कोरोनाले विश्व पर्यटन दिवसको रौनक हट्यो

काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीले विश्व पर्यटन दिवसको रौनक हटाएको छ । अघिल्लो बर्ष धुमाधामको साथ मनाइने यो दिवस यो बर्ष खासै कार्यक्रम हुन सकेन । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा पर्यटन क्षेत्रलाई लिने गरिएको छ । संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल हाम्रो देश नेपाललार्ई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउने बताएका छन ।

उनले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने र तत्कालीन एवं दीर्घकालीन लक्ष्य हासिल हुने बताएका छन । विश्व पर्यटन दिवसकै अवसर पारी पर्यटन मन्त्रालयले चोभारमा गरेको वृक्षारोपन कार्यक्रममा मन्त्री भट्टराइले त्यस्तो धारणा राखेका हुन । उनले सरकारी, निजी व्यवसाय तथा नागरिकस्तरबाट सुरक्षाका मापदण्डहरू पालना गरी आन्तरिक रूपमा सम्भार, विकास र तयारीजस्ता पुनरुत्थानका कार्यहरूमा लाग्नुपर्नेमा जोड दिए ।

विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत छ । पर्यटन क्षेत्रमा करिब ११ लाख जनशक्तिले रोजगारका अवसरहरू सिर्जना गरेको छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोभिडका कारण पर्यटन क्षेत्रकै रौनक हराइरहेको बताए । खुसियाली साटासाट गर्ने अवसरको रुपमा पर्यटन दिवसलाई लिइए पनि यो वर्ष चुनौतीलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । टानले हेलम्बु ट्रेलको घोषणा गर्ने भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई कसरी पुनत्र्थान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्षेत्रसँग अनलाइनमार्फत भर्चुअल्ली मिटिङ गरिरहेको बताए । कोभिडले व्यवसायीहरूको खुसी लुटिएको भन्दै अध्यक्ष गुरागाइले भने,‘सरकारी साथ र सहयोग रहे आगामी दिनमा राम्रो हुने अपेक्षा लिएका छौं ।’

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादर गुरुङले कोभिडले रौनक खोसेको बताए । आजको दिनमा जुन व्यवसायीहरू माझ जुन रौनक हुन्थ्यो, त्यो खोसिएको महासचिव गुरुङको भनाई थियो । पर्यटनसँग आबद्ध विभिन्न संघ–संस्थाहरूले तामझामका साथ कार्यक्रम गर्न नपाए पनि अनलाइनमार्फत विभिन्न कार्यक्रमको आयोजना गरेका छन । यो वर्षको नारा ‘पर्यटन र ग्रामीण विकास’ भन्ने छ ।

प्रतिक्रिया