पूर्व पश्चिम राजमार्गमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो । दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए । उनले भने, ‘नगरका अन्य क्षेत्रमा समेत सिसिटिभी क्यामेरा जडान गर्ने योजना छ ।’

सिसिटिभी क्यामेरा र ११६ वटा सौर्य बत्ती जडान गर्नका लागि नगरपालिकाले अमृत बोहरा जेभीसँग रु एक करोड १३ लाखमा ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार सिसिटिभी जडानको कार्य पूरा भएको छ भने सौर्य बत्ती जडान गर्ने काम अघि बढाइएको बताइएको छ ।

सौर्य बत्ती जडान कार्यक्रमअन्तर्गत पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिकासँग जोडिएका चम्फापुर पुलदेखि सामादैजी, दैजी, सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको नगर प्रमुख चन्दले जानकारी दिए । ‘नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ’, उनले भने, ‘नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै आपराधिक क्रियाकलापमाथि नियन्त्रण गर्न र दुर्घटनाका घटना रोकथाममा सघाउ पु¥याउन क्यामेरा तथा सौर्य बत्ती जडानको कार्य अगाडि बढाइएको छ ।’

सिसिटिभी क्यामेराबाट निगरानी राख्नका लागि वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम राखिएको छ । नगर क्षेत्रका मुख्य मुख्य बजारमा सौर्य बत्ती जडान भएपछि रातिको समयमा उज्यालो हुने भएकाले चोरी लगायतका अन्य आपराधिक क्रियाकलाप कमी आउने विश्वास नगरपालिकाको छ ।– रासस

प्रतिक्रिया