लकडाउनकै बीचमा काठमाडौँको सडक मर्मतको काम सकियो

काठमाडौं । कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौं जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको सुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले नियमितरुपमा काम गर्दा लक्ष्यनुसार मर्मत सम्पन्न भएको हो ।

चालू आवमा ४१ किलोमिटर सडक मर्मत (ओभर ले) को लक्ष्य लिइएकोमा अहिलेसम्म ४० किमीभन्दा बढीमा ‘ओभर ले’ सकिएको छ । अहिले झण्डै ३०० मिटर सडकमा ‘ओभर ले’ बाँकी रहेकाले अबको केही दिनमा सकिने कार्यालयले जनाएको छ । यस वर्ष डिभिजनले सडक मर्मतलाई नै बढी जोड दिएको डिभिजनका प्रमुख कुबेर नेपालीले बताए । नयाँ सडक र पुलको काम उल्लेखनीयरुपमा हुन नसके पनि यस वर्ष सडक मर्मतको काम लक्ष्यनुसार भएको हो । उनले भने, ‘मुख्य र सहायक सडकमा गर्नैपर्ने मर्मतको काम अब धेरै बाँकी छैन ।’

विगतका वर्षहरुमा काठमाडौं उपत्यकामा रहेका खाल्टाखुल्टीकै कारण सडक विभागको आलोचना हुने गरेको थियो । शहरी क्षेत्रमा समेत धेरै सडक हिउँदमा धुलो र वर्षाका समयमा धुलो हुँदा स्थानीयवासी हैरान थिए । वर्षा पहिले गौशाला–चावहिलबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ । यसबीचमा विभिन्न स्थानमा पटके मर्मतको कामसमेत भइरहेको छ । उनले भने, ‘नयाँ निर्माणभन्दा पहिले बनेका सडक मर्मत बढी भएको छ ।’

बन्दाबन्दीका समयमा विभिन्न निकायले आफ्ना काम ठप्प गरेका थिए । सडक विभागअन्तर्गतकै कतिपय सडक आयोजनाले बन्दाबन्दीको केही सातासम्म निर्माणको काम अघि बढाएको थिएन । डिभिजनले भने बन्दाबन्दीको सुरुवाती दिनदेखि नै काम गरिरहेको छ । सुरुका दिनमा थोरै जनशक्तिबाट सडक रङरोगनको काम शुरु भएको थियो । बन्दाबन्दीको केही सातादेखि नै आवश्यक स्वास्थ्य सावधानी अपनाएर सडक निर्माण र मर्मतको काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले सामाजिक दूरी र आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर बन्दाबन्दीमा समेत निर्माणको काम गरिरहेको उनले जानकारी दिए ।

बन्दाबन्दीको अवधिमा मात्रै १५ किमीभन्दा बढी सडक ‘ओभर ले’ भएको छ । चालू आवभित्र कालोपत्र भएका सडकमा रङरोगनको काम झण्डै तीन किमीमात्रै बाँकी रहेको उनले बताए । ‘ओभर ले’ र नयाँ सडकमा कालोपत्र भएका ठाउँमा सडक चिह्न लगाउने काम पनि अघि बढिरहेको छ । उनले भने, ‘ओभर ले भएका अरु सडकमा केही दिनभित्रै रोड मार्किङ सकिनेछ ।’

चालू आवमा नयाँ सडक निर्माण र पुल निर्माणको काम भने लक्ष्यनुसार हुन नसकेको विभागले जनाएको छ । ३० किमी सडक निर्माणको लक्ष्य राखिएकामा १२ किमीमात्रै सकिएको प्रमुख नेपालीले बताए । सडक मर्मत (ओभर ले) का लागिभन्दा नयाँ सडक निर्माणका लागि जनशक्ति र सामग्री दुवै बढी चाहिने र धेरै समय लाग्ने भएकाले गर्न नसकिएको उनको भनाइ छ । ‘ओभर ले’ मा कालोपत्र सडकमा माथिबाट कालोपत्र थप्न सजिलो भए पनि नयाँ बनाउँदा आवश्यक पूर्वाधार निर्माणदेखि धेरै किसिमका काम गर्नुपर्ने हुन्छ । डिभिजनले अहिले सितापाइला क्षेत्रमा सडक कालोपत्र गरिरहेको छ । पहिले एक लेनको सडकलाई दुई लेनको चौडा गरेर कालोपत्र भइरहेको हो । बिहीबारसम्म दुई किमी सकिएकामा शुक्रबार थप डेढ किमी सडकमा कालोपत्र हुने उनले जानकारी दिए ।

डिभिजनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग संयुक्त ठेक्कामा गौशाला–चावहिल र पुलतीसडक सडकमा निर्माणको काम गरिरहेको छ । यो सडकमा संयुक्त ठेक्कामा पाइप हाल्ने र सडक निर्माण भइरहेको छ । पुतलीसडकमा ह्युमपाइप बिच्छाएर सडक निर्माण भइसकेको छ । गौशाला–चावहिलमा भने पाइप बिच्छाउने काम मात्रै सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छाउन लागेकाले सडक कालोपत्र गर्न नसकिएको हो । उनले भने, ‘गौशालादेखि मित्रपार्कसम्मको सडक चालू आवभित्र सम्पन्न भए पनि मित्रपार्कदेखि चुच्चेपाटी गर्न सकिने देखिएको छैन ।’

नयाँ सडक निर्माणमात्रै होइन पुल निर्माणको कामले पनि गति लिन सकिरहेको छैन । डिभिजनले चालू आवमा पाँच सडक पुल निर्माणाधीन रहेकामा ती सबैको निर्माण रोकिएको उनले बताए । उनले भने, ‘चालू आवमा सम्पन्न हुने सम्भावना कम छ ।’

डिभिजनले जनशक्ति र निर्माण सामग्री सहजरुपमा उपलब्ध नभए पनि निर्माणलाई निरन्तरता दिएको हो । वर्षाका कारणले पनि चालू आवका बाँकी दिनमा काम गर्न सहज नभएको उनले बताए । बन्दाबन्दीको समयमा सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्ति टाढाका जिल्लाबाट ल्याउन नसकिने त छँदैछ आवश्यक सामग्री पनि सहजरुपमा उपलब्ध छैन । अहिले पनि क्रसर उद्योग रातमा मात्रै खुल्ने गरेका छन् । उनले भने, ‘लकडाउनले गर्दा भनेको जस्तो सामान नपाउने र पाए पनि गुणस्तरीय नपाउने समस्या छ ।’

प्रतिक्रिया