यसको खोज अनुसन्धान गरी अझ व्यापक बनाउने लक्ष्यका साथ ग्रन्थ प्रकाशित गरेका हौं ।’ मूल्य ५१० राखिएको ६०४ पृष्ठको ‘लोकसाहित्य सिद्धान्त’ कृति प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्षबाट लिन सकिने कुराको जानकारी प्रतिष्ठानले दिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय