साउन १५ र हाम्रो खिर खाने चलन

भक्तपुरको महालक्ष्मी मन्दिरमा पाइएको अभिलेखमा लिच्छिवी राजाहरूले साउनमा देवीलाई खिर चढाउने गरेको उल्लेख छ । वर्षायाममा चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने कारण तातो र तागतिलो पदार्थ खानुपर्छ । दूधमा हुने तत्व र धेरैबेर पकाउँदा बढ्ने गुणका कारण मानव शरीरलाई ज्यादै फाइदा पु¥याउँछ

नेपाल चाडपर्व धेरै भएको देश हो । यहाँ सबै जातजाति, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरू मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दही, मासु, खिचडी, सेल, घिउचाकु, दही चामल, दही चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यी सबै चाडपर्व मनाउँदाका आआफ्नै विशेषता छन् । त्यसै गरी प्र्रत्येक वर्ष साउन १५ मा खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरूले हाम्रो देशमा यसरी नै संस्कृतिलाई जोगाइराखेका छन् ।

यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ । हाम्रो देशको संस्कृति भनेको विश्वको नमुना हो । यस्तो संस्कृति कतै पनि छैन । तर, अब भने यसको जगेर्नाको पाटो ठूलो कठिनाइ छ । यसमा आमजनताको चासो रहन आवश्यक छ । साउन १५ लाई देशैभर खिर खाने दिनको रूपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि खिर एक उत्कृष्ट खाना हो । आयुर्वेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । यसदिन खिर खाएमा शुभ हुने मान्यता रहेको छ । यस महिनामा वर्षा हुने र विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनका लागि खिर खाने चलन रहेको पाइन्छ ।

खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान् नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । गर्मी महिना भएको कारणले शरीरमा दाद, खटिरा, घाउ, लुतोजस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यी यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दूध र दूधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।

गाउँघरमा मिठो मसिनो कमै खाइने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरीरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यी सब कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरूले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आमनेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने गरी कम्तिमा वर्षको एकदिन भए पनि खानुपर्ने गरी चाडपर्वको व्यवस्था भएको पाइन्छ । वैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ ।

आजभोलि सबै किसिमका खानेकुराहरू सबै समयमा पाइने भएता पनि त्यसको सही उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ । त्यसकारण पहिलेपहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनका लागि लाभदायक भएकोे देखिन्छ । आजकाल चाडपर्व फेसनको रूपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाइहरू मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दूधको खपत पनि अरू दिनको तुलनामा लगभग चार गुणा बढी हुने गर्दछ । दैनिक उत्पादनको दूधले नपुग्ने भएकोले डेरी उद्योगहरूले दुई÷चार दिन अगाडिदेखि नै दूध भण्डारण गरी राख्ने र नपुगेमा धुलो दूध मिसाएर बजारमा लाने गरिन्छ ।

यसपटक भने कोरोना भाइरसका कारण यसको महत्व कम देखिएको छ । आममानिसहरू विगत ११ चैतबाट लक डाउनमा थिए । भर्खर यही ७ साउन रातीबाट लक डाउन खुलेको छ । लक डाउन खुले पनि कोरोनाको प्रकोप भने त्यति घटेको छैन । त्यसैले धेरै मानिसहरू आआफ्नो काम छोडेर गाउँघरतिर गएकाले गत वर्षको जसरी यसपटक मनाइने छैन । यो माहामारीका कारण सहरमा होटल, रेस्टुरेन्ट, स्कुल, कलेज, पार्टी प्यालेस, क्यान्टिन आदि सबै बन्द भएका कारण दूधको खपत पनि कम छ ।

आजभोलि खपत कम भएकोले यसपटक पहिलेपहिले जस्तो दूध त्यति नपुग हुने छैन । आशा गरौँ यसपटक सबै ठाउँमा आवश्यक मात्रामा दूध सहजै उपलब्ध हुनेछ । यसरी हामी आमनेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भब्य रूपमा मनाउँदछौँ । हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरी हाम्रा भावी पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सही तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन मद्दत पुग्नेछ । हामीले अरू देशको धर्म संस्कृतिको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतिलाई भुल्न हुँदैन ।

तर, साउन १५ मै खिर खाने चलनचाहिँ कसरी चल्यो होला ? वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने महिना, साउन । प्रशस्त घाँस हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन् । प्रशस्त दूध भएपछि उपयोग त गर्नैप¥यो । मुखको स्वाद फेर्न, असारभरि र साउनको आधाआधीसम्म खेतबारीमा खट्दा लागेको चिसो भगाउन पनि खिर खाने चलन चलेको हुनसक्छ ।

दूध, अझ स्थानीय गाईका दूधलाई नेपाली संस्कृतिमा पवित्र मानिन्छ । देवतादेखि पितृसम्मको मनपर्ने वस्तु मानिन्छ दूध । यो नचढाई कुनै पनि देवकार्य पितृकार्य सम्पन्न हुँदैनन् । साउनमा रुद्री लगाउने चलन छ । रुद्री गर्दा गाईको दूधद्वारा भगवान् शिवलाई अभिषेक गर्ने चलन छ । साउनमा पितृलाई चढाउने ब्राह्मणलाई खुवाउने रूपमा खिर खाने चलन चलेको अनुमान गर्न सकिन्छ । पहाडतिर साउनमा रुद्री लगाउने, ब्राह्मणलाई बोलाएर खिर खुवाउने चलन थियो पहिलेपहिले । औँसी वा पूर्णिमाजस्ता तिथिमा गरिने यस्ता कर्म पछि गतेमा सरेका हुन सक्छन् ।

लिच्छवीकालका अभिलेखमा मन्दिरहरूमा खिर चढाउने र प्रसादका रूपमा खाने चलन पाइएको छ । करिब एक हजार वर्ष पुराना अभिलेखमा मन्दिरमा खिर चढाइएको र चाडपर्वमा समेत यसको प्रयोग भएको उल्लेख पाइन्छ । भक्तपुरको महालक्ष्मी मन्दिरमा पाइएको अभिलेखमा लच्छिवी राजाहरूले साउनमा देवीलाई खिर चढाउने गरेको उल्लेख छ ।

वर्षायाममा चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने कारण तातो र तागतिलो पदार्थ खानुपर्छ । दूधमा हुने तत्व र धेरैबेर पकाउँदा बढ्ने गुणका कारण मानव शरीरलाई ज्यादै फाइदा पु¥याउँछ । आयुर्वेदमा अन्य पदार्थ ‘यो समय खान हुने, यो समय नहुने’ उल्लेख गरिए पनि दूधलाई त्यस्तो बन्देज लगाइएको छैन । अर्थात् दूध बाह्रै महिना खान सकिन्छ ।

प्रतिक्रिया