सलुट छ मनिषा दिदी

                        संगीता सुवेदी, कपिलवस्तु

नेपालीहरूमा आशाको दियो बल्दै गर्दा भारतमा खैलाबैला मच्चिएको छ । नेपालीको स्वाभिमान चुलिँदा उसको गाला फुलिएको छ । भारतीय सञ्चारमाध्यमहरु कुर्लिइरहेका छन् । त्यसमाथि अभिनेत्री मनिषा कोइरालाले पनि निर्णयको सर्मथन गरेपछि त भारतलाई झड्का नै लागेको छ । गत सोमबार नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नक्सा जारी गर्ने निर्णय गर्यो । बुधबार सरकारले उक्त नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

हुनत यो एक सुरुवात मात्र हो । तर, हजार माइलको यात्रा एक कदमबाट नै सुरु हुन्छ । त्यसैले प्रत्येक नागरिक आशावादी बनेका छन् । सरकारले गरेको साहसी र ऐतिहासिक कदमको समर्थन गरिन् मनिषाले । उनले ट्विटरमार्फत सो समर्थन अभिव्यक्त गरेकी हुन् । नेपालीहरूले उनको राष्ट्र प्रेमको उच्च कदर गरेका छन् । भारतका सञ्चार माध्यमले भने विष वमन गर्दै छन् । निकै निम्न स्तरको टिप्पणी गरेर उनीहरूले आफ्नो वेवकुफीपन भल्काउदै छन् ।

मिडियका साथै सामाजिक सञ्जालमासमेत भारतीयले विरोध जनाएका छन् । उनलाई नमक हरामको संज्ञा दिएका छन् । ‘खाते भारतका और गाना गाते चीनका, ‘भारतने रोजीरोटी दिया’ यस्तै प्रकारका निकै नै तुच्छ स्तरको गालीगलौच गरेका छन् भारतीय मिडियाले । यसले भारतीयहरुको दरिद्र मानसिकता र हेपाहा प्रवृत्तिलाई थप पुष्टि गरेको छ । मनिषाले सन् १९९१ मा फिल्म सौदागरमाफर्त भारतीय सिने क्षेत्रमा प्रवेश गरेकी थिइन् । धेरै सुपरहिट सिनेमा दिएर छोटो समयमै अब्बल कलाकारमा गनिन पुगिन् उनी ।

 

उनले चारपटक फिल्मफेयर अवार्डसमेत हासिल गरेकी छन् । विदेशी भूमिमा , त्यो पनि गैरफिल्मी पारिवारिक पृष्ठभूमिबाट त्यो उचाईसम्म पुग्नु सामान्य कुरा होइन । भारतीय सिनमाले मनिषा कोइरालालाई पर्याप्त चर्चा दिलायो । जसको उनी लायक थिइन् । भारतीय सिनेमामा करियर बनाउन नेपालका अन्य कलाकारले पनि खोजेकै हुन् । कसैले पनि उल्लेखनीय स्थान बनाउन सकेनन् । उल्टै आलोचित मात्र भए । श्रीलंका र पाकिस्तान मात्र नभई युरोप र अमेरिकाबाट पनि बलिउडमा जम्न खोज्नेको लर्को छ । तर, ती कसैले त्यो उचाई नाप्न सकेका छैनन्, जुन मनिषाले नापिन् ।

उनको स्टारडम उनकै प्रतिभाको उपज हो । कुनै निर्मार्ता वा निर्देशकले लगाइदिएको टीका होइन । न त भारतीय दर्शकले दिएको तथास्तु नै । कलाको कुनै परिधि हुँदैन । कति फैलने भन्ने कुरा कलाकारको क्षमताले निर्धारण गर्ने कुरा हो । आँट र क्षमता दुवै भएकोले मनिषाको कलाकारिताको पंख भारतभरी फैलिएको हो । मनिषाको ख्याती स्वआर्जित सम्पत्ति हो । कसैले दिएको ऋण होइन । जुन समय पुगेपछि व्याजसहित फिर्ता गर्नु परोस् ।

उनले आफ्नो कला र सृजनशीलता प्रस्तुत गरेकी हुन् । स्वाभिमानलाई बन्धक राखेकी होइनन् ।ग्लोबलाइजेशनको यो युगमा मानिसको जन्मथलो र कर्मथलो फरक हुन सक्छ । अवसरलाई पछ्याउँदै मानिस विश्वको जुनसुकै कुनामा पनि पुग्न सक्छ । त्यसको अर्थ उसमा देशप्रेम छैन भन्ने होइन । देश दुख्दा सबैलाई दुख्छ । कर्मथलो जहाँ भए पनि माटोले मागेको बेला जो कोही बोल्छन् ।

बोल्न पाउनु पर्छ पनि । क्यान्सरसँग लडेर जिवनलाई नयाँ परिभाषा दिन सफल मनिषा अहिले राष्ट्रप्रेमको सवाललाई पनि नयाँ आयाम दिन तत्पर भइन् । देशलाई माया गर्दा मिचाहाहरु चिच्याउँछन् भने उनीहरुकै गला सुकोस् । तिम्रो राष्ट्रप्रेम सधैँ ओसिलो रहोस् । तिम्रो राष्ट्रप्रतिको ठूलो मन कहिल्यै साँघुरो बन्न नपाओस् । तिमीले दर्शाएको मायाको सबै नेपालीले उच्चकदर गरेका छन् । सबै नेपालीको साथ छ तिमीलाई, सलुट छ मनिषा दिदी ।

प्रतिक्रिया