कोरोना संंक्रमण घट्दो

काठमाडौं । नेपालमा कोरोना संक्रमण संख्या र दर पछिल्लो समय घट्दै गएको छ । केही समय पहिलो कोरोना संक्रमण देखिए यताकै सबैभन्दा ठुलो सख्या र दरमा संक्रमित भेटिएका थिए ।

असार १९ गते मात्रै ७४० जनामा एकैदिन संक्रमण देखिएको थियो । तर, यो संख्या पछिल्ला केही दिनमा घट्ने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा संक्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । कोरोना संक्रमण भएर आइसोलेशनमा बसिरहेकाको संख्या पनि घट्दो रहेको छ । असार १९ गते नयाँ पोजेटिभको सख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र मंगलबार २०४ अर्थात् ३.३ प्रतिशत नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै आइसोलेशनमा उपचाररत संक्रमितको संख्या पनि घट्दै गएको छ । असार १९ गते आइसोलेशनमा कूल नौ हजार ८४ संक्रमित उपचारत रहेकामा २० गते नौ हजार ४२, २१ गते नौ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते आठ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी संक्रमित आइसोलेशनमा उपचाररत रहेको उनले जानकारी दिए ।

पिसिआर परीक्षणमध्ये कूल संक्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए ।

कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको सख्या पनि बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल संक्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितको संख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै मंगलवार अपरान्हसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमले काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका ४ र ललितपुरका १० जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया