रेलमार्ग निर्माणको लागि ८ अर्ब ६६ करोड विनियोजन

काठमाडौं । रेलमार्ग निर्माणको लागि ८ अर्ब ६६ करोड विनियोजन गरिएको छ । बिहीबार आर्थिक वर्ष ०७७–०७८ को बजेट प्रस्तुत गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले पूर्व–पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको छ । बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुँदैछ ।

विभागले डीपीआर सकिएका सबै खण्डका लागि जग्गा अधिग्रहण गरेर निर्माणको काम थाल्न सरकारलाई गत वर्षदेखि नै प्रस्ताव गर्दै आएको छ । हाल विभागले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण गरिरहेको छ । यो करिब ७० किलोमिटरको खण्ड हो ।

उक्त विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्नेछ । काँकडभिट्टा–इनरुवा–विराटनगर खण्ड करिब १०६ किलोमिटर लामो छ । पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ। नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार गरेको बताइएको छ ।

निजगढबाट हेटौँडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । एक वर्षभित्र यो खण्डको पनि डीपीआर तयार हुने विभागले दाबी गरेको छ । यसका साथै, सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार तीन सय ७६ किलोमिटर हुने अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया