भोलीदेखि होटल तथा रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं । होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको निषेधाज्ञा हटेको छ । टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गर्न दिइने भएको हो । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाएका छन । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।

दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोररबिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर बिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभन्जेल खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको उनले बताए ।

 काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गरेको छ । सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ । चाडपर्व नजिकिएसँगै निषेधाज्ञामा लचकता अपनाइएको प्रशासनले स्रोतले बताएको छ ।

 

प्रतिक्रिया