वृद्धालाई ठगेको आरोपमा अष्ट्रेलियामा दुई नेपाली युवा युवती पक्राउ

काठमाडौं । ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा अष्ट्रेलियामा दुई नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको जानाइएको छ । अष्ट्रेलिया प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ । समाचारमा जनाइए अनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो ।

फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ । अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा परेकाहरु पीडितहरुको पनि पहिचान भइरहेको छ ।

प्रतिक्रिया