भलाकुसारी लामोः ‘एजेण्डा नीति कि व्यक्ति’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको शक्ति बाँडफाँडको विवाद युद्धविराम जस्तो अवस्थामा रहेको छ । मुख्य तीन गुट रहेको नेकपामा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास चलिरहेको छ ।

विगतमा प्रचण्ड गुटसँग माधव नेपाल गुट नजिकिदा दुई पक्षमा निक्कै तनाव उत्पन्न भएको थियो । सो गुटले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजिनामा माग गरेपछि पार्टी नै विभाजनको संघारमा पुगेको थियो । तर, स्वयम नेकपाका नेताहरु अहिले भने पार्टी विभाजनबाट रोकिएको बताउदै आएका छन् । जारी स्थायी कमिटीको बैठक पटक पटक सारेर दुई अध्यक्षलाई विवाद मिलाउन जिम्मा दिएको छ ।

ओली र प्रचण्डबीच यसबिचमा ६ पटक एक्लाएक्लै (वान अन वान) भलाकुसारी भईसकेको छ । तर, ठोस सहमति भने नबनेको नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच सबै नेतालाई कसरी समान रुपमा पद बाँडफाँड गर्ने भन्ने मै केन्द्रीत रहेको छ । विशेष गरी प्रचण्ड एकल निर्णय गर्न सक्षम नभएकाले सहमतिमा ढिलाई भईरहेको बताइएको छ ।

नेकपा नेता हरिबोल गजुरेलका अनुसार प्रचण्डले नेपाल पक्षसँग पनि छलफल गर्नुपर्ने भएकाले सहमति सोचे जसरी बन्न नसकेको स्विकार गर्दछन् । ‘पार्टीभित्र बनेका समिकरणले पनि समस्या परिरहेको छ । समिकरण नबनाउन मैले पहिला पनि सुझाव दिएको हो’, नेता गजुरेलले भने, ‘हिजो दुई जना बसेर समाधान खोज्न सक्नुहुन्थ्यो । तर, अहिले आफ्ना समिकरणमा छलफल गर्नुप¥यो । समिकरण बनेको कारणले अप्ठेरो भएको छ ।’

पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बुधबार मध्याह्न १२ बजेबाट सुरु भएको भेटवार्ता झण्डै साढे दुई बजेसम्म चलेको थियो । तर, वार्तामा कुनै सहमति नबनेको बताइएको छ । नेताहरुका अनुसार दुई अध्यक्षबीच भईरहेको वार्ताका विषयमा कुनै पनि जानकारी बाहिर नल्याउने भद्र सहमति बनेको छ । ‘वार्तामा के हुन्छ, त्यो एकैपटक थाहा हुन्छजस्तो छ, बाहिर प्रगतिबारे नबताउने समझदारी भएको छ’, एक नेताले भने ।

बुधबारको वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए । बुधबार दुई अध्यक्षको छलफलको अन्त्यतिर पार्टी महासचिव पौडेल र जनार्दन शर्मालाई बोलाइएको थियो । छलफलमा विशेषगरी नेताहरुको पद बाँडफाँड नै अहिले मुख्य रुपमा अगाडी ल्याइएको छ । स्थायी कमिटी बैठकमा गतिरोध देखा परेपछि असार २१ गतेबाट दुई अध्यक्ष र केही नेता सम्मिलित गरेर पटक पटक वार्ता भईरहेका छन् ।

दुई अध्यक्षको कुराकानी सौहार्दपूर्ण वातावरणमा भए पनि निचोड निस्कन बाँकी रहेको महासचिव पौडेलले बताए । ‘दुई अध्यक्षबीच कुराकानी सौहार्दपूर्ण वातावरणमा भयो । कुराकानी जारी छ,’ उनले भने, ‘भोलि(विहिवार) पनि कुराकानी हुन्छ । उहाँहरू निचोडमा पुगिसक्नुभएको छैन । सहमतिका लागि प्रयास जारी छ ।’ महासचिव पौडेलले दुई अध्यक्षको छलफलले पार्टीभित्र देखिएका विवाद समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

विवादका कारण नेकपा स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिको प्रयासका लागि गत असार १८ गते स्थगित गरिएको बैठक पटक–पटक स्थगित भइसकेको छ । अर्को बैठक साउन २ गतेका लागि डाकिएको छ । सो बैठकपनि बस्ने नबस्ने अन्यौल कायमै रहेको छ ।

प्रतिक्रिया