तीस हजार भुइँकटहर बोटमै कुहिने अवस्थामा

भद्रपुर । कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन्, । तर, बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । ‘बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?’, फार्मका सञ्चालक मनोज सिंहले भने ।

स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुवै दृष्टिले राम्रो मानिन्छ । तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आएका छन् । फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौंको कालीमाटी तरकारी बजारमा लगेर बिक्री गरिँदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्रसमेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताए ।

हाल उनको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । बाँकी ५० हजार बोटमा जेठमा पाक्ने गरी चिचिला हुर्किरहेका छन् । चैत वैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।

सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट रु १८ लाख र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच लाख कर्जा लिएको बताए । ‘उत्पादन बजारमा बिक्री गर्ने सिजनमा लकडाउनले चौपट गर्यो, यसपाली भुइँकटहर खेतीमा रु २२ लाख जति घाटा होला जस्तो छ’, उनले भने । यस वर्षको चैत वैशाखमा भुइँकटहर प्रतिगोटा स्थानीय बजारमा रु ५० देखि रु ६० सम्म र काठमाडौंमा रु ७० सम्ममा बिक्री हुने उनको अपेक्षा थियो । तर, अहिले फार्ममा आउने जोकोहीलाई उनले ठूलो घाटा सहेर प्रति गोटा रु २५ मै बिक्री गरिरहेको जानकारी दिए । फार्ममै आएर फाट्टफुट्ट किन्ने थोरै रहेका छन् ।

लकडाउनले पुर्याएको क्षतिबारेमा गुनासो सुनाउने र मर्म बुझिदिने कुनै निकाय नपाएको उहाँको गुनासो छ । ‘भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई समस्या सुनाएको थिएँ’, फार्म सञ्चालक सिंहले भने, ‘उहाँले काठमाडौं लैजाने भए गाडीको पास बनाइदिन्छु भन्नुभएको छ ।’ कोरोना भाइरस संक्रमणको रोकथामका लागि हाल झापामा दर्जनौँ स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन् ।

राहत सामग्रीको रूपमा चामल र दाल वितरण कार्य भइरहेको छ । फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरूका लागि र राहत बाँड्नका लागि भुइँकटहर किनिदिने व्यवस्था हुने हो भने आफूले ठूलो राहत पाउने अपेक्षा राखेका छन् । भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको हुँदा यसको सेवन स्वास्थ्यवर्धक हुने उनको भनाई छ ।

प्रतिक्रिया