बेसार र मेरी आमा

                         विनोद अधिकारी

बेसार मभन्दा आयुमा जेठो भएरै होला उसले कहिल्यै मसँग परिचय मागेन । किनकि उसले मलाई जन्मँदै देखेछ र चिनेछ । तर, मैले पहिलो पटक साउने झरीमा आमाको पछि लागेर बारीमा घाँस काट्न जाँदा कलिला, नरम टुसाहरू किचिमिची पारेर नास पारेपछि मात्र मेरी आमाले बेसार र मेरो औपचारिक परिचय गराइदिनुभयो । त्यसपछि नास गर्न नहुने वस्तु अनि मानवको एक असल मित्रको रूपमा उसलाई चिनेँ । जतिखेर मैले बेसार चिनेँ त्यतिबेला मलाई न बेसार मनपथ्र्यो न यसको महत्व नै थाहा थियो ।

जब–जब बेसार हुर्कंँदै गयो, म पनि उसँगै हुर्कंँदै गएँ । आमाले मलाई र बेसारलाई उत्तिकै हेरचाह गरेर हुर्काउनुभयो । मैले उसलाई मभन्दा जेठो होला भनेर कहिल्यै ठानिनँ । किनभने उसका कलिला टुसाहरूलाई म सजिलै सिध्याइदिन सक्थेँ । जुन वस्तुमाथि आफूले सजिलै विजय हासिल गरिन्छ त्यो वस्तु वास्तवमा आपूmभन्दा सानो लाग्छ, यो मानवीय स्वभाव पनि हो । तर, बेसारले मलाई कहिल्यै हेपेन र मलाई उसले माया गरेझैँ पनि लागेन । हामी दुवैलाई बराबर माया गरिन् त केवल आमाले मात्रै ।

वर्षा सकिएसँगै बेसारले पनि आफ्नो रुप बदल्दै गएछ र आफ्नो वास्तविक पहिचान दिन सक्षम बनेछ । फागुन महिनाको दिनमा आमाले बारीमा गएर जमिन भित्रबाट खनेर बेसार भन्दै बाहिर निकालिन् । त्यतिबेला मैले चिनेको जस्तो बेसार थिएन । जमिनमा टुसाएको कलिलो टुसासहितको मेरो परिचित बेसारका सट्टा जमिन भित्रबाट उनले बेसार भन्दै पहेँलो–पहेँलो अदुवा जस्तो जरासहितका गानोहरू निकालिन् र भकुण्डो पछारे झैँ माटोमा पछारिन् ।

पहिले आमाले मलाई टुसाहरू किचिमिची पार्न नदिएको बेसार सम्झेर म छक्क परेँ । उनले त्यस गानालाई बेसार भनिदिँदा मलाई आमाको नियतमाथि शंका लाग्यो । मैले रिसाउलिन् भनेर आमासँग कुनै प्रतिवाद गर्न सकिन । किनभने मलाई बेसारको भन्दा आमाको माया बढी थियो । एक दिन भान्सामा आमाले चलाउँदै गरेको तरकारीमा पहेँलो धुलो माथिबाट छरिन् । अनौठो मान्दै मैले जिज्ञासा राखेँ ।

आमाले तरकारीमा बेसारको धुलो राख्ने निकै पुरानो चलन मात्र नभई यसले तरकारीलाई स्वादिलो पार्ने यसको गुणसमेत बताइन् । यही मौका पारेर मैले पहिलो पटक मलाई चिनाएको बेसार, दोस्रोपटक जमिन मुनिबाट निकालेका गानोलाई बेसार भनेर चिनाएको कुरा सम्झाएँ र तात्विक भिन्नता बुझ्ने प्रयास गरेँ । यसपटक आमाले मेरो जिज्ञासालाई निकै महत्व दिँदै बेसारको वालापनदेखि हुर्कंँदै भान्सासम्म आउँदाका हरेक चरणहरू क्रमशः बताउँदै गइन् ।

