सृष्टिसँग निराजनको रोमान्स

काठमाडौं । कोरोनाका कारण लगाइएको बन्दाबन्दी हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ चलचित्रको सुटिङमा व्यस्त थिइन् । बन्दाबन्दीले चलचित्रको सुटिङ बीचैमा रोकिएपछि अभिनेत्री सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ । अरुबेला चलचित्रमा व्यस्त हुने कलाकार अहिले म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त छन् ।

मिस नेपालसमेत भइसकेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छन् । यसैक्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छन् ।

रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत तथा स्वर भरेका छन् । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो असमझदारीले छुट्टिन लागेको जोडीलाई मायाले नै फर्काएको कथालाई देखाइएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया