फुटबलको प्रशिक्षण खुलाउन सिफारिस

काठमाडौं । कोभिड–१९ का कारण खेलकुद गतिविधि ठप्प रहेका बेला युवा तथा खेलकुद मन्त्रालयले फुटबलको प्रशिक्षण खुलाउन सरकारसंग सिफारिस गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुरोधमा मन्त्रालयले फुटबल प्रशिक्षणका लागि अनुमती प्रदान गर्न सरकारसंग सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहिबार फुटबल प्रशिक्षण खुल्ला गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा प्रस्ताव पेश गरेका छन् । सीसीएमसीले खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रीपरिषद्मा लैजानेछ । मन्त्रीपरिषद्ले सीसीएमसीको राय अनुसार आवश्यक निर्णय गर्नेछ । एन्फाले आवश्यक स्वास्थ्य सुरक्षाको पालना गर्दै प्रशिक्षण खेल्न सरकारसंग आग्रह गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोनाका कारण गत चैतबाट फुटबल गतिविधि ठप्प छ । युरोप लगायत अन्य देशमा विभिन्न फुटबल प्रतियोगिताहरु सञ्चान भएपनि नेपालमा सामान्य प्रशिक्षण समेत सुरु हुन सकेको छैन । त्यसैले एन्फाले तत्काल प्रशिक्षण खुल्लाका लागि सरकारसंग अनुमती माग गरेको हो । गत हप्ता एन्फाका पदाधिकारीले राखेप सदस्य सचिव रमेशकुमार सिलवालसंग भेट गरि प्रशिक्षण गर्ने वातावरण मिलाईदिन अनुरोध गरेका थिए ।

खेलकुद मन्त्रालयले राखेपको प्रस्ताव अनुसार सीसीएमसीमा फुटबल प्रशिक्षण खुल्ला गर्ने फाईल अघि बढाएको हो । कोरोनाका कारण घरेलु खेलकुदका गतिविधि ठप्प छन् । सरकारले दैनिक जनजीवनलाई केन्द्रमा राख्दै लकडाउन र निषेधाज्ञा खुल्ला गरेपनि खेलकुदमाथिको रोकावट कायमै राखेको छ । सरकारले आवश्यक निर्णय लिन नसक्दा खेलाडीहरु प्रशिक्षणमा फर्कन पाएका छैनन् भने खेलकुद गतिविधि ठप्प छ ।

एन्फाले प्रतियोगितालाई तत्काल थाती राखेर खेलाडीलाई प्रशिक्षणमा फर्काउने तयारी गरेको हो । खेलाडीलाई अभ्यासमा फर्काउन सकेको अवस्थामा अनुकुल समयमा प्रतियोगिता सञ्चालन गर्न सकिने एन्फाको विश्वास छ । प्रशिक्षणको अनुमती पाएको अवस्थामा दर्शक विहिन फुटबल प्रतियोगिता सञ्चालन गर्ने एन्फाको तयारी छ । कोरोनाका कारण एन्फाको बार्षिक फुटबल क्यालेन्डर प्रभावित छ । कोरोनाले प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय लिग, महिला लिग, बी डिभिजन र सी डिभिजन लिग स्थगित अवस्थामा छ ।

एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण समेत सुरु गर्ने तयारी गरेको थियो । तर एसियाली फुटबल महासंघ एएफसीले कोरोनाका कारण विश्वकपको छनोट प्रतियोगिता स्थगित गरेसंगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षण समेत अन्तिम समयमा रद्ध गरिएको थियो ।

प्रतिक्रिया