मलमास र पद्मिनी एकादशी

रमा पौडेल

आधुनिकतासँगै सनातन संस्कार ओझेलमा पक्कै परेका हुन् तर विज्ञानको जड भने यतै रहेको र यतैबाट गएको पाइन्छ । हरेक एकादशीको १५ दिनको फरकमा सात्विक भोजन, फलाहार, भक्तिभाव र समर्पण भावले मानव हृदयलाई पुलकित गराउँछ । अहिलेका विभिन्न पेट, अनिन्द्रा, डिप्रेसन, रक्तचाप लगायतका रोगहरूको दीर्घनिदान यिनै एकादशीहरूको व्रत र भक्तिभावमा हुन्छ । मान्छेलाई आफ्नो उपस्थिति अनि प्रेमभाव तथा शान्तप्रिय बनाउन शदियौँदेखि एकादशीहरूले प्रेरित गरिआएका छन् ।

आज पद्मिनी एकादशी हो । वैदिक सनातन धर्ममा पद्मिनी एकादशीको ठूलो महत्व छ । अधिका अर्थात अधिक महिना जसलाई मलमास पनि भनिन्छ त्यसै मासको शुक्ल पक्षको शुक्लपक्षको एकादशी तिथीमा पद्मिनी एकादशी पर्दछ ।

व्रतकथा
कर्तवीर एउटा प्रकाण्ड विद्वान अनि कुशल राजा थिए तर पुत्रलाभ नभएका कारणले उनलाई धेरै सताएको हुन्छ । यज्ञ, दान, अनुष्ठान आदि जेसुकै गरे पनि उनलाई पुत्रलाभ हुँदैन तसर्थ सबै राजकाज त्यागेर जंगलमा घोर तपस्या गर्ने उनले निर्णय लिन्छन् । यसरी उनले जंगलमा हजारौँ वर्ष तपस्या गर्दछन् र यसरी कठोर तपस्या गर्दा उनकी पत्नी पद्मिनी उनलाई साथ दिन्छिन् । कठोर तपस्याले राजाको शरीर सिन्काजस्तै भइसक्दा पनि उनले भगवान्को दर्शन पाउँदैनन् । उनकी पत्नी पद्मिनीले प्रकाण्ड तपस्वी अत्रि महर्षिसँग सल्लाह गर्छिन् र महर्षिले राजारानीको पूर्वजन्मको पापका कारणले तपस्याको फल नपाएको तर पुरुषोत्तम मासमा हुने एकादशीको व्रत लिएमा सबै पापमोचन हुने वताउँछन् । रानी पद्मिनीले भने बमोजिम गर्दछिन्, यस एकादशीमा रितपूर्वक भगवान् विष्णुको प्रतिमा स्थापना गर्छिन् । चोखोनितो भएर निष्ठापूर्वक एकादशीको व्रत गरेर, विष्णुको भक्तिभाव गर्दछिन् । यसो गर्नाले भगवान् प्रसन्न भएर राजा कर्तवीर र रानीले भगवान् हरिको दर्शन पाउँछन् । उनीहरूको पुत्र कर्तव्यअर्जुनको जन्म यसपश्चात भएको मानिन्छ । कर्तव्यअर्जुनलाई विश्वमा केवल विष्णु स्वयम्ले मात्र बध गर्न सक्ने नत्र उनलाई अमरत्वको वरदान हुन्छ । यस एकादशीको महिमा कर्तव्यअर्जुनको जन्मसँग जोडिएको छ । कर्तव्यअर्जुनको जन्म हिन्दू क्यालेन्डरको १३औँ महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रूपमा मनाइन्छ । अहिले तीन वर्षपछि फर्केर पुरुषोत्तम महिना चलिरहेको छ ।

शरीर, आत्मा, दिमाग अनि विचारको शुद्धीकरणका लागि पद्मिनी एकादशीलाई लिइन्छ, पुरुषोत्तम महिनाको गुरुत्व बल, पवित्रता अनि दैविक शक्तिको प्रभावले यस एकादशी झनै फलिफाप गराउने एकादशीका रूपमा स्थापित छ । श्री हरि विष्णुको महिमागान गरिने यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ । मनमा हरि हुनु अतिआवश्यक मानिन्छ, हरि एउटा चेतना हो अनि परमात्माको स्वरूप पनि तसर्थ हरेक मानवले मनमा हरिलाई बसाउन जरुरी रहेको हाम्रो पूर्वीय सनातन संस्कारले आव्हान गर्दछ । श्रीमद्भागवतमा पनि कलियुगमा पापको अधिकता हुने भएकाले हरिनामको भजन, अनुसरण अनि आत्मसाथले मुक्ति पाउन सकिने सरल मार्ग प्राप्त हुने बताइएको छ । पद्मपुराणअनुसार हरि नामको जपले वैकुण्ठ प्राप्त हुने बताइएको छ । वेद अनि पुराणहरूमा भगवान् विष्णुलाई श्रृष्टिको पालनहार मानिएको छ, मानव जीवनसँग सम्बन्ध राख्ने सुख र दुःखको चक्र हरिको हातमा रहेको भनिन्छ । हरिको यही गुणलाई महत्व दिएर लक्ष्मीपति हरिको हजारौँ नामहरू समावेश गरिएको विष्ण्ुासहस्रनाम ग्रन्थ कुँदिएको छ । यसमा हरिका नामहरू अनि व्याख्या रहेको छ, संस्कृत भाषाको अपार मिठास अनि पवित्रतालाई यस ग्रन्थमा उजागर गरिएको छ । नेपाली जीवन परिवेशमा केही दशक अघिसम्म यस ग्रन्थलाई अक्षर चिन्न, पाठ गर्न र हरेक बिहानको पाठमा समावेश गरिन्थ्यो तर समयसँगै यस्ता उपासना, अध्ययन अनि भक्तिहरू हामीले आधुनिकताका नाममा फाल्दै आएका छौँ ।

नमोस्तवनअनन्ताय सहस्त्र मूर्तये, सहस्त्रपादाक्षिशिरोरुबाहवे ।
सहस्त्र नाम्ने पुरुषाय शाश्वते, सहस्त्रकोटि युग धारिणे नमः ।।
यस मन्त्र हरिको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण मन्त्र मध्य हो जसले सनातन संस्कारका दुई धार शिवमार्ग र वैष्णवलाई एकै धारमा जोड्ने कार्य पनि गर्दछ । विष्णु अर्थात् हरिलाई शिव, शम्भु, इशान र रुद्रका नाममा सम्बोधन गरिएको छ । महाभारतमा इच्छा मृत्यु वरदान पाएका भीष्म पितामह वाणहरूको श्ययामा मृत्यु पर्खेर रहँदा युधिष्ठिरले उनलाई जगतका पालनहारका विषयमा सोधेका हुन्छन् । यसबखत भीष्मले हरिको महत्व दर्शाउँदै विष्णु सहस्रानाम उल्लेख गरेका छन् । हरिका हरेक नामको सयौँ तवर अनि अर्थबाट उजागर गरिएको यस सहस्रनामको जपले हरेक युगमा मनुष्यलाई साथ दिने र जीवनको अर्थ र उपस्थिति बढाउने भीष्मले बताएका छन् ।

सूर्योदय अघि उठ्ने, प्रातस्नान गर्ने अनि मन र तन दुबै शुद्ध गर्न भनिन्छ । एकदिन अगावै लसुन, प्याजलगायत माछामासुबिनाको सात्विक भोजन गर्नुपर्ने हुन्छ । पितलका भाँडाको प्रयोग यस एकादशीमा बिशेष रूपमा बन्देज लगाइएको छ । दिनभरि भगवान्को भजन, किर्तन, व्रतकथा श्रवण गर्ने अनि राती जाग्राम गर्न जरुरी मानिएको यस एकादशीमा व्रतालुहरूले फलाहारको सेवन गर्नुपर्ने हुन्छ । राती सुत्न परेमा पनि जमिनमा सुत्नुपर्ने हुन्छ भने भोलिपल्ट पञ्चामृतको सेवन र अभिसेचनका साथ तुलसीको पात, धुप अनि अगरवत्तीको सुगन्धसँगै व्रत अन्त्य गरिन्छ ।

आधुनिकतासँगै सनातन संस्कार ओझेलमा पक्कै परेका हुन् तर विज्ञानको जड भने यतै रहेको र यतैबाट गएको पाइन्छ । हरेक एकादशीको १५ दिनको फरकमा सात्विक भोजन, फलाहार, भक्तिभाव र समर्पण भावले मानव हृदयलाई पुलकित गराउँछ । अहिलेका विभिन्न पेट, अनिन्द्रा, डिप्रेसन, रक्तचाप लगायतका रोगहरूको दीर्घनिदान यिनै एकादशीहरूको व्रत र भक्तिभावमा हुन्छ । मान्छेलाई आफ्नो उपस्थिति अनि प्रेमभाव तथा शान्तप्रिय बनाउन शदियौंदेखि एकादशीहरूले प्रेरित गरिआएका छन् ।

प्रतिक्रिया