भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरानो भाइरसबाट संक्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।

सोही अवधिमा एक हजार ५४ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कुल संक्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।

भारतमा कुल संक्रमित मध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार संक्रमुक्त भएकाहरुको अनुपात ७८।२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुका अनुसार अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत संक्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक संक्रमितको अवस्था उच्च रहेको छ ।

केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो । कोरोनाभाइसबाट संक्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया