प्रदेश १ मा विधेयकमाथि दफावार छलफल

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसायका’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विषय समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९१ (१) (ख) बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियताले सो प्रस्ताव सभामा पेश गरेका थिए । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मौसम विज्ञान विभागले मौसम सम्बन्धमा दिएको सूचनाका आधारमा प्रदेश सरकार पूर्ण तयारी अवस्थामा रहेको बताए । उनले असार २४ गतेदेखि परेको अविरल वर्षाबाट जनधनको क्षति हुन नदिन प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरीलाई सर्तक भएर बस्न निर्देशन दिइसकेको जानकारी दिँदै आज बिहान २ः०० बजे सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरो परेर पूर्णरुपमा क्षतिमा भएका ९ घरपरिवारलाई उद्धार तथा राहतका लागि सुरक्षा टोली परिचालन गरिसकेको जानकारी दिए ।

उनले घटनाका सम्बन्धमा थप सूचना संकलन भइरहेको र एकजनाको उद्धारका क्रममा मृत्यु भई ११ जना बेपत्ता रहेका बताए । मन्त्री कार्कीले सुनसरी, मोरङ, झापा, भोजपुर, ओखलढुङ्गालगायतका जिल्लाका बाढी र पहिराका कारण जोखिममा परेका विवरण प्रस्तुत गर्दै बाढी र पहिरामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिने बताए ।

उनले विपद् हाम्रो साझा समस्या भएकाले यसलाई समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने भन्दै सरकारको पूर्वतयारीकै कारण बाढीबाट तराई र पहाडका जिल्लामा क्षति कम भएको जानकारी दिए ।

प्रतिक्रिया