कन्टेनर ल्याउने वातावरणको माग

काठमाडौं । व्यवसायीहरूले कोभिड–१९ का कारण केरुङ नाकामा रोकिएको एक हजारभन्दा बढी कन्टेनर नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरूलाई भेट गरी केरुङ नाकामा रोकिएर बसेका मालबस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि मालबस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कूटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलाइदिन मन्त्री भट्टसमक्ष माग गरेका हुन् । लक डाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीसँग बैंकको ब्याजदर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिनसमेत व्यवसायीहरूले माग गरेका छन् ।

त्यस्तै व्यवसायीसँग मासिक भ्याट तथा राजस्व तिर्ने पैसासमेत नभएकाले तिर्ने समयावधि थप गरिदिन अध्यक्ष कटुवालले माग गरे । व्यवसायीको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरूमा पहल गर्ने बताए । पुनरकर्जा उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयसँग कुरा गर्ने उनको भनाइ छ । त्यस्तै केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कूटनीतिक पहल सुरु गरिसकेको समेत उनले बताएका छन् । लक डाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पुँजीसमेत नभएकाले विनाधितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनसमेत व्यवसायीहरूले माग गरेका छन् । कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनरकर्जाको सुविधा आपूmहरूले समेत पाउनुपर्ने माग व्यवसायीहरूको छ ।

प्रतिक्रिया