हाल १० हजार सक्रिय कोरोना संक्रमित

काठमाडौं । नेपालमा अहिले कोरोना भाइरस (कोभिड–१९)का १० हजार बढि सक्रिय संक्रमित रहेका छन् । सोमबारसम्म कुल संक्रमितको सख्या १३ हजार नाघेपनि सक्रिय संक्रमितको सख्या भने १० हजार भन्दा केही बढि रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । संक्रमितको कुल सख्या १३ हजार कटेपनि सक्रिय संक्रमितको सख्या भने १० हजार ८५ रहेको छ ।

गत २४ घण्टामा कोभिड–१९ बाट संक्रमित १२१ जना निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज भएका हुन् । कुल संक्रमितमध्ये २९ जनाको निधन भईसकेको छ । जसले गर्दा सक्रिय संक्रमितको संख्या १० हजारको आसपास रहेको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २२ वटा प्रयोशालामा सात हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारेन्टिनमा रहेका व्यक्तिको सख्या ५७ हजार ३६८ पुगेको छ । आइसोलेशनमा रहेका संक्रमित व्यक्तिको सख्या १० हजार ८५ रहेको छ ।

कोरोनाको जोखिम घनाबस्तीमा व्यापक रहेकाले स्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ । प्रवक्ता गौतमले भने, ‘हाल काठमाडौँ उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोभिड–१९ को संक्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ ।’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले कोरोना लागेको छ कि भन्ने डरले घरमै बस्नुभन्दा पनि समयमै परीक्षण गर्न आग्रह गरे ।

प्रतिक्रिया