चार दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौ । बिहीबारदेखि मनसुन थप सक्रिय भएका कारण बिहानैदेखि देशभरको मौसम पूर्ण रुपमा बदली भई धेरैजसो स्थानमा पानी परिरहेको छ।

आजदेखि चार दिनसम्म देशभरको मौसम बदली भई भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार प्रदेश एक, दुई र पाँचका केहि स्थानमा भारी वर्षा भएको छ।

विभागका अनुसार विशेषगरी यी प्रदेशका तराई क्षेत्रमा धेरै पानी परिरहेको छ। आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पर्ने छ ।

यसैबीच गृह मन्त्रालयले आजदेखि चार दिन सम्म देशभर भारी वर्षा भई बाढी पहिरो र डुबानको जोखिम हुने भएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ती आज गरेर आजदेखि यस वर्षकै ठूलो वर्षा हुने जनाएको छ। प्रिमनसुन सुरु भएदेखि नै परेको पानीले पहाडी भेगको जमिन गलेकोले पहिरोको उच्च जोखिम रहेको र अधिकाश नदि तथा खोलामा पानीको सतह सतर्कता तहभन्दा माथि पुग्ने भएकाले मन्त्रालयले सजग रहन भनेको छ। यद्यपी मौसम पूर्वानुमान महाशाखाले मनसुन अझै बाँकी रहेकाले अहिले हुने वर्षालाई नै वर्षकै सवैभन्दा ठूलो वर्षा भन्न नमिल्ने जनाएको छ।

प्रतिक्रिया