पानीमा कुश, जौ, तिल राखेर किन गर्ने संकल्प ?

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले वेद, योगदर्शन, आयुर्वेद र प्राकृतिक चिकित्साका विषयमा अनुसन्धानको तयारी गरेको छ । जयतु संस्कृतम् संस्थाले संस्कृत लोक भाषा अभियान एवं साधारण विद्यालयमा संस्कृत विषयको प्रयोग सान्दर्भिकता विषयमा आयोजित जुम प्रविधिको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा रमेश ढकालले पानीमा कुश, जौ, तिल राखेर किन संकल्प गर्ने, वैदिक रुद्राभिषेक किन गर्ने र तुलसीको पात किन खानेलगायत वैदिक क्रियाकलापका विषयमा अनुसन्धान गर्न लागिएको जानकारी दिए ।

‘वेदको प्रायोगिकरुपमा अध्ययन एवं अध्यापन गराई विश्वका सबै विश्वविद्यालयमा वेद विषयका प्राध्यापक निर्यात गर्ने गरी पठन पाठन गराउन समर्पित भएका छौँ, अब कामदार होइन वेदको ज्ञान दिने प्राध्यापक निर्यात गर्ने गरी विश्वविद्यालय अघि बढ्न लागेको छ,’ उनले भने ।
विश्वविद्यालयले यसै वर्षदेखि सरल रुपमा संस्कृत सिकाउन संस्कृत भाषामै पत्रिका प्रकाशनसमेत गर्न लागेको छ । विश्विद्यालयका कुलसचिव माधव अधिकारीले ५ नं प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरी त्यस प्रदेश क्षेत्रमा संस्कृतको कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान शुरु भइसकेको बताए ।

जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले दक्षिण एशियाकै मातृ भाषा संस्कृत विश्वका सबै भाषाभन्दा मिठास भएको बताए । संस्थाको नेतृत्वमा देशका १२३ वटै भाषा बचाउनुपर्छ भनी लागिएको जानकारीसमेत उनले गराए । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन संयुक्त राष्ट्र सङ्घलाई संस्थाले पत्राचार गर्ने भएको छ ।

संस्कृत जटिल भाषा भनी गलत प्रचार गरिएकाले त्यसलाई चिर्दै लोक भाषाका रुपमा स्थापित गर्ने उद्देश्यले जागरण स्वरुप हालसम्म चारवटा प्रदेशमा अन्तरक्रिया गरिसकिएको छ । बाँकी तीन प्रदेशमा पनि गर्ने तयारी भएको जयतु संस्कृतम्ले जनाएको छ । कार्यक्रममा साधारण विद्यालयमा संस्कृत पठनपाठनका विषयमा गोष्ठी पत्र प्रस्तुत गर्नुहुँदै पूर्वशिक्षा सचिव जनार्दन नेपालले किराँत, लिच्छवि र मल्लकालमा राखिएका शिलालेखसमेत संस्कृत भाषामा भएकाले पहिल्यैदेखि यसको पठनपाठन भइरहेको पुष्टि हुने बताए । विसं २०२८ मा राष्ट्रि«य शिक्षा पद्धतिको योजना लागू भएपछिदेखि संस्कृत ओझेलमा पर्न थालेको बताए ।

संस्कृत लोकभाषाका रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गोष्ठी पत्र प्रस्तुत गर्दै संस्कृत नभई नेपाली समाज नबाँच्ने भएकाले यो लोकभाषा नै भएको बताए । नेपालका आदिवासी, जनजाति सबैले दैनिक रुपमा गर्ने सांस्कृतिक गतिविधि संस्कृतकै देन भएकाले यसलाई लोकभाषाका रुपमा पुनःस्थापित गरिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले ११८ वर्ष पुरानो गुल्मी जिल्लास्थित रिडी संस्कृत माध्यमिक विद्यालयलाई साधारण माविमा गाभी अपमान गर्न खोजिएकाले रोकिनुपर्नेमा सरोकार भएका निकायको ध्यानाकर्षण गराए । गुल्मीकै रेसुङ्गा नगरपालिकाले कक्षा एकदेखि आठसम्म नै संस्कृत भाषा पढाउने निर्णय नगर परिषद्बाट गरेको शशी पन्थीले कार्यक्रममा सुनाए । विश्व हिन्दू महासङ्घ रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले संस्कृत सिक्ने चाहनाले जीवनको उत्तराद्र्धमा आफू लागिपरेको बताए ।

जरो किलो प्रतिष्ठानका महासचिव डा गोविन्दशरण उपाध्यायले संस्कृतका लागि काम गर्ने संस्थाकाबीच समन्वय हुनुपर्ने बताउदैं श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन सबै लागि पर्नुपर्नेमा जोड दिए । जयतु संस्कृतम् संस्थाका महासचिव डा. नवराज कट्टेलले देशभरका ३५ हजार ६०० विद्यालयमै संस्कृत विषयको पठनपाठन गर्ने गरी अभियान अघि बढाइएको बताए ।

प्रतिक्रिया