क्वारेन्टाइनमा राख्नै सकस

खलङ्गा । भारतबाट दिन प्रतिदिन सयौँको संख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टाइनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ । जिल्लामा भएका एकीकृत क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन् ।

ती क्वारेन्टाइनमा अहिले ६३० जनालाई राखिएको छ । थप क्वारेन्टाइन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

यसअघि निर्माण व्यवसायी संघको भवनमा बनाउने भनिएको क्वारेन्टाइन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन । अदालतले हाललाई क्क्वारेन्टाइन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

‘क्वारेन्टाइन बनाउने जिम्मेवारी पालिकाको हो । हामीले सुरक्षा दिने हो । हामीले दिएकै छौँ’, उनले भने, ‘क्वारेन्टाइन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन, प्रशासनले मात्रै केही गर्न सक्दैन ।’ स्थानीयवासीले बस्तीछेऊ क्वारेन्टाइन बनाउन अवरोध गर्ने गरेका छन् ।

प्रतिक्रिया