नेकपा विवादः सांसदको हस्ताक्षर अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता अन्यौलमा परेसँगै सांसदको हस्ताक्षर अभियान चलाउन शुरु गरिएको छ ।

अभियान केही दिन अगाडीबाटै चलाइएपनि यसको पुष्टि भने दोस्रो तहका नेताको विहिवार भएको बैठकले गरेको छ । प्रधानमन्त्री ओली समर्थकले सडकमा जुलुस निकाल्ने र प्रचण्ड समुहले सांसदको हस्ताक्षर अभियान चलाउने गरेको कुरा उठेको हो । ति नेताका अनुसार संसदीय दलका सचेतक देव गुरुङले सांसदलाई सिंहदरवारमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाईरहेका छन् । अहिलेसम्म पूर्व माओवादीबाट चुनाव जितेका केही सांसदले मात्र हस्ताक्षर गरेको उनले खुलाए ।

एक सांसदका अनुसार सो हस्ताक्षर के प्रायोजनका लागि हो भनेर खुलाइएको छैन । तर, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनका लागि दवाव दिने उदेश्यले चलाइएको बताइएको छ । यसअघिको विवादमा पनि यस्तै हस्ताक्षर संकलन दुवै पक्षले गरेका थिए । कसैको पनि पक्षमा बहुमत नपुगेपछि त्यो त्यसै तुहिएको थियो । अहिले पनि सो अभियान त्यसरी नै तुहिइने नेताहरुको दावी छ ।

प्रचण्डसहितका नेताको आग्रहमा सडकमा भईरहेको ओली समर्थकको प्रर्दशन रोक्न माग गरेपनि त्यो निरन्तर भईरहेको छ । तर, विहिवार भने कुनै पनि प्रर्दशन भएका छैनन् । प्रचण्डले आफुहरुको आग्रह नमानेको भन्दै असन्तुष्टी व्यक्त गरिरहेका छन् । पार्टी फेरी विभाजनमा जाने हो कि भन्ने आशंका जन्मिएपछि दोस्रो तहका नेताहरु एकजुट भएका छन् ।

सिंहरदवारस्थित कृषि मन्त्रालयमा विहिवार भएको बैठकले शिर्ष नेतालाई स्थायी कमिटी बैठक स्थगित गरेर भएपनि सहमति जुटाउन आग्रह गरेका छन् । उनिहरुले सडकमा भईरहेको प्रर्दशन र सांसदको हस्ताक्षर अभियान भने तत्काल रोक्न दुवै पक्षसँग माग गरेका छन् । ‘हामीले सडकमा प्रधानमन्त्रीको पक्षमा भइरहेको प्रदर्शन रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्ने समझदारी गरेका छौं’, छलफलमा सहभागी एक नेताले भने, ‘अहिले भइरहेको भनिएको हस्ताक्षर संकलन पनि रोक्नपर्ने हामीले समझदारी बनायौं ।’

छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी थिए । सो समझदारीलाई कृषिमन्त्री भुसालले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई र खुमलटार पुगेर प्रचण्डलाई बुझाउने छन् ।

प्रतिक्रिया