लगानी गर्ने क्षेत्र अभावले सेयर आकर्षण बढ्यो

काठमाडौं । लगानीको अन्य क्षेत्रमा आएको संकुचनको कारण पछिल्लो समय सेयर आकर्षण बढेको छ । लकडाउन पुर्ब व्यावसायिक योजना बनाएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा सुधार आएको आकलन गरिएको छ ।  अन्य क्षेत्रमा लगानी गर्ने अवस्था नभएकाले केही पैसा भएका लगानीकर्ता बजारमा आइरहेको स्टक ब्रोकरहरुले बताएका छन । सरकारी कर्मचारी पनि बजारमा प्रवेश गरेको आकलन गरिएको छ । कतिपय एक–दुई मेगावाट क्षमताका कम शेयर भएका कम्पनी समेत सेयरको दोस्रो बजारमा सूचीकृत भएका छन । ती कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ भन्दा तल छ । त्यस्तो अवस्थामा एउटै समूहले त्यस्ता सेयर उठाउने गरेको कारण अनावश्यक रुपमा मुल्य बढ्ने गरेको छ।

केही समयदेखि नेपाल पुनर्बिमा कम्पनी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषजस्ता धेरै वटा कम्पनीमा लगानीकर्ताले नाफा आर्जन गरिहेका छन । ठूला कम्पनीमा नाफा आर्जन गर्न त्यति सजिलो छैन । तर लामो समयदेखि बजार तल्लो विन्दुमा झरिरहेकाले गर्दा उच्च मनोबलका साथ सेयर खरिद गर्नेको समूह हाबी नभएको फाइदा बिचका सट्टेबाजले गरिरहेको देखिन्छ ।

तर सेयर बजार लगानीकर्ता संघ संस्थाका प्रतिनिधि भने बजारमा अझै पनि सुधार नआइसकेको बताउछन । उनीहरु सबै यस भन्दा अगाडि अधिकतम सूचक १ हजार ८ सय ८१ अंक कुरेर बसेका छन । हिजोका दिनमा नेप्से सूचक अधिकतम हुँदा शेयर किनेका लगानीकर्ता अझै पनि घाटामा रहेको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेलको भनाई छ । अन्य प्रतिनिधिहरुले पनि बजार धेरै तल्लो विन्दुमा रहेकोले सुधार हुनु स्वाभाविक भएको बताउदै आएका छन । कोभिडले आक्रान्त पारिरहेको समयमा उद्योग, कलकारखाना चल्नै नसक्ने अवस्थामा रहेका छन । उद्योग व्यवसाय चौपट हुँदा सूचीकृत कम्पनीको आम्दानीमा लगातार गिरावट आइरहेको छ । तिनै कम्पनीको सेयर मूल्यमा भने अस्वभाविक सुधार आइरहेको छ ।

केही समय बजारमा प्रवेश गरी कमाउने र अवस्था सामान्य भएपछि पैसा अन्य क्षेत्रमा लगानी गर्ने मनस्थिति बनाएर पसेका लगानीकर्ताका कारण बजारमा खरिदको चाप बढिरहेको ब्रोकहरुले बताउका छन । यसले अझै केही समय बजारमा सुधार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

सातामा शेयर बजार ५१ अंकको सुधारसहित १ हजार ५ सय ९२ अंकमा रोकिएको छ । यो बुलको पहिलो आधार १ हजार ५ सय ३७ अंक भन्दा माथि पुगेको छ । यसै विन्दुलाई टेकेर नेप्से १ हजार ६ सय १२ अंकसम्म पुग्न सक्ने विश्लेषण गरिएको छ । पहिलो चरणमा १ हजार ६ सय १२ अंक पुगेपछि केहि करेक्सन हुने क्रममा १ हजार ५ सय १९ अंकसम्म झर्न सक्ने आँकलन गरिएको छ । यदि बजार १ हजार ६ सय १२ अंकलाई उछिनेर अगाडि बढ्यो भने त्यस पछिको टार्गेट १ हजार ६ सय ६७ अंक रहने विश्लेषण गरिएको छ।

सातामा सेयर बजारले बजार पुँजीकरणमा नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार बजार पुँजीकरण २० खर्ब ९० करोड रुपैयाँको भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो । यसभन्दा अगाडि १५ फागुन २०७६ मा सर्वाधिक धेरै २० खर्ब ८३ अर्ब रुपैयाँको बजार पुँजीकरण थियो । त्यतिबेला नेप्से सूचक १ हजार ६ सय ३२ दशमलव १८ थियो ।  नेप्से सूचक सबैभन्दा धेरै हुँदा बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ थियो । नेप्से सूचक अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार ८ सय ८१ दशमलव ४५ हो ।

प्रतिक्रिया