कविता

तेजविलास अधिकारी

ब्वाँसोले पनि कन्याएरै
दिलाएर आनन्द
जोहो गर्छ आफ्नो खानाको
चेतना भएर पनि
अतिशय विश्वासमा
थाहै नपाइ पटक्कै
हुस्सु भएर
गुमाइसक्दा पनि स्वत्व
मित्र मानेर ब्वाँसोलाई ।
अनेक स्वभाव छ
सत्ताको जो
दिलाउँछ मीठो आश्वासन

पटकैपिच्छै
मारिरहेछ पाकेट जनको
तैपनि
म र
म जस्ता
सुन्दै शब्द संगीत
मेरो व्यवस्था भन्दैछौ
अवस्था झन् चौपट्ट हुँदा पनि
भनिरहेछौ एकैचोटि कसरी होस्
बनाउँछु भन्नेहरू
बनिसके
बनिसकेकाहरु गन्हाइसके
तैपनि खोइ ?
हामी किन हो ?
ब्वाँसोको मदले
लठ्ठ भएको जीवजस्तै
सत्तामैत्री बनी
पछ्याउँदै
लिइरहेछौ
स्व–अस्तित्व नामेट पार्ने
ब्वाँसोको कन्याइको
अभूतपूर्व आनन्द ।

चितवन ।

प्रतिक्रिया