आहा ! काठमाडाैं ‘छि’ काठमाडौं

वास्तवमा काठमाडौं मिनि नेपाल हो । सातै प्रदेशका सबै अटाउने विविध जातजाति, भूगोल र भाषाभाषीको आश्रय र अन्नदाता हो काठमाडौं । काठमाडौका तिँख्योः (टुंडी खेल), बागमती विष्णुमती न्हु पुखु (रानीपोखरी) लगायतमा ल्होसार, ड्यौडा नाच, गौरा पर्व, छैठ पर्व (छठपर्व) लगायत संस्कृतिलाई यहाँको नेवाः लगायतका विविध संस्कृतिवालहरूले समेत स्वागत र स्वीकार गरिरहेका छन् तीँख्योः जस्तै खुल्ला हृदयले । तसर्थ यी सब तथ्य नबुझेर ‘छि’ काठमाडांै नभनौँ

जीवनको ४०औँ दशकको संघारमा पुगिसकेपछि मात्र मलाई अनुभव हुन थाल्यो म विश्वको सबैभन्दा सुन्दर देशको सुन्दर संस्कृतिको धनी देशको धनी सहर काठमाडौंमा जन्मेको रहेछु । त्यसैले होला एसियाका नामुद सहरहरू टोकियो, नागोया ओशाकाका चिल्ला बाटाहरू शिनकानसेन बुलेट ट्रेनहरूमा हुँइकिएका पलहरूले मलाई खासै रोमाञ्च दिन नसकेको हो वा मैले लिन नसकेको हो मेरो मथिंगलले कहिले भेउ पाउन सकेन ।

न त भारतको ताजमहल दिल्लीका लालकिल्ला र विशाखा पटनामाका नयाँ नियोजित सहर, तिनका गल्ली चौराहाले मलाई आकृष्ट गर्न सक्यो । कोलम्बो सहरमा होटल ताजमा बस्दा होटलको लञ्च र डिनरका भव्य डाइनिङ रुमबाट देखिने नीला समुन्द्रमा भिज्न नसकेको मेरो मन क्यान्डी पुग्दा भने भगवान् गौतम बुद्धको दाँत राखिएको भव्य मन्दिरले श्रद्धा, स्नेह र आदरका भावसहित मेरो मस्तक झुकाउन सफल भयो ।

हो त्यस्तै भाव जापानको नाराको बुद्धको मन्दिरमा स्खलित भएको थियो मेरो । तर, लगत्तै बुद्धको जन्म भारतमा भएको भन्ने टुर गाइडको झुटो र आधारविहीन ब्रिफिङले भने मन कटक्क दुःखेको थियो । वरिपरि हेरेँ सबै जापानी मात्र । अंग्रेजी पटक्कै नबुभ्mने, आपूmलाई जापानी भाषा राम्रो नआउने । टुर गाइडलाई सोधेँ अंग्रेजी आउँछ ? ‘स्कोसी दाके वाकाता ओनेगाइसी मास’ भन्ने जवाफ पाएपछि बुद्ध नेपालको लुम्बिनीमा जन्मिनु भएको र भारतको गयामा गएर बुद्धत्व प्राप्त भएको बताएपछि ‘खौइ त कता लेखेको छ, बुद्धको जन्म हुँदा नेपाल भन्ने देशै थिएन’ भन्दै तिनि पन्छिन खोज्दा म रन्थनिएँ मात्र । बाँकी बहस गर्ने समय त्यहाँ थिएन ।

हो परदेशी भूमिमा पटकपटक काम विशेषका कारण समय गुजार्ने मजस्ता लाखौँ नागरिकलाई आप्mनो प्यारो देश नेपाल र नेपाली कला, संस्कृति, धर्म र इतिहासको बारेमा यस्ता आधारहीन तथ्य सुन्नपर्दा मन अत्यन्त ग्लानीले भरिँदो हो । त्यसैले होला शिकागो सहरको विशाल विमानस्थल, सडक गल्ली र अग्ला गगनचुम्बी भवनहरूले मलाई खासै प्रभाव पार्न सकेन । क्योटो दरबारमा काठमाडौंका तीन मल्लकालीन भव्य लायकु (राजदरबार) नाराका बुद्ध मन्दिरमा काठमाडाैंका सबै पैगोडा शैलीका मन्दिरका टुँडालहरूमा मल्ल र लिच्छिवीकालीन मिहीन सुन्दर बुट्टा, भित्तामा आँखीझ्याल र मयुर झ्यालहरू खोजीरहन्छु । अनि प्रेम र यौनजन्य कला मिश्रित मन्दिरका छाना अड्याउने टुँडाल र तोरनहरूमा कुँदिएका महाभारत र रामायणका कथाहरू खोज्ने गर्छु तर पाउँदिनँ अनि निराश नभई भन्छु, ‘आहा मेरो देश, आहा मेरो काठमाडौं ।’

भानुभक्तले तत्कालीन राणा शासकको कोपभाजनमा परेर के कस्ता सकारात्मक नकारात्मक कृतिहरू काठमाडौंका (कान्तिपुरीका) शासक, याहाँका नागरीकहरू रैथाने र गैररैथानेका बारेमा जे जस्ता शव्द चित्र कोरेका होलान अनुमानकै कुरा मानौँ तर पनि काठमाडौं छिरेपछि उनले रचना गरेको अलकापुरी नगरी कान्तिपुरी नगरीका ‘चपला अवलाहरू एक सुरमा गुनकेशरीको पूmल ली शिरमा…’ले काठमाडौंको अमृतमय आश्वादन र यहाँको सुन्दरतालाई शव्द चित्रमा कोरेको झुट्टा भने पक्कै होइन । सुन्दरतामा काठमाडांै अझै धनी छ, गरिब त ती हुन् र तिनै शासकहरू हुन् जसले र जसका अवैज्ञानिक र अविवेकशील नीतिहरूले यहाँको हराभरा जल, जंगल, जमिन, जीवन, जलवायु लगायतका ‘ज’हरूलाई क्रमशः नष्ट र भ्रष्ट गर्दै गएको छ । र अझै नष्ट गर्ने दाउमा फास्ट ट्रयाक र सडक विस्तारका विभिन्न विध्वंसकारी विकासका नीतिहरू कार्यान्वयन गर्दै र बनाउँदै छन् ।

विगतमा सार्क सम्मेलनका नाममा नारायणहिटी दरबार र नेपालका दरबारियाका घरबारीसम्म ठूला गाडी र सडक छुने घर बनाउन सडक विस्तारका नाममा रैथाने नागरिकका घरमाथि डोजर लगाउँदा कैयन्को सिंगो घर गुमे मात्र होइन । मानसिक सन्तुलन गुमाएका कारण विचलित रैथाने केही नागरिक दिनको एकपल्ट आप्mनो घरवास ढालेर सम्याइएका कमलपोखरीतिर जाने बाटाको बीचमा बसी आफ्नो घर रहेको जमिन सुम्सुम्याउँदै बसेको देख्थेँ म पद्मकन्या स्कुल आउँदा जाँदा । छेउमा घर बाटामा छोएर खुसी भएका छिमेकीहरू केही दोहोलो काढ्थे ‘च्व च्व बिचरा’ बहुलाएछन् । बरा घरवास गएसी यस्तै हुन्छ, त्यो दोहलोमा सहानुभूति मिसेका हुन्थे वा व्यंग्य म किशोरी मथिंगलले भेउ पाउन सक्दैन थिएँ ।

त सार्क सम्मेलनले नेपाललाई कति फाइदा वा बेफाइदा भयो म जान्दिनँ । तर, हजारौँलाई घरबारविहीन गराएको त्यो समयले फेरी कालान्तरमा सडक विस्तारमा ६० देखि सत्प्रतिशतसम्म काठमाडौंका रैथानेका घरजग्गा सोत्तर भएका तथ्य विगतमा मेरो खोज पत्रकारिताले प्रमाणित गरिसकेकोले निरन्तरता लिएको छ । अब पालो आइरहेछ खोकनाको । जुन काठमाडौं सहर बन्नुभन्दा हजारौँ वर्षको इतिहास, संस्कृति, धर्म, वास्तुविज्ञान र कला संग्रहको जिउँदो ऐतिहासकि संग्रहालय हो र अझै पनि जिउँदै रहोस् एक रैथाने नेवारकी छोरीको कामना ।

‘छि’ काठमाडौं

गुल्मी जिल्लाको श्रृंगा हेल्थपोस्टमा क्षयरोगका विरामीबारे एक अध्ययन गर्न ०५८ सालताका पुगेँ । पूर्वाञ्चल विश्वविद्यालयको पत्रकारितामा मास्टर्स तहको पहिलो सेमेस्टरमा अनुसन्धान पत्रको तयारीमा गुल्मी जिल्लामा बढ्दो क्षयरोग र त्यसका कारण बारे मेरो अनुसन्धान पत्रकै सिलसिलामा गुल्मीका विभिन्न हेल्थपोस्ट चाहार्दै श्रृंगा हेल्थपोस्टसम्म पुगेँ । डाक्टरको दरबन्दी रहे पनि जिल्लाको सदरमुकाम तम्घाससम्म पनि तम्घास अस्पतालका डाइरेक्टर डाक्टर दीर्घसिंह बम समेतको उपस्थिति कहिले नरहेको अवस्थामा श्रृंगाजस्तो अनकन्टार ठाउँमा डाक्टर हुने कुरै भएन । मैले त्यहाँका अहेबसँग नै सबै चाहिने सूचना लिएँ ।

श्रृंगाबाट निक्लने क्रममा बाटामा रहेका गाउँ र त्यसका छेउमा रहेका केही घरमा क्षयरोगको अवस्था र घरपरिवारमा रोगी संख्या आदि इत्यादिबारे सोधखोज गर्दै गएँ । एउटा घरबाट एक जना दिदी निक्लिइन् । तलदेखि माथिसम्म मलाई हेरेपछि, र म काठमाडौंबाट आएको थाहा पाएपछि च्याठ्ठिँदै ‘ए तपार्इं कता काठमाडौंको ? काठमाडौंका मान्छे त छ्या, कस्ता अधर्मी घमण्डी, छेवैमा कोठामा बस्ने (डेरा गरी बस्ने) कहाँ गए भनी सोद्धा नि था छैन भनेर ढोका लाउँछन्, एक घुटको पानीसम्म किनेर खानुपर्ने, अनुहार मात्र पाउडर हो कि के जाति दलेर राम्रा मन त साह्रै कालो, छि म त कुरा नगर्नै’ भन्दै मास्तिर उक्लिइन् । मलाई अक्क न बक्क परेको देखेर सँगै गएका मेरा देवर गलल हाँसे ।

जे होस् त्यो खालको व्यवहार उहाँबाट मात्र भयो अरूले सोधेका जवाफ दिए । मेरो अनुसन्धान पत्र बुझाइयो । हुनत ती महिला दिज्यूका झर्काइलो जवाफले मेरो कम्पारा नतातेको भने होइन, न त तत्कालीन समयमा घुँडाघुँडासम्म धुलाम्य बाटामा वर्षाैंसम्म हिँडेर हैरान भएको मैले ०२१ सालमा खनीखोस्री तयार भएको गुल्मी तम्घास बाटो अहिलेसम्म पिच किन भएन ? किन नगरेको भन्दै गुल्मीका तत्कालीन एलडिओ, स्थानीय स्वास्थ्यकर्मी, बुद्धीजीवी तथा कथाकथित नेता द्वय पन्थी र ज्ञवाली थरका सांसदहरूलाई ठाडो प्रश्न गर्दै एक साप्ताहिक पत्रिकामा (अहिले नाम बिर्सेंं) लेख प्रकाशित समेत गरिसकेको प्रसंग संझिदा थुक्क किन गरेँ भन्ने पछुतो नलागेको पनि होइन ।

अझ काठमाडौंमा डेरा गरी बस्ने वल्लो र पल्लो कोठाका डेरावालहरू पनि विविध जिल्लाकै बासिन्दा हुने वास्तविकता, उनीहरू बीचको सम्बन्ध, खिचातानी, आप्mनै काम व्यवसायको व्यस्तता आदि इत्यादिका कारण कसैसँग बोल्न वा घुलमिल हुन नचाहने, अझ थप नदेखे चोरेर लाने र देखेमा डेरा खोज्न आएको वा डेरावाललाई खोज्न आएको बहानामा घरभित्र छिर्ने कारण पनि समस्या छ । चोरीचकारीकै कारण हैरान भएका ती डेरावालका मनोविज्ञान नबुझेका ती गुल्मी निवासी सिधासाधा दिज्यूलाई कसरी बुझाउने त्यो छोटो समयको भेटमा । थप कुरै नगरी हिँडेका उहाँलाई मैले बेलिविस्तार लगाउने मेरो बल बुतामा परेन । जे होस् त्यसपछि ०६० सालसम्ममा म गुल्मी जानेआउने क्रममै गुल्मी तम्घासको बाटो ग्राभेल भयो र बस भाडा पनि सय रुपैयाँले कम भयो ।

हो अचेल पनि मजस्ता रैथानेको मन अझै र सधँै दुख्ने गर्छ, ‘छया काठमाडौं’ भन्दा बोल्दा र व्यवहार गर्दा । १५ लाख नेवारको जनसंख्या छ नेपालको जनसंख्यामा । त्यसको धेरै भाग काठमाडौंका स्थानीय वासिन्दा छन् रैथाने नेवारहरू । भएभरका निजी र गुठी जग्गाहरू विभिन्न्न बहानामा अधिग्रहण गर्ने मिच्ने परम्परा राज्यसरकारदेखि कथित सुकुम्बासीबाट हुने परम्परा कायमै छ । पशुपतिको ग्वलको वस्ती होस् वा गुठी संस्थानले हडपेको राजगुठी लगायतका गुठी जग्गा होस्, चाहे विष्णुमती र वागमती धोवीखोला लगायतका नदी किनार र तीर्थ घाट होस् तीसँग जोडिएका नेवार लगायतका संस्कृतिहरू अहिले क्रमशः धरापमा पर्दै लोपोन्मुख अवस्थामा छ ।

ती त्यस्ता भूमिहरू र त्यसको आम्दानीबाट चल्ने नेवार लगायतका गुठी पूजा जात्रा लगायतका नेवा सभ्यताका धरोहरहरू क्रमशः धरापमा पर्दै गएको छ । अझ ती खुल्ला हरियाली र खेत खलिहानका कारण जम्मा भएका पानीले बनेका पोखरी तथा मुहानहरू प्छिल्ला दिनमा विविध भौतिक संरचना र कंक्रिटका कारण भएभरका पानीका मुहान तथा ढुंगेधारा सबै सुकेर विगत २६ वर्षदेखि मेलम्चीको आसमा त्राण सुकाइरहेका काठमाडौंवासीहरूका मन र मुखहरू गाली बर्साउन कति हुरहुरिएका होलान् भेउ पनि छ ?

हरेक देशका उन्नति त्यस देशको सभ्यता र त्योसँग गाँसिएको संस्कार संस्कृति परम्पराले धानेको हुन्छ । विगतमा हाम्रा अग्रजहरूले दीर्घकालीन सोच राखी काठामाडौंको सभ्यता बनाई ती सभ्यता जोगाउन विभिन्न गुठी संस्कार र संस्कतिको विकास गरेका थिए । भक्तपुरका मेयर सुनील प्रजापतिको भनाइ छ ‘म सर्वप्रथम यहाँको साँस्कतिक सम्पदा र त्योसँग गाँसिएको संस्कृतिलाई जोगाउन र विकास गर्न केन्द्रित हुन्छु, किनकी मैले आम्दानी गर्ने भनेको भक्तपुरमा प्रवेश गर्ने पर्यटकलाई यही सम्पदाको सौन्दर्य बेचेर हो ।’ विगत पाँच वर्षदेखि अमेरिकामा अध्ययन गर्दै गरेका प्रवेश अमात्य भन्छन्, ‘म संसारका नामुद सहर घुमिसकेँ तर काठमाडौंको जस्ता बलियो सभ्यता र वास्तु कहीँ भेटिनँ ।’

राजनीति शास्त्र र वातावरण विज्ञानका ती विद्यार्थीको तर्क छ ‘काठमाडौंको नेवा सभ्यतासँग गाँसिएको संस्कृतिले यहाँको भूमि, जलसम्पदा लगायतका वातावरणका विविध ‘ज’लाई जोगाउन र पुनर्जीवित गर्न सघाएको छ’ । जीव विज्ञानका विद्यार्थी प्रतिक्षा श्रेष्ठ भन्छिन्, ‘हाम्रो पुस्ताको अधिकांश समय अध्ययनमा नै व्यतित भयो । काठमाडौंका जात्रा, पर्व संस्कृतिको खास आश्वादन गर्न हामीले पाएनाैं । यदि, तपार्इंहरूको जमातले यसलाई लिपिवद्ध गरिदिए हाम्रो पुस्ता र भविष्यका पुस्ताले अध्ययन र त्यसलाई व्यवहारमा उतार्ने मौका प्रशस्त हुनेछ ।’

अन्त्यमा एक रैथाने आदिवासी जनजाति नेवारको हैसियतले मेरो आग्रह छ । आमसञ्चारमा अचेल पढ्न पाइने कहिले ‘काठामाडौंमा मधेसी भनेपछि घरबेटीले नि हेप्छन्, पहाडीयाहरूले मधेसलाई विभेद गर्छन्, काठमाडौंकाहरू स्वार्थी घमण्डी हुन्छन्, हामी डेरामा नबसे काठमाडौंका भोकै मर्छन् जस्ता नकारात्मक लेख समाचारहरूले हामी काठमाडौंवासीलाई ‘छि’ काठमाडौं बाहिरका भन्न बाध्य पार्छ ।

वास्तवमा काठमाडौं मिनि नेपाल हो । सातै प्रदेशका सबै अटाउने विविध जातजाति, भूगोल र भाषाभाषिको आश्रय र अन्नदाता हो काठमाडौं । काठमाडौंका तिँख्योः (टुंडी खेल), बागमती विष्णुमती न्हु पुखु (रानीपोखरी) लगायतमा ल्होसार, ड्यौडा नाच, गौरापर्व, छैठपर्व (छठपर्व) लगायत संस्कृतिलाई यहाँको नेवाः लगायतका विविध संस्कृतिवालहरूले समेत स्वागत र स्वीकार गरिरहेका छन् तीँख्योः जस्तै खुल्ला हृदयले । तसर्थ यी सब तथ्य नबुझेर ‘छि’ काठमाडाैं नभनौँ ।

प्रतिक्रिया