‘खुट्टामा श्रीपेच’ मा प्रतिरोधी आवाज

                  उप–प्रा.डा. चन्द्रमान श्रेष्ठ

खुट्टामा श्रीपेच (२०७५) कवि प्रकाश गुरागाईंद्वारा रचना गरिएका ४२ ओटा कविताहरूको सङ्ग्रह हो । करिब डेढ दशकदेखि कविता साधनामा समर्पित गुरागाईंको यो पहिलो कवितासङ्ग्रह हो । यसभन्दा अघि उन्मुक्त पुस्ताको दलित विषयक संयुक्त कवितासङ्ग्रह आफर (२०७३) मा उनका पाँच कविता सङ्गृहीत छन् ।

पेसाले पत्रकार गुरागाईंका कविता वैचारिक रूपले प्रतिबद्ध र कलात्मक रूपले परिष्कृत रहेका छन् । उनले मूलतः सीमान्तकृत वर्गका मानिसहरूले भोग्नुपरेको उत्पीडन र जीवनसङ्घर्षलाई कविताको विषय बनाएका छन् भने राजनीतिक विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य पनि उनका कवितामा सघन रूपमा आएको पाइन्छ । स्वतन्त्रताको खोजी र प्रतिरोधको आवाज उनका कविताको मूल स्वर हो । सङ्ग्रहको शीर्षक ‘खुट्टामा श्रीपेच’ आफैँमा एउटा राजनीतिक व्यङ्ग्यको सुन्दर नमुना हो ।

यसको शीर्षकले नै एकातिर राजनीतिक विकृति र विसङ्गतिलाई सङ्केत गरिरहेको छ भने अर्कातिर त्यस्तो अवस्थाप्रति व्यङ्ग्य पनि कसेको छ । श्रीपेच मूलतः राजा वा शासकले शिरमा लगाउने वस्तु हो र यो राजकीय सर्वोच्चताको प्रतीक पनि हो । तर कविले यहाँ श्रीपेचलाई परम्परागत अर्थमा मात्र प्रयोग नगरी नवीन अर्थ र सन्दर्भमा प्रयोग गरेका छन् । श्रीपेचले मूलतः राजतन्त्रलाई सङ्केत गर्छ ।

तर, कविले यहाँ श्रीपेचलाई राजतन्त्रको प्रतीकका रूपमा प्रयोग नगरी गणतान्त्रिक युगका छोटे राजाहरूलाई सङ्केत गर्न प्रयोग गरेका छन् । जनताको आन्दोलनका बलमा राजतन्त्रको अन्त्य भयो र राजाले श्रीपेच फुकाल्नुपर्यो । तर गणतान्त्रिक युगमा एक राजाको ठाउँमा हजारौँ राजाहरू जन्मेको विकृत अवस्थाप्रति व्यङ्ग्य गर्न कविले यस्तो बिम्ब प्रयोग गरेका हुन् । शिरमा लगाउनुपर्ने श्रीपेच खुट्टामा हुनु त्यसको मूल्य र महत्व बोध गर्न नसक्नु र गरिमा धान्न नसक्नु हो । जनप्रतिनिधि भएर सिंहदरबार पसेपछि हरेकले आफूलाई श्रीपेचधारी शासक महसुस गर्ने र जनताप्रतिको आफ्नो कर्तव्य भुल्ने गरेको वर्तमान राजनीतिक अवस्थाप्रति व्यङ्ग्य गर्न ‘खुट्टामा श्रीपेच’ शीर्षक सफल रहेको छ ।
सिंहदरबारभित्रको रातो कुर्सीमा
टाउको टेकेर बसेको छ एउटा मान्छे
जो आकाशतिर फर्किएका खुट्टामा लगाउँछ श्रीपेच । (खुट्टामा श्रीपेच, पृ. १५)
शीर्षकले नै सङ्ग्रहभित्रका कविताहरू राज्यसत्ताको सोच, चरित्र र व्यवहार तथा त्यसबाट आहत बन्न पुगेका नेपाली जनताको पीडाको अभिव्यक्तिमा केन्द्रित छन् भन्ने सङ्केत गर्दछ । सङ्ग्रहमा राजनीतिक विषयका साथसाथै सीमान्तकृत वर्गका मानिसले भोग्नुपरेको उत्पीडन र जीवनसङ्घर्ष, पुँजीवादी उपभोक्तावादी संस्कृतिले पारेको प्रभाव तथा जीवनका विविध भोगाइ र अनुभूतिको सुन्दर अभिव्यक्तिका कविताहरू समेटिएका छन् । विविध विषय समेटिएको भए पनि सङ्ग्रहका कविताहरूको मूल स्वर भनेको सीमान्तकृत वर्गका मानिसले भोग्नुपरेको उत्पीडन र प्रतिरोधको आवाज नै हो ।

‘कवितामा विचारको कलात्मक प्रस्तुति हुन्छ’ भन्ने स्वीकार गर्ने गुरागाईं ‘कला कलाका लागि’ भन्ने कलावादीहरूका लागि कविताका माध्यमबाट गतिलो जवाफ दिन्छन् । उनी कवितालाई विचारका माध्यमबाट गरिने राजनीति नै मान्छन् । तसर्थ उनका लागि कविता राजनीतिभन्दा अलग छुट्टै संसारको वस्तु होइन । तर उनको कविताको राजनीति कुनै अमूक राजनीतिक पार्टीका लागि भोट माग्न नभएर भोका, नाङ्गा सीमान्तकृत वर्गको मुक्ति र पहिचानका लागि निर्दिष्ट रहेको देखिन्छ । कविताले राजनीति गर्छ भन्दैमा उनका कविता केवल नारा मात्र बनेका छैनन् । उनका कविता भावअनुकूलका विभिन्न बिम्ब र प्रतीकहरूको संयोजनले कलात्मकसमेत बन्न पुगेका छन् । जस्तै:
एकादेशमा
सुन्दर फूलमाथि पुतली नाचेको
ईष्र्या माने सर्पहरूले । (सर्पहरूको नाच, पृ. ७४)

सङ्ग्रहका केही कविता दलितलाई विषय बनाएर लेखिएका छन् । ती कविताले नेपाली समाजका सीमान्तकृत दलितले भोग्नुपरेको सामाजिक उत्पीडन र मुक्तिको आकाङ्क्षालाई प्रस्तुत गरेका छन् । वर्णव्यवस्थामा आधारित नेपाली समाजमा आज पनि दलितले सम्मानपूर्वक बाँच्न सक्ने अवस्था सिर्जना भएको छैन । समाजका कथित उपल्ला जातिको तिरस्कार र अपमान सहँदै दलितले पशुको भन्दा पनि न्यूनस्तरको जीवन बाँचिरहेका छन् ।

समाजमा तल्ला स्तरको भनिएका सबै काम दलितले गर्नुपर्छ तर तिनै दलित अपमानको अविच्छिन्न शृङ्खला सहँदै बाँचिरहेका छन् । दलितको श्रम र सीप चल्ने तर उसले छोएको पानी नचल्ने जस्तो अमानवीय र अन्यायपूर्ण व्यवहार उनीहरूले वर्षौंदेखि भोग्दै आएका छन् । राज्यबाट उपेक्षित तथा आफ्नै समाजबाट अपमानित र तिरस्कृत दलितले भोग्नुपरेको यस्तो नियतिलाई ‘साला चमार मर्यो’ र ‘वीरु दमाईको कोट’ कवितामा प्रस्तुत गरिएको छ ।

बाँचुञ्जेल उत्पीडन भोगेका दलितले मुक्तिका लागि मृत्यु नै कुर्नुपर्ने अवस्थाको चित्रण यी कवितामा भएको छ । तर, दलित विषयक ‘हजुरको बुट’ र ‘जसवीर कामीको खुकुरी’ कवितामा भने जातीय उत्पीडनको मात्र चित्रण नगरेर बाँचुञ्जेल जसको सेवा गर्यो उसैबाट अपमानित र तिरस्कृत हुनुपर्दाको आक्रोशसमेत व्यक्त भएको छः
माफ गर्नुहोला हजुर,
धेरै वर्षपछि आज मलाई
यो कालो पोलिस
हजुरकै अनुहारमा पोत्न मन लागेको छ । (हजुरको बुट, पृ. २०)

सङ्ग्रहभित्रका केही कविताले पहिचानको आवाजलाई बुलन्द गरेका छन् । नेपाली समाज बहुल पहिचानमा आधारित रहेको छ । अनेक जाति, भाषा र संस्कृतिरूपी फूलहरूको सुन्दर बगैँचा नेपाली समाजको पहिचान हो । तर, राज्य पक्षले अहिलेसम्म पनि यस सत्यलाई गम्भीर रूपमा आत्मसात् गर्न सकेको छैन । समाजको बहुल पहिचानलाई सम्बोधन गर्दै राज्यका सम्पूर्ण जाति र संस्कृतिको समान पहिचान स्थापित गर्ने दायित्व राज्यको हो ।

तर, गणतन्त्र स्थापनाको एक दशकभन्दा बढी समय बितिसक्दा पनि राज्य एकल र केन्द्रिकृत मानसिकताबाट मुक्त हुन सकेको छैन । राज्य संयन्त्रकै ज्यादतीका कारण दलित, जनजाति तथा मधेसीले आफ्नो पहिचान गुमाउनुपरेको कुरा ‘सिंहदरबारको पर्खाल’ र ‘बाते राईको काठमाण्डू यात्रा’ कविताका माध्यमबाट प्रस्तुत गरिएको छ ।

‘इतिहासको यात्रा’ कवितामा भने राज्य निर्माणमा महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि दलित भएकै कारण इतिहासबाट ओझेलमा पारिएका बिसे नगर्ची, बाङ्गे सार्की, मणिराम गाइने, जसवीर कामी जस्ता पात्रहरूलाई नायक बनाई शासकहरूको प्रशस्तिगानका रूपमा रहेको इतिहासको पुनर्लेखन गर्नुपर्ने विचार अभिव्यक्त भएको छः
त्यतिवेला तिमीले बुझ्नु कि
सुरु भएको छ अर्को नयाँ युग
र त्यही समयमा मेटिनेछ झुटको फेहरिस्त
लेखिनेछ
यो देशले बिर्सन चाहेको इतिहास । (इतिहासको यात्रा, पृ. ६५)

वर्तमान समयमा पुँजीवादी उपभोक्तावादी संस्कृतिले पारेको प्रभावलाई केही कविताले प्रस्तुत गरेका छन् । उपभोक्तावादी संस्कृतिले हरेक कुरालाई उपभोग्य वस्तुका रूपमा हेर्छ र त्यसको मूल्य र महत्वलाई हलुका बनाउने काम गर्छ । ‘¥याम्पकी युवती’ कवितामा उपभोक्तावादी संस्कृतिले नारी सौन्दर्यको अवमूल्यन गर्दै नारीलाई बजार आकर्षित गर्ने जिउँदो डमी बनाएको भाव प्रकट भएको छ ।

‘मोनालिसा अट्टहास गर’ कवितामा उत्तरआधुनिक उपभोक्तावादी बजारले कलाको मूल्य र महत्व बुझ्न नसकेको र केवल नग्नतालाई प्रश्रय दिएको विचार व्यक्त भएको छ । ‘कार्ल माक्र्सको कलम’ कवितामा उत्तरआधुनिक संस्कृतिले माक्र्सवादलाई समेत विकृत बनाएको प्रसङ्ग छ । ‘कात्रो फ्याक्ट्री’ कवितामा अमेरिकी साम्राज्यवादी नीतिको भण्डाफोर गरिएको छ । विश्वमा हातहतियार निर्यात गरेर हिंसा र आतंक फैलाउने अनि शान्तिको पूजारी पनि आफैँ बन्ने अमेरिकी नीतिका कारण विश्वशान्ति कायम हुन नसकेको भाव कवितामा व्यक्त भएको छः
हामीलाई बम र बारुद बेचिसकेपछि
अर्को पनि उत्पादन अनिवार्य हुनेछ
त्यसैले अब अमेरिकाले बनाउनेछ कात्रो । (कात्रो फ्याक्ट्री, पृ. ५३)

‘जुलिया प्रास्टाना’ कवितामा सौन्दर्य सार्वजनीन हुन नसक्ने, हरेक स्थान र जातिको अलग–अलग सौन्दर्य हुने भन्दै कसैले निर्धारण गरेको मापदण्डका आधारमा कसैलाई सुन्दर र कसैलाई कुरूप भन्ने संस्कृति नै गलत भएको विचार कवि प्रकट गर्दछन् । ‘भ्यु टावर’ कवितामा समृद्धिका नाममा प्रकृति र जनताको पेटमा छुरा हानेर भ्यु टावर निर्मांण गर्ने पुँजीवादी विकासको मोडेलप्रति व्यङ्ग्य गरिएको छ ।

सङ्ग्रहकै नाम रहेको ‘खुट्टामा श्रीपेच’ लगायत केही कविताले नेपाली राजनीतिका विकृत पक्षमाथि व्यङ्ग्य गरेका छन् । त्यस्ता कवितामा जनतालाई आफ्नो राजनीतिक भ¥याङ बनाउने, सत्तामा पुगेपछि आफ्नो कर्तव्य बिर्सने र बन्द कोठाभित्र षड्यन्त्रका अनेक तानाबाना बुन्ने राजनीतिज्ञहरूको वास्तविक अनुहार उदाङ्गो पारिएको छ ।

जनजीविकाको विषय सुन्नै नचाहने र कसैले विरोधमा आवाज उठाए उनीहरूमाथि बर्बर दमन गर्ने शासकीय चरित्रलाई यी कविताहरूमा प्रस्तुत गरिएको छ । ‘लासमाथि झन्डा’, ‘कविको नाक’, ‘देश र मासु पसले’, ‘बन्द कोठाभित्र’, ‘एसिड व्यापारी’ आदि राजनीतिक चेत बोकेका मुख्य कविता हुन् ।

‘छोरा नक्सा बनाइरहेछ’ कवितामा पटक–पटक चोइटिएर सीमा नै सा“घुरिएको देशको वर्तमान नियतिलाई प्रस्तुत गरिएको छ भने ‘वालेट’ तथा ‘फूलमानको विद्रोह’ कवितामा रातदिन पसिना बगाएर पनि गुजारा गर्न धौधौ पर्ने निम्नवर्गीय मजदुरहरूको दयनीय अवस्थालाई प्रस्तुत गर्दै उनीहरूमा पलाएको विद्रोही चेतलाई अभिव्यक्त गरिएको छ । ‘घाटको मान्छे’, ‘मुसो जिन्दगी’, ‘तमोरको रङ’, ‘तोक्मा’ आदि कवितामा जीवनका फरक भोगाइ र अनुभूतिलाई प्रस्तुत गरिएको छ ।

ग्रामीण परिवेशका प्राकृतिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक बिम्बहरूका साथसाथै राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशका बिम्बहरूको सुन्दर प्रयोगले कविता सुन्दर र ओजमय बन्न पुगेका छन् । कतिपय कवितामा सरल अभिव्यक्तिमै सुन्दर भावको प्रस्तुति भएको छ भने कतिपय कवितामा विषयको गहनतालाई प्रस्तुत गर्न प्रतीकात्मक शैलीको सहारा लिइएको छ ।

प्रायः कविता तीन हरफे अनुच्छेदब्ँँट सुरु गरिएका छन् । पहिलो अनुच्छेदका तीन हरफमै कविताको मूल विषयलाई गहन रूपमा उठाउन कवि सफल भएका छन् । यस दृष्टिले हेर्दा कविले केही नौलो प्रयोग गर्न खोजेको देखिन्छ । ‘भ्यु टावर’ कवितामा एकै विषयमा फरक–फरक कविताहरूको अन्तरसंयोजन गरेर कविले नवीन प्रयोगको प्रयास गरेको देखिन्छ ।

निष्कर्षमा, यी कविता कविले भोगेको परिवेशका उपज हुन् । त्यहाँ नेपाली समाजको प्रतिबिम्ब देखिन्छ । जनजीवनका विविध पक्षलाई प्रस्तुत गर्ने सन्दर्भमा कवि कतै शालीन रूपमा प्रस्तुत हुन्छन् भने कतै आक्रोश देखाउँछन् अनि कतै विद्रोह ओकल्छन् । स्वतन्त्रताको खोजी गरिएका यी कवितामा प्रतिरोधी आवाज मूल स्वर बन्न पुगेको छ । सङ्ग्रहमा ‘तोक्मा’, ‘छाता ओढेको मान्छे’ जस्ता केही कविता पनि छन्, जसले सङ्ग्रहको मूल मर्मलाई आत्मसात् गर्न सकेका छैनन् ।

प्रतिक्रिया