प्रदेश सरकारका योजनाहरुको काम सन्तोषकजनक

कालिकोट । आर्थिक वर्ष २०७६–०७७ मा कर्णाली प्रदेश सरकारद्वारा कालिकोटमा सञ्चालित आयोजनाहरु नमुना बन्दै गएका छन् । कर्णाली प्रदेश सरकारका सदस्य कुर्मराज शाहीको निर्वाचन क्षेत्र १ (क) का सम्पुर्ण योजनाहरुको काम सन्तोषजनक छ भने कतिपय योजनाहरु नमुना बनेका छन् । खाँडाचक्र नगरपालिका– ५ दाहाँ फतगाउँमा रहेको चुलिमालिका माविको क्षेत्र जिल्लाकै नमुना बनेको हो ।

पहिला देखि नै नगरपालिकाले रकम विनियोजित गरी उक्त क्षेत्रको काम सूचारु गरेको थियो । तर रकम अपुगले फिल्डको काम भने सम्पन्न हुन सकेको थिएन । खाँडाचक्र नगरपालिका– ५ का वडाध्यक्ष खडानन्द चौलागाँईले भने, ‘रकम अपुग हुँदा कुर्मराज शाहीलाई क्षेत्र निर्माणमा २० लाख रकम आवश्यक परेको छ, सहयोग गर्नुपर्ने भयो भन्दै हारगुहार गरेर रकम विनियोजन भयो, त्यसैकारण अहिले जिल्लाकै नमुना क्षेत्र बनेको छ ।’

उक्त क्षेत्रमा कुनै कमि कमजोरी नदेखिएको अनुगमन समितिका संयोजक एवं कुर्मराज शाहीका स्वकिय सचिव अम्मराज सेजुवाले (आयुस) ले बताए । यस्तै, जिल्लाको शुभकालिका गाउँपालिका– ८ मा सञ्चालित महादेव मन्दिरसम्मको पदमार्ग पनि निर्वाचन क्षेत्र नं. १ (क) को नमुना बनेको छ । २० लाख रकममा बनेको पदमार्गको काम भने पुर्णरुपमा सम्पन्न भइसेको कुर्मराज शाहीका पुर्वाधार विशेष प्रतिनिधि लक्ष्मण बहादुर शाहीले बताए ।

उनले भने, ‘कालिकोट निर्वाचन क्षेत्र नं. १ (क) का सम्पूर्ण योजनाहरु अनुगमन भइसेका छन्, कतिपय योजनाहरुको काम भने असार अन्तिमसम्म सकिनेछ ।’ जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिका भित्रका विभिन्न योजनाहरुको अनुगमन तीव्र गतिमा चलिरहेको छ ।

सडक, भवन, सिचाई कुलो, खानेपानी लगाएतका योजनाहरुको काम सम्पन्न भइसकोको छ भने केही योजनाहरु अवको केही दिनमै सकिने स्वकिय सचिव सेजुवाले जानकारी दिए । उनले भने, ‘माननिय शाहीको निर्वाचन क्षेत्रमा सञ्चालन भएका योजनाहरु गत वर्षको भन्दा यस वर्ष राम्रो काम भएको र सन्तोष जनक छन्, सडक निर्माण र भवन निर्माण कार्य असार मसान्त भित्र सकिनु पर्नेमा कतिपय ठाउँका भौगोलिक कठिनाइका कारण सन्पन्न हुन सकेका छैनन् ।’

आधा काम भएर मेसीनमा देखिएका खरावीले काम सुरु हुन नसकेको उपभोक्ता समितिले बताउँने गरेका छन् । तर, असार मसान्त भित्र ति काम सक्नु पर्छ भन्ने आँट लिएर उपभोक्ता काममा व्यस्त देखिएका छन् । प्राविधिक स्टेमेट अनुसार हुनुपर्ने कामहरु भौगोलिक विकटताले गर्दा केही चुनौती भने आएका छन् । असारभित्र कार्य सम्पन्न हुनेगरी गरिएको सम्झौता हेर्दा केही योजनाहरुको सम्झौता अनुसार काम भएको छैन । सकिनु पर्ने कामहरु नसकिँदा भने रकम खेर जाने सम्भावना धेरै छ ।

कर्णाली प्रदेश सरकारका सदस्य कुर्मराज शाहीका स्वकिय सचिव अम्मराज सेजुवालको संयोजकत्वमा रहेको अनुगमन समितिले निरन्तर अनुगमन गरिरहेको छ । राम्रो कामलाई राम्रो र नराम्रो कामलाई सुधार्न आग्रह गर्दै अनुगमन समितिले काम सक्न आग्रह गरेको पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले बताए ।

खाँडाचक्र नगरपालिका– ५ तेस्रो बजारदेखि भुलुसम्मको कृर्षि सडक निर्माण उपभोक्ता समितिले भने अझै ६–७ सय मिटर सडक काट्नु पर्ने छ । स्काभेटरको सामान विग्रिएकाले काम चाडो सुरु हुन नसकेको र आधा गरेको कामलाई नै पुर्णता दिन सोमबार साँझदेखि काम थालिएको ठेकेदार कमल शाहीले बताए । खाँडाचक्र नगरपालिका– ५ मा रहेको कृर्षि सडकको काम अवको केही दिनमा सम्पन्न हुने बताइएको छ ।

असारभित्र नै काम सकेर रकम खेर जान नदिने ठेकेदार शाहीको भनाई छ । उक्त सडकको लागि कर्णाली प्रदेश सरकारबाट २५ लाख विनियोजन गरिएको थियो । तिलागुफा नगरपालिकामा सञ्चालित सिँचाई कुलोको पनि निर्माण कार्य अन्तिम चरणमा रहेको छ । कर्णाली प्रदेश सरकारका सदस्य शाहीको विशेष पहलमा निर्वाचन क्षेत्रमा विभिन्न विकासिय योजनाहरुका लागि आर्थिक वर्ष २०७६–०७७ मा ४ करोड, ९५ लाख रकम विनियोजित गरिएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया