गिरी र क्षत्री सम्मानित

काठमाडौं । हास्यव्यंग्य अभिनेता किरण केसी (ए राता मकै) ले जन्मदिनको अवसर पारेर आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कलाकार र पत्रकारलाई सम्मान गरेका छन् । लामो समयदेखि अभिनयमा सक्रिय चरित्रअभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सोमबार एक समारोहका बीच सम्मान गरेका हुन् ।

केसीले दिवंगत आफ्ना हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवंगत हजुरआमा ऋदयकुमारी केसी, दिवंगत बुबा ले.क. दुर्गाबहादुर केसी र दिवंगत आमा इन्द्रकुमारी केसीको सम्झनामा सात वर्षअघि स्थापित सम्मानबाट गिरी र क्षत्रीलाई सोमबार सम्मान गरेका हुन् । साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनयमार्फत नेपाली चलचित्र, टेलिचलचित्र, नाट्य क्षेत्रमा योगदान पु¥याएको भन्दै १० हजार रुपैयाँ राशीसहितको हास्यव्यंग्य कलाकार योगदान सम्मानबाट गिरीलाई सम्मानित गरिएको अभिनेता केसीले बताए ।

‘यस्तै २७ वर्षदेखि रंगपत्रकारितामार्फत नेपाली हास्यव्यंग्यसँगै चलचित्र र कला क्षेत्रमा योगदानसँगै गीतलेखन, साहित्य सृजना र चलचित्र निर्देशनबाट साहित्य, कला क्षेत्रमा योगदान पु¥याएकाले क्षत्री (डम्बरबहादुर बुढाथोकी) लाई पत्रकारिता क्षेत्रबाट १० हजार रुपैयाँ राशीसहित यो सम्मान प्रदान गरिएको हो,’ केसीले भने, ‘जन्मदिनमा मैले मेरा दिवंगत पितृको सम्झनामा ७ वर्षदेखि यो सम्मान एकजना हास्यव्यंग्य कलाकार र एकजना कला पत्रकारलाई नियमित प्रदान गर्दै आइरहेको छु र मेरो शेषपछि पनि यो निरन्तर होस् भन्ने चाहना राखेको छु ।’

उनले कला क्षेत्रमा चरित्र अभिनेत्री गिरी र पत्रकार क्षत्रीले पत्रकारितामा पु¥याएको योगदानका बारेमा चर्चा गरे । मुलुकमा कोरोना संक्रमणको महामारी रहेका कारण विगत जस्तो भव्य समारोह नगरी आफ्नो कार्यालयमै ११ जनाको उपस्थितिमा यो सम्मान प्रदान गरेको अभिनेता केसीले बताए । कोरोनाकै कारण यसपटक जन्मदिनमा आफूले केक नकाटेको र तडकभडक नगरेको पनि उनले स्पष्ट पारे ।

अभिनेता मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अर्थात मह जोडीसँग सहकार्यसँगै अभिनय यात्रा प्रारम्भ गरेका केसी पछिल्लो समय चर्चित कलाकार शिवहरि पौडेलसँग सहकार्य गरी सफल चलचित्र निर्माताको रुपमा समेत स्थापित छन् । सो कार्यक्रममा सम्मानित चरित्र अभिनेत्री गिरीले आफूलाई हाँस्यव्यंग्य कलाकारको रुपमा गरिएको सम्मानले अझै यो क्षेत्रमा थप सशक्त काम गर्ने ऊर्जा मिलेको बताइन् । यस्तै सम्मानित पत्रकार क्षत्रीले आफ्नो कामको मूल्यांकन गरेर सम्मान प्रदान गरिएको आयोजकलाई धन्यवाद दिँदै यस क्षेत्रमा अझ सक्रिय रुपमा लाग्ने प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया