‘युरिया मल कहिले पाइन्छ ?’

कैलाली । टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएनन् । मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको संकट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका छन । कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीले जानकारी दिए । ‘दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ’, उनले भने, ‘बर्दिया गएर मल ल्याए तर त्यतिले पुग्दैन ।’

टीकापुर–७ सत्तीका धना तिमिल्सिनाले पनि युरिया मल पाएकी छैनन । मलकै लागि धनगढीसम्म बारम्बार सोधपुछ गर्दा पनि मल नपाएपछि दिक्क छिन । अहिलेसम्म युरिया मल पाइने सम्भावना नदेखिएको उनको गुनासो छ । धान उत्पादन बढी लिन किसानलाई मल, सिँचाइ अनिवार्य चाहिन्छ । ‘मल नपाए यस वर्ष धान उत्पादन घट्ने निश्चित हो । उत्पादन घटे परिवारलाई वर्षभरि खानै पुग्दैन’, तिमिल्सिना भनिन, ‘देशभित्र युरिया मल छैन भने सीमापारिबाट भए पनि ल्याउने व्यवस्था मिलाउनु आवश्यक छ । अघिल्ला वर्ष हामी भारतबाट मल ल्याउँथ्यौँ ।’ धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा बर्दिया र कैलालीका सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ । किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानको माग छ । धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानलाई मात्रै समस्या नभई कृषि क्षेत्रमै असर पार्छ । समयमै सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग छ ।

सहजताको लागि टीकापुर नगरपालिकाले विभिन्न तह र निकायसँग समन्वय गरिरहेको टीकापुर नगरपालिकालका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए । ‘मल अभावमा किसानलाई सास्ती भएको छ’, नगर प्रमुख रावल भने, ‘हामीले धेरैतिर पहल गरेका छौँ, हाम्रो काम समन्वय र पहल गर्ने हो, मल नपाए उत्पादनमा कमी मात्र नभई किसानलाई दुःख भएको छ ।’ कृषि उत्पादन बिना विकासका कार्यसमेत प्रभावित हुने भएकाले अहिले किसानको समस्याबारे समन्वय भइरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनले भने, ‘किसानलाई सहजताका लागि अन्य व्यवसायीरुपमा आउने सामानसरह व्यवहारिकरुपमा किसानलाई मल ल्याउनको लागि पहल भइरहेको छ ।’

कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कृषि सामग्री कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । तत्काल कतैबाट मल ल्याउने सम्भावना नरहेकाले साउनको अन्तिम सातासम्म मात्र युरिया मल आउन सक्ने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । – रासस

प्रतिक्रिया