खोजखबर

संरक्षण अभावमा जीर्ण बन्दै दरबार र धर्मशाला

विमलबहादुर विष्ट २०७७ असोज १२ गते २१:१७ मा प्रकाशित

डोटी जिल्लामा राणाकालमा निर्माण गरिएका सयौँ धर्मशाला तथा दरबार उचित संरक्षणको अभावमा बर्सेनि जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायले संरक्षण तथा संवद्र्धन गर्न नसकेका कारण ती धर्मशाला तथा दरबारहरू भत्किन थालेका हुन् । यति मात्र नभई सरकारी उदासीनताका कारण यहाँका कतिपय धर्मशाला त व्यक्तिले आफ्ना निजी काममा समेत प्रयोगमा ल्याएको स्थानीयवासी बताउँछन् ।
जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, बडिकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न क्षेत्रमा राणाकालमा निर्माण गरिएका सयौँ धर्मशाला अहिले उचित संरक्षण तथा मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

जिल्लामा यातयातका साधन सञ्चालन नभएको समयमा बटुवाहरूका लागि विश्राम गर्नका लागि राणाकालीन अवस्थामा निर्माण गरिएका धर्मशालाहरूमा हाल सरकारी तथा स्थानीय स्तरबाट उचित संरक्षण र मर्मतका लागि पनि पहल नभएको जोरायल गाउँपालिका–३ का स्थानीयवासी दिनेशबहादुर मल्लले बताए । उनले भने, ‘गाडी नहुँदा बटुवाहरू बास बस्नका लागि बनाइएका धर्मशालाहरू अहिले स्थानीय तहले संरक्षण नगर्दा भत्किन थालेका छन्, यसको संरक्षण तथा जगेर्ना गर्न जरुरी भएको छ ।’ सरकारी सम्पत्तिका रूपमा रहेका धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गर्ने तथा केही भत्किन थालेका भए पनि सम्बन्धित निकायले संरक्षणका लागि कुनै पहल नचालेको स्थानीयवासीको भनाइ छ ।

तराईबाट पहाड आउने तथा पहाडबाट तराई जाने बटुवाका लागि डोटीको जोरायल गाउँपालिका तथा शिखर नगरपालिकाको नापानी, तेलेलगायत ठाउँमा निर्माण गरिएका राणाकालीन धर्मशाला अहिले कतिपय जीर्ण बनेका छन् भने कतिपय भँैसी गोठालाले आफ्ना खर्क बनाएको पाइएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी निरोज विष्टले बताए । उनले भने, ‘प्राचीन धरोहरको संरक्षण गर्न कसैले चासो देखाएका छैनन्, यो विडम्बना हो ।’ शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँमा तत्कालीन स्व राजा वीरेन्द्रको पालामा बनेको सिलेटले छाएको एकतले पक्की धर्मशालामा एक जना कर्मचारी भर्ना गरी विगतमा बटुवाले गाईगोरु बाँधेको र मान्छे सुतेको पैसा लिने गरिएको र सोही रकमबाट निज कर्मचारीलाई तलब खुवाउने गरिएको थियो । अहिले नगरपालिकाले वनभोज खाने स्थल ‘पिकनिक स्पट’ बनाउने भन्दै कर्मचारी हटाइएपछि उक्त धर्मशाला व्यक्तिले निजी बनाएको स्थानीयवासी बताउँछन् ।

यसरी निजी रुपमा प्रयोगमा ल्याउँदा पनि कसैले किन व्यक्तिगत बनाएको भन्नेसम्म आवाज नउठाएको शिखर नगरपालिका–१ का श्याम बोगटीले बताए । उनले भने, ‘पहिले कपल्लेकी गाविस भएका बेलामा धर्मशालामा कर्मचारी राखेर संरक्षण तथा मर्मत गरिएको थियो, अहिले स्थानीय तह भएपछि शिखर नगरपालिका भयो, भएका कर्मचारी पनि हटाइए, धर्मशाला पनि भैँसी गोठ बने ।’ डोटीसहित यहाँका अन्य अछाम, डडेल्धुरा, बाजुरा, बझाङलगायत पहाडी जिल्लासहित कालीकोट र सुर्खेत जिल्लामा तराईबाट आवतजावतका लागि छोटो तथा सजिलो बाटो डोटी भएका कारण पनि तत्कालीन राणाकालमा डोटी जिल्लामा सबैभन्दा बढी धर्मशाला निर्माण भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाठकले बताए । उनले भने, ‘डोटीबाट अन्य जिल्ला जान सजिलो हुने तथा डोटीमा राणाहरूको राज्य अर्थात् गौँडा भएका कारण पनि यहाँ सरकारी धर्मशाला ठाउँठाउँमा निर्माण भएका थिए, अहिले संरक्षण नगरिँदा कतिपय भत्किसके त कतिपय व्यक्तिले आफ्नो कब्जामा लिएर निजी बनाए, संरक्षणका लागि कसैले पनि चासो देखाएनन् ।’

तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायत ठाउँहरूमा आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले धर्मशाला निर्माण गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जिल्लामा भएका पाटीपौवा र धर्मशाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा पर्ने सबै धर्मशालाको समयमै उचित संरक्षण तथा मर्मत गर्नुपर्ने बताए । उनले भने, ‘आफ्नो ठाउँमा निर्माण भएका धर्मशाला कसले प्रयोग गरेको छ, त्यसको अवस्था के छ भनेर खोजी गरी स्थानीय तहले संरक्षण गर्नुपर्छ, धर्मशालालाई मर्मत तथा सुधार गरी घरवास ‘होमस्टे’ पनि बनाउन सकिन्छ ।

त्यसैगरी जिल्ला सदरमुकाम सिलगढीको ‘मल्लोढोका’ नामले चिनिने राणाकालीन दरबार पनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । राणाकालीन गौँडा रहेको समयमा लामो समयसम्म बडा हाकिमको निवासको रुपमा प्रयोग भएको थियो । डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको सो दरबार राणाकालमा वडा हाकिमको निवासका रुपमा प्रयोग हुँदै आएकामा राणाशासन पछिका धेरै वर्षसम्म जिल्ला पञ्चायत लगायतका विभिन्न सरकारी कार्यालयले प्रयोग गर्दै आएका थिए । बहादुर शमशेर बडा हाकिम रहेको समयमा सिलगढीकै एकजना व्यक्तिलाई उक्त दरबार बिक्री गरेपश्चात् दरबारको संरक्षणमा सरकारी र व्यक्तिगत कुनै पनि निकायबाट ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । तत्कालीन वडा हाकिम बहादुर शम्शेरबाट सिलगढीका स्थानीय बासिन्दा सुरतबहादुर अमात्यले सो दरबार खरिद गरेका थिए ।

सिलगढीका स्थानीयवासी सिद्धराज श्रेष्ठका अनुसार दरबार र यस वरपर रहेको कुल ४६ रोपनी जग्गा त्यतिबेलाको १० हजार रुपैयाँमा खरिद गरिएको भन्ने सुन्नमा आए पनि कुन वर्षमा कति रुपैयाँमा खरिद गरिएको हो भन्ने तथ्य जानकारी भने कसैसँग पनि छैन । विसं १९९० ताका डोटीमा गौँडा रहेको यहाँका बूढापाका बताउँछन् । दरबारमा ४० वटा कोठा रहेका छन् । दरबारको वरिपरि सुसारे निवास, मनोरञ्जन घर, पूजा घर, कोत गार्डसमेत रहेकामा हाल ती घरहरूका भग्नावशेषमात्र बाँकी रहेका छन् । हाल आएर सो दरबारलाई सरकारी स्तरबाट विभिन्न प्रयोजनका लागि पटक पटक खरिद गर्ने प्रयास गरिएको पनि बताइन्छ ।

पछिल्लोपटक डोटी क्याम्पसमा कृषि विषय अध्यापन कार्य सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले सो दरबार र आसपासको जग्गा खरिदका लागि प्रयास गरिएको भए पनि रकममा कुरा मिल्न नसकेको नगर उपप्रमुख शिवराज खड्काले बताए । उनले भने, ‘क्याम्पसमा कृषि विषय अध्यापन कार्य सञ्चालनका लागि नगरपालिकाले किन्न खोजेको थियो, रकममा कुरा नमिलेपछि किन्न सकेनौँ ।’ यसअघि नै दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालय स्थापनाका लागिसमेत सो दरबार किन्न कुरा चले पनि कुरा नमिलेको बताइएको थियो । यी ऐतिहासिक धरोहरको संरक्षण र सुधार गर्न सके पर्यटकको आकर्षण पनि बन्न सक्ने स्थानीयवासी तथा दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय