शिक्षकहरूका लागि जीवनोपयोगी सीप

डा. दुर्गाप्रसाद दाहाल

शिक्षकले आफ्नो विधिमा पारम्परिक शिक्षण प्रणालीलाई परिष्कृत परिमार्जित गरेर विद्यार्थीहरूमा अन्तर्निहित सीपहरूको विकास गर्नुपर्छ जसबाट एउटा विद्यार्थीभित्र अन्तर्निहित क्षमताका साथै आजको प्रतिस्पर्धी युगसापेक्ष जीवनोपयोगी सीप विकास गर्नुपर्छ । यसबाट उनीहरूमा बहुआयामिक क्षमता पूर्ण नागरिक व्यक्तित्व निर्माण हुन सक्नेछ ।

विद्यार्थीहरूभित्र विद्यमान सीप विकासका लागि शिक्षकले कार्य गर्दछन् अतः शिक्षकहरूमा पनि ती सीपहरूको विकसित गर्न आवश्यक हुन्छ जसबाट विद्यार्थीहरूमा जीवनोपयोगी सीप निर्माणको लक्ष्यलाई प्राप्त गर्न सकियोस् किनकि यसको पाठ्यक्रमको कैयौँ प्रसंग सांस्कृतिक पक्षमा संवेदनशील हुन्छ विद्यार्थीहरूको जीवनोपयोगी सीप विकास शिक्षाको व्यावहारिक पक्षहरूलाई उद्घाटित गर्नका लागि शिक्षकहरूमा अपेक्षित अर्थात् शिक्षकमा कम्तीमा निम्न जीवनोपयोगी सीपहरू विद्यमान हुनु आवश्यक देखिन्छ :

३.१. सम्प्रेषण सीप ः अध्यापक सदैव विद्यार्थीका सम्पर्कमा रहने भएकाले शिक्षकमा सम्प्रेषण सीप राम्रो हुनु आवश्यक छ । शिक्षकले राम्रो सम्प्रेषण सीपको विकासका लागि निम्नानुसार कुरामा ध्यान दिनु आवश्यक छ ।

(क) घनिष्ठ सम्बन्ध स्थापित गर्नु ः सम्प्रेषणका क्रममा अध्यापक र विद्यार्थीहरूका बीच परस्पर सम्मान र विश्वासका आधारित स्वाभाविक सम्बन्ध निर्माण गर्न सक्नुपर्छ ।

(ख) सक्रिय श्रवण ः वक्ता के भन्दै छ र कसरी भन्दै छ भन्ने विषयमा शिक्षक गम्भीर हुन आवश्यक छ । यसका लागि कुशल वक्ता भएर मात्र पुग्दैन बरू ऊ सक्रिय श्रोता पनि बन्नुपर्दछ । जब शिक्षक वक्ताको रूपमा रहन्छन् विद्यार्थीले ध्यानपूर्वक सुन्नुपर्दछ जब विद्यार्थी बोल्छन् त्यतिखेर शिक्षकले राम्ररी सुन्नुपर्छ । शिक्षकले विद्यार्थीले बोलेका बेला उठाएका विषयमा थप सूचना प्रदान गर्न, परिमार्जन गर्न र स्पष्ट पार्नका लागि ध्यानपूर्वक उनीहरूका कुरा सुन्न आवश्यक छ ।

(ग) विद्यार्थीको हाउभाउमा ध्यान दिनु ः शिक्षकले शिक्षण गरिरहेका बेला विद्यार्थीको हाउभाउ र रूचिमा ध्यान दिनुपर्छ । यसले शिक्षकको सम्प्रेषण कार्यलाई प्रभावकारी बनाउँछ । उनीहरूको हाउभाउका आधारमा शिक्षकले आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउन, छोट्याउन र अन्त्य गर्ने निर्णय लिन सक्दछन् ।

(घ) अन्तक्र्रियात्मक परिवेश निर्माण ः सम्प्रेषणका समयमा शिक्षणले आफ्नो विचार मात्र प्रस्तुत गर्नु हुँदैन । विद्यार्थीलाई उनीहरूका विचार पनि प्रस्तुत गर्न लगाउनु पर्छ । कक्षाकोठामा विद्यार्थीले बोलेका विषयमा केही प्रतिक्रिया दिनुपर्ने वा परिमार्जन गर्नुपर्ने भएमा शिक्षकले विद्यार्थीले बोल्दाबोल्दै रोकेर दिनु हुँदैन बरू शिक्षकले आफ्नो प्रतिक्रिया बुँदागत रूपमा टिपेर राख्नुपर्छ । अन्त्यमा मात्र आफ्नो प्रतिक्रिया प्रस्तुत गरेर शिक्षकले कक्षामा अन्तक्र्रियात्मक वातावरण निर्माण गर्नुपर्छ अर्थात् शिक्षकले वार्तालापमा एकाधिकार कायम गर्न खोज्नु हुँदैन ।

(ङ) खुल्ला प्रकृतिका प्रश्नोत्तर ः सम्प्रेषणका क्रममा शिक्षकले विषयवस्तुलाई निरपेक्ष ढंगबाट प्रस्तुत नगरी जीवन र जगत्सँग सम्बन्धित बनाएर खुल्ला प्रकृतिका प्रश्न गर्न सक्छन् । यसबाट विद्यार्थीले आफ्नो बोध क्षमता मात्र नभई सिर्जनात्मक क्षमतासमेत प्रस्तुत गर्ने अवसर प्राप्त गर्दछन् । प्रश्नोत्तरका माध्यमबाट शिक्षकले विद्यार्थीको मात्र नभई आफ्नो कुरा विद्यार्थीले कति रूचिका साथ ग्रहण गरेका छन् भन्ने ज्ञात हुन्छ ।

३.२. विद्यार्थीमा जीवनोपयोगी मूल्य विकास गर्ने सीपका लागि उपयुक्त वातावरणको निर्माण ः आजभोलि परम्परागत रूपमा नै मूल्यपरक शिक्षणका क्रममा शिक्षकले आफ्नो विचार, भावनालाई विद्यार्थीहरूमाथि जबरजस्ती थोपार्ने काम गरिएको पाइन्छ । यस्तो काम विद्यार्थीमा जीवनोपयोगी सीप विकासका दृष्टिले उपयुक्त ठानिँदैन । सामान्यतयाः निम्नानुसार परिवेशमा मात्र शिक्षकले विद्यार्थीमा जीवनोपयोगी मूल्य विकास गर्ने सीप विकास गर्न उपयुक्त ठानिन्छ :

(क) विद्यार्थीहरूको पृष्ठभूमिका साथै उनीहरूका मूल्य मान्यता तथा विचारहरूको विविधतालाई ध्यान दिनुपर्छ ।

(ख) मूल्य प्रसंगहरूको चर्चा गर्दा शिक्षकले आफ्नो मूल्य वा पूर्वाग्रहको भावनालाई टाढा राख्नुपर्छ ।
(ग) शिक्षकले उपदेश दिने विधि अपनाउनु हुँदैन किनकि विद्यार्थीमा उपदेशात्मक विधिको गलत प्रभाव पर्दछ ।
(घ) शिक्षकले विद्यार्थीलाई कुनै पनि विचार वा मत अविश्वसनीय हुँदैनन् भन्ने विश्वास दिलाउनु पर्छ ।
(ङ) विद्यार्थीहरूको विचारलाई सुन्ने लोकतान्त्रिक वातावरण निर्माण गर्नुपर्छ । यस्तो वातावरणमा विभिन्न विचारहरूको चर्चा हुन्छ । यसरी विचारगत बहुलतालाई प्रोत्साहन गर्ने वातावरण भएमा त्यसलाई सफल शिक्षण मान्न सकिन्छ ।
(च) शिक्षकले विद्यार्थीलाई समस्या रूपमा हेर्नु हुँदैन बरू उनीहरूका समस्यालाई समाधान गर्नका लागि सहयोगी बन्नुपर्छ ।

३.३. संवेदनशीलताको सीप ः शिक्षकले विद्यार्थीहरूको समस्याहरूमाथि सहानुभूतिपूर्वक ध्यान दिने वातावरण निर्माण गर्नुपर्छ । यसबाट शिक्षकले विद्यार्थीहरूलाई जीवन र जगत्प्रतिको दृष्टिकोणलाई बुझाउन र व्यापक पार्न सहयोगी भूमिका निर्वाह गर्दछन् । उनीहरूका लागि आफ्ना संवेदनाहरू शिक्षकका सामु राख्ने सहज वातावरण भएमा शिक्षण प्रक्रिया प्रभावकारी बन्न सक्छ ।

४. विद्यार्थीमा जीवनोपयोगी सीपको विकास गर्ने तरिकाहरू
विद्यालयीय शिक्षा विद्यार्थीका लागि बहुआयामिक व्यक्तित्व विकासमा सहायक हुन्छ । त्यो ज्ञान संकल्पना मूल्य एवम् सीपहरूमा आधारित हुन्छ, जसद्वारा केवल बौद्धिक विकास मात्र नभई व्यक्तिको शारीरिक, मनोवैज्ञानिक तथा सामाजिक विकासको पनि अपेक्षा गरिएको हुन्छ । पाठ्यक्रमको उचित शिक्षण विधि कुनचाहिँ हो । सामान्यतः शिक्षण विधिको निम्न दुई प्रकार हुन्छन् ।

 

४.१. पाठ्य संक्रमीयविधि : पाठ्यसंक्रमीय विधिले मुख्य रूपबाट ज्ञानको पक्षमा बढी जोड दिने गर्छ । यो परम्परागत विधिका रूपमा स्थापिन रहेको छ । यसले केवल परीक्षा उत्तीर्ण गर्ने कुरालाई अभीष्ट बनाउँछ । यसले पाठ्यक्रमका लक्ष्यहरूलाई प्रभावित गर्न पाउँदैन । यी लक्ष्यहरूलाई त्यही शिक्षण विधिबाट प्राप्त गरिन्छ । यसले विद्यार्थीलाई सुनाइबाट अघि बढाएर तिनीहरूको सोच्ने बुझ्ने तथा महसुस गर्ने तथा क्रियाशील हुने अवसर प्रदान गर्न सक्दैन । विषयवस्तुमा नै विद्यार्थीलाई केन्द्रित गर्दछ ।

४.२. पाठ्य सहगामी विधि : पाठ्य सहगामी विधिमा विद्यार्थीलाई विभिन्न गतिविधिहरूमा सहभागी हुने उपयुक्त अवसर प्रदान गर्ने अदभूत क्षमता हुन्छ । यसमा विद्यालयद्वारा आयोजित तथा निर्देशित सबै गतिविधिहरू समेटिन्छन् जुन नियमित पाठ्यक्रमद्वारा तथा अन्य तरिकाबाट सम्पादित हुन्छन् । यसबाट जनसंख्या वृद्धि, विश्व आतंकवाद, पर्यावरण प्रदूषणको समस्याका साथै स्वास्थ्यसम्बन्धी अनेकौँ प्रकारका नयाँ रोगबाट उत्पन्न समस्यासँग लड्ने क्षमताको अभिवृद्धि गर्न सकिन्छ । यस विधिमा विभिन्न गतिविधिहरूका माध्यमबाट शिक्षण सिकाइमा सक्रिय सहभागिताको अवसर निर्माण गर्न सकिन्छ । यसबाट विद्यार्थीमा स्वास्थ्य दृष्टिकोण र अन्र्तवैयक्तिक सीपको विकास हुन्छ । यो सिकाइ अनुभवमा आधारित हुन्छ ।

पृथ्वीको सर्वश्रेष्ठविवेकशील प्राणी भएकाले उसमा सोच्ने, सम्झने एवं सार्थक जीवन जिउने कला विकासमा शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । यस्तो कला जीवनोपयोगी सीपका माध्यमबाट विकसित हुन्छ तसर्थ सरोकारवाला व्यक्ति र संस्थाले जीवनोपयोगी सीपको विकास गरेको खण्डमा उनीहरूलाई सफल नागरिक बनाउन सकिन्छ । शिक्षकले आफ्नो विधिमा पारम्परिक शिक्षण प्रणालीलाई परिष्कृत परिमार्जित गरेर विद्यार्थीहरूमा अन्तर्निहित सीपहरूको विकास गर्नुपर्छ जसबाट एउटा विद्यार्थीभित्र अन्तर्निहित क्षमताका साथै आजको प्रतिस्पर्धी युगसापेक्ष जीवनोपयोगी सीप विकास गर्नुपर्छ । यसबाट उनीहरूमा बहुआयामिक क्षमता पूर्ण नागरिक व्यक्तित्व निर्माण हुन सक्नेछ ।

प्रतिक्रिया