आमा बेसारलाई बारीमा पनि स्याहार्छिन् र घरमा पनि । मलाई पनि आमा बेसारलाई भन्दा कम स्याहार्दिनन् । आमा साच्चिकै माया–ममताकी खानी हुन्, त्यसैले उनले सबैलाई मायाले भिजाउँछिन् । आमा बारीमा बेसार रोप्छिन्, अनि घरमा माया रोप्छिन् र बारी र घरको सन्तुलन उत्तिकै मिलाउँछिन् । आमाले बालापनमा मलाई प्रष्ट्याएको बेसार अनि मैले मेरो उमेरसँगै बढ्दै गएको अनुभवबाट बेसारको औषधिय गुणहरू पनि बुझ्न थालेँ ।

खसी काटेका बेला त्यसको खुइल्याएको मृत शरीरमा दलिने बेसार, बर्खामा हिलोमा काम गरेका आफ्ना खुट्टाको औँलाहरूका कापमा खाने तेलसँग मिसाएर लगाउने बेसार, वर्षायाममा खेतमा जोत्दा–जोत्दा जुवाले पेलेर पटपटी फुटेका गोरुका काँधमा औषधिका रुपमा लगाउने बेसार, गोरु र बोकालाई सुमर्दा घाउ लागेर संक्रमण नफैलियोस् भनी तेलमा मिसाएर लगाउने बेसार, चिसो लागेर घाँटी दुख्दा तातो पानीमा उमालेर खाने बेसार आदि विभिन्न बेसारका महिमा बताइन् ।

ममा बढ्दो उमेर र बुझाइले आमाले बताएका यी सबै काममा बेसारलाई प्राथमिकता दिइने कारण यसको औषधिय गुण हो । यसले एन्टिवायोटिक्सको काम गरेको हो भन्ने सहज निष्कर्ष निकाल्न खासै समस्या परेन । यसैगरी, बेसारको इतिहास मानवीय सभ्यतासँगै सुरु भएको रहस्य आमाले खोल्दै गइन् र बेसारको पुरानो पुस्ताबाटै नयाँ पुस्ता विकास गर्दै ल्याइने रहस्य बुझाएपछि मलाई बेसारको महिमा, इतिहास र गुणहरूबारे आद्योपान्त थाहा भयो ।

यतिमात्र हैन मैले बेसारलाई अझै बुझ्ने प्रयास गरेँ । हाम्रा प्राचीन शास्त्रहरूमा पनि बेसारलाई औषधिय गुणको एक प्रमुख मानिन्छ । संस्कृतमा हरिद्र नामले चिनिने बेसार यही संस्कृत भाषाको हरिद्र शब्दबाट अपभ्रंश भएर हलेदो नामबाट पनि चिनिने गरेको रहेछ । शास्त्रीय मान्यता अनुसार सात औषधिको मिश्रणबाट तयार गरिने सर्वौधीमा पनि बेसार एक मुख्य औषधिका रुपमा लिइन्छ ।

यसैले वैदिककालदेखि नै उत्तिकै महत्व रहेको बेसारको अहिले महत्व झन् बढ्दै जान थालेको छ । पछिल्लो समय बेसारलाई राजनीति तथा विश्व परिवेशमा फैलिँदै गएको महामारीसँग समेत जोडेर यसलाई हेर्न थालिएको छ । हाम्रो देशका कार्यकारी प्रमुखले नै बेसार कोभिडविरुद्ध लड्न उपयोगी औषधि भनेर चर्चा गरेपछि बेसार अझै लोकप्रिय बनेको छ ।

यसको इतिहास हिन्दु धर्म र मानव सभ्यता अनिविकाससँग जोडिएको छ । सर्वौषधीको गुणले सम्पन्न यसको अर्थ सबै रोगमा औषधि बन्न सक्ने सम्भावना रहेको भन्ने रहेको छ । यसरी नितान्त अग्र्यानिक अनि औषधिय गुणले सम्पन्न रहेको बेसारबारे मलाई प्रष्ट्याइदिने मेरी आमा मेरा लागि ज्ञानकी भण्डार हुन् । भान्सामा बिहान र बेलुकी उनकै साथी बनेको बेसार उपयोगिताका दृष्टिले बहुउपयोगी र सिंगो मानव जगतका लागि हितकारी र गुणग्राही रहेको छ ।

प्रतिक्रिया