मुगुमा रोपाइँको रौनक (फोटो फिचर)

मुगु । आज धान दिवस देशभरका किसानहरु धान रोप्नको लागि आफ्ना खेतहरुमा विहानैदेखि व्यस्त रहेका छन् । हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो रहेको छ । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका केही गाउँहरुमाधान रोप्न भ्याइ–नभ्याइ छ ।

लकडाउनका बेला मुगाली किसानहरु सामाजिक दूरी कायम गर्दै रोपाइँ गरिरहेका छन् । खेतमा नाचगान गर्ने, दोहारी, देउडा गीत गाउँदै धान रोप्ने चलन रहेको छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको छायानाथ रारा नगरपालिका–५ का किसान सुनबहादुर विकले बताए ।

पछिल्लो समयमा मार्सीधानको चामलले बजार पाएपछि मार्सी र स्थानीय जातका धान खेतीप्रति यस क्षेत्रकाकिसानको आकर्षण बढेको छ । मुगुमा स्थानीय रातो धान, मार्सी, चन्दनाथ १ र ३ जातको धान खेती गरिन्छ । यो वर्ष गत वर्षभन्दा रोपाइँ छिटो गरिएको छ ।

आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानले यस वर्ष छिटो वर्षा भएकाले रोपाइँ पनि छिटो गरेका हुन् । छिटो धान रोप्दा उत्पादनमा फरक नपर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख पञ्चलाल बुढाले बताए । उनका अनुसार यस वर्ष मुगुमा ८० प्रतिशत धान रोपाइँ सकिएको छ । २० प्रतिशत रोपाइँबाहेक समयमै रोपाइँ सम्पन्न भएको बुढाको भनाई छ ।

रोपाई गर्न गोलाप्रथा

मुगुको एउटा गाँउमा रोपाइँ गर्नको लागि गोलाप्रथा गरिएको छ । छायाँनाथ रारा नगरपालिका– ३ निगाले गाँउका स्थानीयहरुले गाँउ नजिकै रहेको जिउलोमा कस्ले कुन दिन आफ्ना खेतमा रोपाइँ गर्ने भनेर एकआपसमा (चिठ्ठा–गोलाप्रथा) गरेका हुन् ।

खेतमा रोपाइँ गर्नका लागि गत ६ गते नै गोलाप्रथा गरेपनि आज धान दिवसका दिनदेखि आफूलाई पालो परेको र त्यसै अनुसार धान रोप्न सुरु गरेको निगाले गाँउका स्थानीय गोकर्ण रोकायाले बताए ।

जिउलोमा रहेका ३०० बढी खेतहरुमा अगाडि रोपाइँ गर्न गाँउलेहरुले एकआपसमा भीड्ने र गाँउ सानो भएकाले रोपहार, हली र गोरुको अभाव हुने भएकाले प्रतिस्पर्धा ननहुने, जनशक्ति पनि उपलब्ध हुने भएकोले चिठ्ठा हाल्ने गरिएको अर्का स्थानीय जानदेवी रोकायाले बताइन् ।

झगडा हुने क्रम रोकियो

गत ४ वर्ष यताबाट रोपाइँ गर्न चिठ्ठा हाल्न थालिएपछि गाँउलेहरु आफ्नो पालो परेको दिन मात्रै रोपाइँ गर्ने गर्छन । गोलाप्रथा अनुसार रोपाइँ गर्न थालिएपछि रोपहार, खेताला, गोरु र पानीको अभाव हुने गरेको छैन । गाँउलेहरुबीच रोपाइँ कै विषयलाई लिएर झगडा हुने क्रम रोकिएको छ ।

चिठ्ठामा रोपाइँ गर्ने महिना र गते उल्लेख गरिएको हुन्छ । जस्लाई जुन गते तथा महिना पर्छ सोही दिन मात्र आफ्ना खेतहरुमा रोपाइँ गर्नुपर्ने हुन्छ । यस वर्षको चिठ्रठा हाल्ने काम भइसकेको र सोही अनुसार सोमबारबाट निगाले जिउलोमा रोपाइँ सुरु भएको गाँउलेहरु बताउँछन् ।

प्रतिक्रिया