उपचारको क्रममै महिलाको शंकास्पद मृत्यु

सिरहा । लहान नगरपालिकामा रहेको सप्तऋषि अस्पतालमा उपचारको क्रममा एक महिलाको सोमबार शंकास्पद मृत्यु भएको छ । उनको कोरोना संक्रमणका कारण निधन मृत्यु आशंका गरिएको छ । मृकतक महिला र उनको श्रीमानसहित परिवारका आठ जना सदस्यहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

सुखिपुर नगरपालिका– ४ स्थित पोखरियाकी ३७ वर्षीया ती महिलालाई तल्लो पेट दुखेको भन्दै गत जेठ १० गते लहानस्थित सप्तऋषि अस्पताल ल्याइएको थियो । स्वास्थ्यकर्मीले ती महिलाको पिसाबको परीक्षण गरेपछि पिसाबमा इन्फेक्सन भएको भन्दै औषधि चलाएका थिए । औषधि खाएको केही बेरमै ती महिलाको तल्लो पेट दुख्ने समस्या निको भएकाृ थियो ।

तल्लो पेट दुख्ने समस्याको समाधान भए पनि चिकित्सकहरुले महिलाको पेटको भिडियो एक्स–रे गर्ने निधो गरे । तर, शनिबार भएकाले उक्त दिन भिडियो एक्स–रे गर्ने प्राविधिक आएन, त्यसैले ती महिलालाई त्यही दिन अस्पतालमै राखियो । सोही दिन राति करीब ९ः०० बजेतिर स्वासप्रश्वासमा समस्या भयो । स्वास्थ्यकर्मीले अक्सिजन लगाएर औषधि दिएपछि केही मात्रामा उनी राति नै हिँडडुल गर्न सक्ने भएकी थिइन् ।

भोलिपल्ट आइतबार बिहान ११ बजेको समयमा ती महिलालाई पुनः सास फेर्न गाह्रो भएको थियो । त्यसपछि अस्पतालले उनको छातीको एक्स–रे गरेको थियो । एक्स–रे गर्दा ती महिलामा निमोनिया देखिएपछि उनलाई निमोनियाको औषधी दिइयो । औषधि दिएपछि उनलाई विस्तारै ठीक हुँदै गए पनि पूर्ण रुपमा निको नभएको पाइएपछि अस्पतालमै राखियो । यसैक्रममा आइतबार राति ९ः०० बजेबाट महिलाको दम फुलेर स्वासप्रश्वासमा निकै कठिनाई भयो र रात १०ः५० बजे उनको मृत्यु भएको हो ।

‘तल्लो पेट दुखेर अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र बचाउने प्रयास गर्दा गर्दै स्वासप्रश्वासमा निकै समस्या भएपछि उहाँको निधन भयो, त्यसपछि हामी पनि ससंकित भयौँ,’ उपचारमा संलग्न चिकित्सक डा. सञ्जीव साहले भने, ‘महिलाको निमोनिया र स्वासप्रश्वासकै कारण निधन भएपछि एकपटक कोरोना परीक्षण गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ र स्वास्थ्य कार्यालयलाई खबर गर्यौँ ।’

घटनाको जानकारी पाएपछि स्वास्थ्य कार्यालयले सोमबार विहानै ती महिलाको आरडीटी परीक्षण गरेको थियो । तर, आरडीटी नेगेटिभ आएकाले महिलालाई आफन्तको जिम्मा लगाई घर पठाइएको थियो । जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले भने, ‘मृतक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हामीले पुनः उहाँको घरमै पुगेर महिलाको घाँटीको स्वाब र उहाँको श्रीमानसहित परिवारका आठ जन सदस्यहरुको स्वाब लिएर धरान पठाएका छौँ ।’

उनका अनुसार मृतक महिलाका पति लकडाउन सुरु हुनुभन्दा केही दिन अगाडि भारतको बैंगलोरबाट आएको प्रारम्भिक छानवीनबाट खुल्न आएको छ । ‘महिलाको मृत्यु शंकास्पद नै देखिएकोले हामीले परिवारबाहेक कसैलाई पनि उहाँको शव छुनसम्म दिएका छैनौँ,’ सुखिपुर नगरपालिकाका नगर प्रमुख रामअवतार यादवले भने, ‘अहिले परिवारले नै महिलाको सद्गद् गरेपछि परिवारका सम्पूर्ण सदस्यलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।’

मृतक महिलाको स्वाबको परीक्षण प्रतिवेदन नआएसम्म लहानस्थित सप्तऋषि अस्पताललाई कुनै पनि विरामीको उपचार नगर्न र त्यहाँ रहेका स्वास्थ्यकर्मी तथा विरामीलाई अस्पतालभित्रै राख्ने निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रतिक्रिया